राधेश्याम पटेल, वीरगंज, २१ असोज/

वीरगंज–२५ श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयबाट पछिल्लो तीन दिनमा ३१ करोड ७० लाख ३० हजार ५८७ रूपियाँ मूल्य बराबरको १०५ वटा विद्युतीय कारको जाँचपास भएको छ ।

दशैंको अवसरमा चिनियाँ ब्रान्डको विद्युतीय एमजी कारहरूको जाँचपास भएको भन्सार कार्यालयले जनाएको छ ।

पारामाउन्ट मोटर्स काठमाडौंले आयात गरेको १०५ वटा विद्युतीय कार ११ करोड ५५ लाख ५० हजार राजस्व तिरेर छुटाइएको ड्राइपोर्ट भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले जानकारी गराए ।

“६० वटा कार बुधवार छुटिसकेको र ४५ वटा बिहीवार छुट्ने सबै प्रक्रिया पूरा भइसकेको छ”–उनले भने–“एउटा कारको मूल्य २३ हजार ३ सय अमेरिकी डलर परेको छ, विद्युतीय कारमा १५ प्रतिशत भन्सार महसूल र १३ प्रतिशत मूअक र ५ प्रतिशत सडक सम्भार दस्तुर गरी कुल ३३ प्रतिशत राजस्व आयातकर्ताले तिर्नुपरेको छ ।” चीनबाट कोलकाता बन्दरगाह हुँदै ती कार कन्टेनर रेलवेमार्फत रेलमार्गबाट वीरगंज आइपुगेका हुन् ।

दशैं, तिहारमा विद्युतीय कारको माग अत्यधिक बढेकाले आयातकर्ताहरूले धमाधम विद्युतीय कार भिœयाइरहेका छन् ।

अहिले पनि ड्राइपोर्ट भन्सारमा ६० भन्दा बढी कार रहेको उनले जानकारी गराए ।
चालू आवमा वर्तमान सरकारले बजेटमा विद्युतीय कार आयातमा अन्तःशुल्क हटाएपछि विद्युतीय कारको आयातमा बढोत्तरी भएको भन्सार अधिकारीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here