काठमाडौं, ३१ असोज/रासस
भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित देशभर सामान्य बदली रहेको छ भने गएराति काठमाडौंसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा सामान्य बदली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुर्ई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एकदुर्ई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।
सोमवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एकदुर्ई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कात्तिक २ गते मङ्गलवार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुर्ई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
दशैंका समय काठमाडौं उपत्यकासहित देशैभर मौसम सफा रही चर्काे घाम लागे पनि दशैंको टीकाको दोस्रो दिन शनिवारदेखि काठमाडौंलगायत देशभर बदली र हल्का वर्षा भएको छ । काठमाडौंमा गएराति हल्का वर्षा भएको छ । महाशाखाको विवरणमा काठमाडौंमा ८.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी ओखलढुङ्गामा ५५ र ताप्लेजुङमा २३ मिलिमिटर वर्षा भएको छ।