राधेश्याम पटेल, वीरगंज, २१ असोज/
भारतको गुजरात राज्यको सुरतबाट सन् २००९ मा शुरू भएको लड्र्स होटल एन्ड रिसोर्टको नेपाल र भारतमा ४३ वटा होटल सञ्चालनमा छन् । अन्तर्राष्ट्रियस्तरको होटल सेवा उपलब्ध गराउन सफल मानिएको उक्त होटलका ४० वटा होटल भारतका विभिन्न राज्यमा सञ्चालनमा छन् भने नेपालमा तीनवटा होटल सञ्चालनमा रहेका छन् ।
आगामी दिनमा थप सातवटा होटल थप्ने लड्र्सले योजना बनाएर काम अगाडि बढाएको छ । सातमध्ये तीनवटा होटलको निर्माण कार्य चलिरहेको र सन् २०२२–२३ मा सञ्चालनमा आइसक्नेछन् भने बाँकी चारवटा होटल करीब चार वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको लड्र्स होटल एन्ड रिसोर्ट नेपालका क्षेत्रीय प्रमुख शैलेज टेरीले जानकारी दिए ।
वीरगंजको दियालो लड्र्स प्लाजामा भएको कुराकानीमा उनले आगामी पाँच वर्षभित्र करीब छ अर्बको लगानीमा सातवटा होटल निर्माण भएर सञ्चालनमा आइसक्ने जानकारी गराए । दुई वर्षभित्र करीब तीन अर्बको लगानीमा तीनवटा होटल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको नेपाल प्रमुख टेरीको भनाइ छ ।
सुरतका व्यवसायी पुष्पेन्द्र वंशलले सुरतबाट होटल व्यवसाय शुरू गरेका थिए । त्यसपछि अहिले उनको भारतका विभिन्न राज्यमा नौवटा आफ्नै होटल छन् भने बाँकी होटल स्थानीय साझेदारसँग मिलेर व्यवस्थापन गरिरहेका छन् ।
लड्र्सले चेन होटलको रूप लिएपछि होटलको मार्केटिङ, सेल्स, अनलाइन बुकिङ, बिजनेश, टुर एन्ड ट्राभल एजेन्सीसँगको कारोबार, होटल डेकोरेशन, खाना, कोठाको सजावट, रेस्टुराँलगायत हेर्ने गरेको छ । भारतमा अधिकांश भारतीय मजदूरलाई नियुक्त गरिन्छ भने नेपालका होटलमा २० प्रतिशत भारतीय र ८० प्रतिशत नेपाली जनशक्तिलाई रोजगार दिइएको छ । लड्र्सले व्यवस्थापनको जिम्मा लिएपछि होटल सञ्चालकसँग ग्रस ओभर प्रोफिटको आधारमा ६ देखि ९ प्रतिशत सम्म कमिशन लिन्छ ।
लड्र्सले सन् २०१३ मा काठमाडौंको व्यवसायी महेश गोयल सञ्चालक रहेको गौशालाको मिराज लड्र्स इन, सन् २०१७ मा नेपालगंजका दीपु गुप्ता सञ्चालक रहेको कलपत्रु लड्र्स इन र सन् २०१९ मा सञ्चालनमा आएको वीरगंजका व्यवसायी अनिल रूँगटा, सुनील रूँगटा, विशाल पटवारी, निर्मल गुप्ता सञ्चालक रहेको दियालो लड्र्स सञ्चालन गरिरहेको छ भने आगामी दुई वर्षभित्र काठमाडौंको ठमेलमा पाँच तारे होटल लड्र्स प्लाजा, पोखरा र बुटवलमा चार तारे होटल सञ्चालन गर्ने लक्ष्य राखेको छ । उनले यी तीनवटा होटलको निर्माण कार्य चलिरहेको र हाल लागनीकर्ताको नाम खुलाउन नमिल्ने बताए ।
डिसेम्बरसम्म पोखराको चार तारे लड्र्स इन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए। त्यसैगरी, चार वर्षभित्र जनकपुर, लुम्बिनी, झापा, महेन्द्रनगरमा पनि लड्र्स प्लाजाका चेन होटल सञ्चालनमा आउने योजना पाइपलाइनमा रहेको बताए ।