हामी सबै ईश्वर हौं

0
  • सञ्जय मित्र

अहम्, घमण्ड, द्वेष तथा मनका कलुषित भावलाई एकै छिन अलिक पर जान दिऊँ । आफूलाई शान्तचित्त हुन दिऊँ । बिहान जसरी निर्मल हुन्छ, शान्त पोखरी जसरी हलचलरहित हुन्छ, आकाश जसरी कोलाहलरहित हुन्छ र समुद्र जसरी विशाल हुन्छ तथा पवन जसरी पवित्र हुन्छ, यिनै भावहरूलाई मन र मस्तिष्कभित्र समाहित हुन दिएर आफूलाई अत्यन्त हार्दिक बनाइ विचार गरूँ । आफ्नो परिचय के होला ?

यसको उत्तर धेरै खोजिरहन किन उचित छैन भने सबैले आफूले आफूलाई चिनेका छौं र सबैले आफूले आफूलाई अरूभन्दा केही बढी चिनेका छौं । यद्यपि आफूलाई आफूभन्दा बढी माता, पिता र गुरुले चिन्दछन् भन्ने मान्यता रहेको छ तर पनि हामी भन्दछौं सबैभन्दा बढी म आफूलाई चिन्दछु । यस भनाइमा असहमति नजनाऊँ ।

आफूलाई आफैंले अझ अन्तर्मनले वा हृदयको गहिराइले हेर्दा वा विचार गर्दा कुनै कुनाबाट आफ्नो दृष्टिकोणमा आफू ईश्वर भएको अनुभूति हुन्छ ? यहाँ आलेखको शीर्षकमा त हामी सबै ईश्वर हौं भनेर उल्लेख गरियो तर म ईश्वर हुँ वा म ईश्वर होइन भन्ने दुई किसिमको सोचाइभन्दा कतै टाढा पु¥याएर आफूलाई राख्न खोजेको त होइन ?

हामी सबै ईश्वर हौं भन्ने वाक्यले कतै धेरै अन्धविश्वासी बनाउने हो कि ? यस किसिमको सोचाइ नराख्दा राम्रो किनभने ईश्वर कतै छँदैछैन भन्नेले पनि आफूलाई मान्दछन् । आफूलाई नमान्ने पनि कोही हुन्छ त ? आफूले आफ्नो अस्तित्वलाई नस्वीकार्ने सम्भवतः कोही पनि नहोलान् । यसै अर्थमा पनि म ईश्वर हुँ र यसको बहुवचन अर्थ हामी ईश्वर हौं भनिएको हो ।

उसो भए आफ्नो अस्तित्व स्वीकार गर्दैमा कोही ईश्वर भइहाल्छ भन्ने होइन भनेर विचार गर्नुहुन्छ भने यो पनि ठिक छ । विपरीत विचार यस अर्थमा होइन कि आफूलाई कुन रूपमा स्वीकार गरेको त्यही अर्थमा ऊ ईश्वर पनि हो । हो, कुनै विशेष परिवेशमा कोही अपराधीजस्तो देखिन सक्ने साधु पनि हुन सक्छन् र साधुजस्तो देखिने अपराधी पनि हुन सक्छन् । कसैले आफूलाई चिन्न नसक्ने पनि हुन्छन् र कसैलाई अरूले नै बढी चिन्ने पनि हुन्छन् ।

अलिकति व्यावहारिक भएर विचार गर्ने हो भने आफूलाई अस्तित्वमा रहेको स्वीकार गर्नेले आफूलाई कुन अस्तित्व वा के अस्तित्वको रूपमा स्वीकार गरेको भन्ने कुरा प्रधान हुन्छ । कम्तीमा कसैले आफूलाई मानिस त स्वीकार गर्लान् । यदि आफूलाई मानिस स्वीकार गर्दछन् भने उनका माता र पिता दुवै मानिस हुन् वा थिए भन्ने कुरा स्वीकार गर्नलाई गा¥हो हुनु नपर्ने हो । यस अर्थमा मानिसका सन्तान मानिस हुने हो । उनका सन्तान पनि मानिस नै हुन्छन् ।

जसरी हामी सजिलै भन्दछौं, वनस्पतिका सन्तान वनस्पति नै हुन्छन् । जनावरका सन्तान जनावर नै हुन्छन् । कुनै कीराका सन्तान कीरा नै हुन्छन् । त्यसैगरी, मानिसका सन्तान मानिस नै हुन्छन् । अझ हाम्रो सामाजिक व्यवहारमा त पहाडीका छोराछोरी पहाडी, मधेसीका छोराछोरी मधेसी, हिन्दूका छोराछोरी हिन्दू, नेपालीका छोराछोरी नेपाली नै कहलाउँछन् । अझ जातजातिलाई मान्ने हाम्रो समाज छ ।

फलानो जातको छोरा भएकोले नै फलानो जात भएको हो भन्ने मान्यतालाई अहिलेसम्म हाम्रो समाजले मानिआएको हो । कतिपयले बाहिरी बोलीमा जातिप्रथालाई नमान्ने तर भित्रभित्रै कट्टर जातिवादी भएको पनि देखिएको छ । जातिवादलाई बढावा दिइनुहुन्न भनेर भाषण गर्नेले पनि म ठूलो जातको हुँ भन्ने अभिमान राखेका हुन्छन् भने म जातलाई मान्दिनँ भन्नेले पनि आरक्षण वा फाइदाको अन्य सवालमा आफूलाई जातको पक्षधरको रूपमा उभ्याएको हुन सक्छन् ।

