महाभारतबाट सङ्कलन तथा अनुवाद
- उमाशङ्कर द्विवेदी
वीर घटोत्कचको प्रहारबाट अलम्बुषका जम्मै अङ्ग भाँचियो तथा उसको हाड चूर्ण भयो । यस प्रकार महाबली अलम्बुषलाई मरेको देखेर पाण्डवहरू हर्षातिरेकले सिंहनाद गर्न थाले तथा तपाईंको सेनामा हाहाकार मच्चियो ।
धृतराष्ट्रले भने–सञ्जय, अब मलाई तिमीले यो वत्तान्त ठीक–ठीक सुनाऊ । सङ्ग्राममा द्रोणाचार्यजीलाई सात्यकिले कसरी रोकेका थिए ?
सञ्जयले भने–राजन्, आचार्यले महापराक्रमी सात्यकि हाम्रो सेनाको संहार गरिरहेको हेरेर सात्यकिको सामु आई डटे । उनलाइ अकस्मात् आफूसामु आएको हेरेर सात्यकिले उनीमाथि पचासवटा वाण हाने । अनि आचार्यले बडो फूर्तिको साथ पाँचवटा वाण हाने । ती वाणहरू सात्यकिको कवच फोरेर पृथ्वीमाथि खस्न पुग्यो ।
यसबाट कुपित भएर सात्यकिले द्रोणमाथि पचासवटा वाण हानेर उनलाई घाइते पारिदिए । आचार्यले पनि अनेकौं वाण हानेर सात्यकिलाई व्यथित पारे । यति बेला सात्यकि आचार्यको वाण प्रहारबाट व्याकुल भई आफ्नो कर्तव्य पनि बिर्सन पुगे । उनको अनुहार विदिर्ण हुन पुग्यो । यो हेरेर तपाईंका पुत्र तथा सैनिकहरू प्रसन्न भएर बारम्बार सिंहनाद गर्न थाले ।
उनीहरूको भीषण नाद सुनी तथा सात्यकिलाई सङ्कटमा परेको देखेर राजा युधिष्ठिरले धृष्टद्युम्नसित भने––दु्रपदपुत्र, तिमी भीमसेन आदि वीरहरूलाई साथमा लिएर सात्यकिको रथतिर जाऊ । तिम्रो पछाडि म पनि सबै सैनिक लिएर आउँदैछु । यति बेला सात्यकिको उपेक्षा गर्नुहुन्न, ऊ कालको गाल परिसकेको छ ।
यति भनेर राजा युधिष्ठिर सात्यकिको रक्षा गर्न सम्पूर्ण सेना लिई द्रोणाचार्यमाथि जाइ लागे तर आचार्य आफ्नो वाणवर्षाबाट ती सबै महारथिहरूलाई पीडित पार्न थाले । त्यति बेला पाण्डव र सृञ्जय वीरहरूलाई कोही पनि आफ्ना रक्षक भेटिरहेको थिएन । द्रोणाचार्यले पाञ्चाल र पाण्डव सेनाका प्रधान–प्रधान वीरहरूको संहार गर्दै थिए ।
उनले सयौं, हजारौं पाञ्चाल, सृञ्जय, मत्स्य र कैकय वीरहरूलाइ परास्त गरे । उनको वाणबाट व्यथित योद्धाहरूले बडो आर्तनाद गरिरहेका थिए । त्यति बेला देउता, गन्धर्व र पितृहरूको मुखबाट यस्ता शब्द निस्करहेका थिए–हेर, हेर, यी पाञ्चाल र पाण्डव महारथिहरू आफ्ना सैनिकसहित भागिरहेका छन् ।
जति बेला यी वीरहरूको भीषण संहार भइरहेको थियो, त्यसै बेला राजा युधिष्ठिरको कानमा पाञ्चजञ्य शङ्खको ध्वनि प¥यो । यसबाट उनी उदास भएर विचार गर्न थाले–जुन प्रकार यो पाञ्चजन्य शङ्खको ध्वनि भइरहेको छ र कौरवहरू हर्षित भएर बारम्बार कोलाहल गरिरहेका छन्, यसबाट के लाग्दछ कि अर्जुनमाथि कुनै आपत्ति आइपरेको छ ।
मनमा यस्तो विचार आएपछि उनको ह्दय व्याकुल हुन पुग्यो र उनले गद्गद् कण्ठले सात्यकिसित भने–शिनिपुत्र, पूर्वकालमा सत्पुरुषहरूले सङ्कटको समय मित्रको जुन धर्म निश्चित गरेका छन्, यति बेला त्यो देखाउने अवसर आइपरेको छ । म सबै योद्धाहरूतिर हेरेर विचार गर्दा तिमी बाहेक बढी मलाई आफ्नो अर्को कोही हित देखिइरहेको छैन र मेरो विचारमा सङ्कटको यस समयमा त्यसैको आश्रय लिनुपर्दछ । तिमी श्रीकृष्णको समान पराक्रमी छौ र उनीझैं पाण्डवहरूको आश्रय पनि हौ । अतः म तिमीलाई एउटा भार दिन चाहन्छु, तिमी त्यो ग्रहण गर ।
यति बेला तिम्रा बन्धु, सखा र गुरु अर्जुनमाथि सङ्कट आइपरेको छ, तिमी सङ्ग्राम भूमिमा गएर उनको रक्षा गर । जो पुरुष आफ्नो मित्रका लागि युद्ध गर्दा गर्दै प्राण त्याग गर्दछ र जसले ब्राह्मणहरूलाइ पृथ्वी दान गर्दछ, ती दुवै समान हुन्छन् । मेरो दृष्टिमा मित्रलाई अभयदान दिने एक त श्रीकृष्ण छन्, अर्को तिमी छौ । हेर, एक पराक्रमी वीर विजयश्रीको आशाले सङ्ग्राममा जब जुझ्न थाल्छ त्यति बेला कुनै वीर पुरुषले नै उसको सहायता गर्न सक्दछ, अन्य साधारण पुरुषले सक्दैन ।
अतः यस्तो भीषण युद्धमा अर्जुनको रक्षा गर्ने तिमी बाहेक अर्को कोही छैन । अर्जुनले पनि तिम्रो सयौं कर्महरूको प्रशंसा गर्दै कैयन चोटि भनेका थिए–सात्यकि मेरा मित्र र शिष्य हुन् । म उसलाई प्रिय छु र ऊ मलाइ प्यारो छ । मेरो साथमा रहेर उसले नै कौरवहरूको संहार गर्नेछ । उसको समान मेरो अर्को कोही पनि सहायक हुन सक्दैन । जति बेला तीर्थाटन गर्दै म द्वारिका पुगेको थिएँ, त्यति बेला पनि मैले अर्जुनप्रति तिम्रो अद्भूत भक्तिभाव देखेको थिएँ ।
यति बेला द्रोणाचार्यबाट कवच बाँध्न लगाएर दुर्योधन अर्जुनतिर गएको छ । अन्य अरू पनि कैयन महारथि त्यहाँ पहिले नै पुगिसकेका छन् । त्यसैले तिमी पनि तत्कालै त्यहाँ जानुपर्दछ । भीमसेन र हामीहरू सैनिकसहित तम्तयार छौं । द्रोणाचार्यले यदि तिम्रो पिछा गरे भने हामी उनलाइ यही रोकिराख्नेछौं । क्रमशः