काठमाडौं, ४ कात्तिक/रासस
नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अबको चार–पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन । भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।

“त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ”– पौडेलले रासससँग भने–“कतैकतै छिटपुट वर्षाको सम्भावना पनि रहन्छ ।” त्यसले ठूलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उक्त प्रणाली असोज ३१ देखि विकसित भएको थियो । कात्तिक १ र २ गते नेपालको पश्चिम (कर्णाली र सुदूरपश्चिम) क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ रातिदेखि बुधवार साँझसम्म त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २, वाग्मती, गण्डकी प्रदेशमा वर्षा गराएको थियो ।

बेमौसम (कात्तिक) मा परेको भारी वर्षाका कारण मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा जनधनको ठूलो क्षति गराएको छ । भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबालीमा समेत निकै क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here