धर्म नमान्नेले अरूलाई अन्धविश्वासी भन्लान् तर आफूलाई वा अरूलाई अधर्मी भन्दैनन्, मान्दैनन् । धर्मप्रति विश्वास नगर्नेले आफूलाई आस्तिक मान्दैनन् तर सबैलाई नास्तिक नै देख्दैनन् । धर्मलाई आस्था मान्ने र धर्मलाई कर्तव्य मान्ने पनि छन् । यदि कोही धर्मलाई मान्दछन् भने धर्मशास्त्रहरूका कुरालाई पनि थोरबहुत मान्दछन् ।

धर्मका उपदेश वा धर्मका विचारलाई मान्दछन् । कतिपयले त त्यसैमा वैज्ञानिकता पनि देख्दछन् र आधुनिकतासित जोडेर अर्थ लगाउने प्रयास पनि गर्दछन् । अझ यसरी पनि भन्दछन् कि यी विषय वा पक्षको खोजी वा पुष्टि अझै विज्ञानले गर्न सकेको छैन । आगामी दिनमा यसलाई पुष्टि वा प्रमाणित गर्ला । धर्म वा धार्मिक आस्थाप्रति आस्था राख्नेहरूले धर्मको मामिलामा केही विश्वस्त पनि हुन्छन् । यहाँ हामी सबै ईश्वर हFैं भन्ने कुरालाई यही धार्मिक आस्था वा धर्मशास्त्रको भनाइको अर्थमा पुष्टि गर्न खोजिएको छ ।

विश्वका कैयौं धर्मले पुनर्जन्ममा विश्वास गर्दछन् । हिन्दू धर्मले पनि पुनर्जन्म र पूर्वजन्ममा विश्वास गर्दछ । यो नितान्त फरक पाटो हो आस्थाको । यद्यपि आस्था त आस्था नै हुन्छ । हिन्दू धर्मशास्त्रले भन्ने गरेको छ, हरेक जीवजन्तुमा ईश्वरको बास हुन्छ । अझ सजीव तथा निर्जीव हरेक वस्तु र हरेक कणमा ईश्वरको बास हुन्छ ।

यसभन्दा अझ दर्विलो भनाइ यो पनि रहेको छ कि हामी सबै ईश्वरका सन्तान हौं ।
हरेक जीवमा ईश्वरको बास हुन्छ । हरेक जीव ईश्वरकै अंश हुन् । हरेक जीव ईश्वरका सन्तान हुन् । हामी सबै ईश्वरकै सन्तान हौं भन्ने जस्ता भनाइले दिने भाव यही हो कि हामी पनि ईश्वर हौं । हामीमा पनि ईश्वरको अंश छ । हामीमा ईश्वरको अंश छ वा हामी ईश्वरका सन्तान हौं । यी दुवै नाता वा कारणले हामी ईश्वर हौं । यो त सोझो अर्थमैं हामी ईश्वर हौं भन्ने कुरो देखिन आउँछ ।
जुन जातको छोराछोरी वा सन्तान हुन्छ, सो सन्तान सोही जातको स्वतः हुन्छ । अनि ईश्वरको सन्तान वा छोराछोरी ईश्वर नै हुँदैनन् त ?

उसो भए हामी सबैमा ईश्वरीय शक्ति वा गुण छ त ? ईश्वरीय शक्ति वा गुण नभएको मानिस कसरी ईश्वर हुन सक्दछ ?
हो, यही प्रश्न आफूले आफैंलाई सोध्ने हो भने धेरै प्रश्नको उत्तर थाहा पाउन सकिन्छ । हामी ईश्वरका सन्तान हौं, यसैले ईश्वर हौं तर हामीमा ईश्वरीय गुण के छ ? यदि आफूमा कुनै ईश्वरीय गुण भेटिन्न भने आफैंले आफूलाई प्रश्न गरौं कि किन आफूमा कुनै ईश्वरीय गुण छैन ?

यदि हामीले देवता मानेका वा पूजा गरिआएकामध्ये धेरै लोकदेवीको गाथा सुन्ने हो भने तिनीहरूले मानव कल्याणका लागि धेरै राम्रा वा असल काम गरेका छन् । कुनै युगमा आफ्नो स्वार्थभन्दा माथि उठेर, घरायसी र पारिवारिक स्वार्थभन्दा माथि उठेर तिनीहरूले समाजको लागि, मानवको लागि तथा सबैको लागि केही यस्ता काम गरेका छन्, जसको गाथा कुनै समुदाय वा भूगोलमा प्रचलनमा रहेका छन् । आफूलाई देवताको रूपमा स्थापित नगरेका भएपनि तिनलाई देवता मानेर पूजा गर्नेहरू छन् ।

तिनीबाट असल गुणको अनुकरण अहिले पनि गर्नुपर्दछ भन्ने मान्यता राख्नेहरू रहेका छन् । यहींनेर अलिकति राम्ररी विचार गर्दा थाहा हुन्छ कि के ती देवताका पिता वा माता वा दुवै पहिलेदेखि नै देवता थिए ? के तिनका अझ माथिका पुस्ताको बारेमा हामीलाई थाहा छ ? वा अझ तलका पुस्ताको बारेमा हामीले बुझ्ने चासो राख्ने गरेका छौं वा समाजले बुझेको छ ? सम्भवतः यो स्पष्ट हुन आउँछ कि जसले आफूलाई चिन्न सके वा आफूलाई अरूको सेवामा अर्पित गर्न सके, तिनै अमरगाथाका पात्र बने । तिनीहरू पनि ईश्वरका सन्तान थिए, ईश्वर बने । हामी पनि ईश्वरका सन्तान हौं, ईश्वर हौं । बस्, हामीलाई अमरत्वको पथमा यात्रारत हुनु छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here