“हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा” कवि लेखनाथ पौड्यालको ‘दशैं’ शीर्षक कवितामा उल्लिखित यी हरफहरू यस पालि मिथ्या साबित भयो । वर्षा, हुरी–बतास, चट्याङ अनि गर्मी र जाडोसमेत नहुने मौसम चयन गरेर हाम्रा पूर्वजले दशैं मनाउन थालेका हुन् । दशैंताका मनसुन समाप्त भइसक्ने हुँदा कवि घिमिरेले उक्त कवितामा मनसुनबारे चर्चा गरेका हुन् । यस बेला किसानले कृषिकर्म सकाएर हिउँदे बाली लगाउनु अघिको केही फुर्सदको समय पनि हो । अन्यायमाथि न्यायको जितको प्रतीकको रूपमा गरिने दुर्गा भवानीको पूजा ‘दशैं’ लाई पूर्वीय समाजका हरेक कृषकहरूले कृषिकर्ममा आफ्नो विजयोत्सवको रूपमा मनाउने गरेका छन् । यस वर्ष कवि घिमिरेको कवितामा जस्तो हिलो–मैलो हटेन र किसानले विजय उत्सव मनाउन पनि पाएनन् ।

बितेको वर्षभन्दा यस वर्ष कोरोना महामारीबाट केही राहत मिलेकोले दशैं राम्रैसँग मनाउने प्रायःको चाहना थियो । तर त्यो चाहनामा बेमौसमी मनसुनले तुषारापात गरिदियो । दशैं अवधिमा पनि मौसम सफा भएन । असार/साउनको झरीलाई मात गर्नेगरी वर्षा भयो । ‘अब मनसुन सकियो’ भन्ने मौसम विभागको घोषणालाई पनि बदर गर्दै मौसमले वितण्डा मचायो । वर्षात्को कारण बाढी–पहिरो र हिलोले गर्दा यात्रुहरू निर्धक्क हुन पाएनन् । पर्वको उत्तरार्धमा झन् यसले गति तीव्र बनायो र तीन दिनको अवधिमा धनजनको ठूलो क्षति ग¥यो । बाढी, पहिरोका कारण दशैंपछि विहीवारसम्म सयजनाभन्दा बढीले ज्यान गुमाए । ३० जना भन्दा बढी बेपत्ता छन् । सयौंको सङ्ख्यामा घाइते छन् । हजारौं किसानको धानबाली डुबानमा प¥यो । कैयौं परिवार घरबारविहीन बने । दशैं अभि भिœयाउनुपर्ने धान वर्षातको कारण काट्न र भिœयाउन विलम्ब भयो । पाकेको, तर काट्न बाँकी र काटेर पनि खेत–खलिहानमा रहेका धानका बाला डुबानका कारण उम्रिए अनि कुहिए । सम्म फाँटमा सुन फलाएर उमङ्गले फुरुङ्ग हुनुपर्ने किसानहरू धानबालीमा लगाएको लगानीसमेत डुब्दा निराश, हताश एवं विचलित बनेका छन् । दशैंताका पनि मनसुनले यस्तो विपत्ति निम्त्याउँछ भन्ने कुरा कसैले कल्पनासमेत गरेको थिएन । नसोचेको कुरा हुन गयो ।

वर्तमान दैवी विपत्तिको सामना गर्न न सरकार तयार थियो, न सर्वसाधरण नै । मनसुन सकिसकेकोले ढुक्क भएर बस्ने बेला थियो । सोही कारण पूर्वतयारी नहुँदा पनि धन जनको बढी क्षति भएको हो । पूर्वाभास भइदिएको भए किसानले पाकेको धान बाली कुनै न कुनै उपाय लगाएर बचाउने थिए । खेतका गराहरूमा काटेको धान पसारो नपारी, काट्नेबित्तिकै सुरक्षित गर्ने थिए । बोटमा पाकेका धानहरू पनि केही कम वर्षा भएको बेला, दुईचार दिन पहिले नै भिœयाइन्थ्यो । मौसम सफा होला र फुर्सदमा भिœयाउँला भनेर कुर्दाकुर्दै झन् ठूलो वर्षाले धानखेतलाई पोखरीमा परिणत गरिदियो । दैवी विपत्तिमा परेर ज्यान गुमाएकाहरूको परिवारजनलाई र घरबार गुमाएलाई सरकारले राहत दिने घोषणा गरेको छ । उनीहरूलाई त्यसले केही मात्र भए पनि राहत मिल्नेछ । वर्षभरि जिउने माध्यम, खेतिबाली गुमाएकाहरू यति बेला ठुलो मानसिक तनावमा छन् । उनीहरूलाई पनि सरकारले तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नु जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here