• विश्वराज अधिकारी

राष्ट्रिय आयलाई अति निर्धनसम्म पु¥याउने अनेक प्रभावकारी तरीकामध्ये एउटा साना व्यापार वा सडक व्यापार हो । सडक वा साना व्यापारको माध्यमबाट प्रत्येक देशको सरकारले निर्धनसम्म राष्ट्रिय आय वा आम्दानी पु¥याउने प्रयास गरेको हुन्छ वा प्रयास गर्नुपर्छ । साना व्यापार गर्नेहरूसँग पर्याप्त पूँजी र व्यापार सञ्चालनसम्बन्धी आवश्यक ज्ञान नहुने हुँदा उनीहरूलाई सरकारले सहयोग गर्नुपर्छ । उनीहरूलाई संरक्षण दिनुपर्छ भन्ने अर्थशास्त्रीहरूको मान्यता रहेको पाइन्छ ।

विभिन्न अध्ययनहरूले पनि यस कुराको पुष्टि गर्दछ । केही मुलुकमा त्यहाँका सरकारहरूले ‘साना व्यापार प्रशासन’ को स्थापनासमेत गरेको पाइन्छ । यस किसिमका साना व्यापार प्रशासनहरूले साना व्यापारीहरूलाई सहयोग गर्दछन् । तालीम, सूचना एवं जानकारी उपलब्ध गराउनुका साथै वित्तीय परामर्शसमेत दिन्छन् ।

साना व्यापारीहरूले गर्ने व्यापार ठूलो मुनाफा आर्जन गर्न, करोडपति बन्न नभएर जीवन निर्वाहका लागि मात्र हुन्छ । साना व्यापारी अन्त आकर्षक रोजगार नपाएर यस किसिमको व्यापारमा लागेका हुन्छन् । यिनीहरूसँग ठूलो पूँजी त हुँदैन नै, मुनाफाको आकार पनि अति सानो हुन्छ । यसैले आफ्नो व्यापार सञ्चालन गर्न यिनीहरूले सडक, पेटी, खुला स्थान वा शहरका व्यस्त स्थान रोजेका हुन्छन् । र यस्तो गर्नु यिनीहरूको बाध्यता पनि हो । किनभने शहरका महँगा घरको भाडा तिर्ने आर्थिक क्षमता यिनीहरूसँग हुँदैन ।

साना व्यापारी वा सडक व्यापारीहरूले महŒव पाएका हुँदैनन् । यहाँसम्म कि प्रशासनले यिनीहरूप्रति राख्ने दृष्टिकोण पनि फरक हुन्छ । तर अर्कोतिर सानो व्यापारले लाखौंलाई रोजगार दिएको हुन्छ । रोजगार उपलब्ध गराउने किसिमले पनि साना व्यापारीको राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण भूमिका हुन्छ ।

साना व्यापारीलाई संरक्षण दिनुपर्ने अनेक कारण छन् । तीमध्ये एक हो– साना व्यापारीहरूबाट केवल कम आय भएका व्यक्तिहरूले नै सामान खरीद गर्नु । धनी वा भनौं बलियो आय भएका व्यक्तिहरूले फूटपाथ वा सडक व्यापारीसँग सामान खरीद गरेको उदाहरण कमै पाइन्छ । कतिपय अवस्थामा त धनीहरूले फूटपाथका व्यापारीहरूबाट सामान खरीद गर्नु आफ्नो स्तर तल झार्नुसम्म पनि सोचेको पाइन्छ । समानस्तरका वस्तुहरू समान मूल्यमा सडक व्यापारीको पसलमा पाइए पनि केही व्यक्ति साना व्यापारीसँग सामान खरीद गर्दा आफ्नो स्तरमा प्रभाव पर्ने ठानेर नियतवश ठूला–ठूला र नाम चलेका पसलमा सामान खरीद गरेको पाइन्छ । यस्तो मनोविज्ञानले गर्दा पनि हाम्रो क्षेत्रमा साना व्यापारीहरूको अवस्थामा सुधार आउन कठिन भएको छ ।

ठूला वा धनी व्यापारीहरूले व्यापारबाट प्राप्त गरेको करोडौं रूपियाँ केही सीमित व्यक्तिको हातमा रहने तर साना व्यापारीले गरेको मुनाफा लाखौंको हातमा पुग्ने भएकोले पनि साना वा सडक व्यापारलाई सहयोग र संरक्षण आवश्यक छ ।

लाखौंलाई रोजगार उपलब्ध गराउने सानो व्यापारको चुनौती भने अनेक छ । पहिलो चुनौती त ठूला वा धनी व्यापारीहरूको सानो व्यापार क्षेत्रमा घुसपैठ रहेको छ । धनी व्यापारीहरूले पनि सडक पेटीमा आएर व्यापार गरेको पाइन्छ । यस्तो हुन नदिन स्थानीय प्रशासन सतर्क रहनुपर्छ। सानो व्यापार जीवन निर्वाहको लागि भएकोले सडक वा फूटपाथ व्यापार गरीब व्यापारीहरूको लागि सुरक्षित र संरक्षित हुनुपर्छ । कुनै भौतिक संरचना निर्माण नगरी उपलब्ध खुला स्थानमा साना व्यापारीहरूले व्यापार गर्न पाउने व्यवस्था स्थानीय प्रशासनले मिलाउनुपर्दछ ।

साना व्यापारीहरूले भोग्नुपर्ने अर्को तर डरलाग्दो चुनौती कुनै एक निर्धारित स्थानमा व्यापार गर्न नपाउनु र सकड, पेटीमा व्यापार गर्दा लखेटिनु हो । स्थानीय प्रशासनले साना व्यापारीहरूलाई व्यापार सञ्चालन गर्न सहयोग गर्नुपर्छ र उनीहरूका लागि कुनै स्थान तोकिदिनुपर्छ । शहरका व्यस्त बजार वा चोकहरूमा केही शर्तसहित साना व्यापारीलाई व्यापार सञ्चालन गर्न दिनुपर्छ । संसारका अनेक ठूला शहरहरूमा व्यवस्थित किसिमले साना व्यापार सञ्चालन गर्न दिइएको देख्न सकिन्छ ।

त्यसमध्ये एउटा उदाहरण–क्यानडाको ठूलो एवं व्यस्त शहर टोरन्टोको मुख्य स्थान (डाउन टाउन)मा साना व्यापारीहरूले व्यवस्थित किसिमले व्यापार सञ्चालन गरेको देख्न सकिन्छ । टोरन्टोको डाउन टाउनको फूटपाथमा बिक्री हुने ‘हटडग’ विश्व प्रख्यात छ । टोरन्टो पुग्नेहरू डाउन टाउनको फूटपाथमा बिक्री हुने हटडग खाने र नजीक रहेको नाएग्रा फल्स हेर्ने इच्छा राखेको पाइन्छ ।

शहरको व्यस्त स्थान एवं सडक, पेटी आदिमा साना व्यापार सञ्चालन गर्ने व्यापारीहरूले शहरलाई आकर्षक पार्ने काम मात्र गरेका हुँदैनन्, त्यस शहरको सामाजिक एवं सांस्कृतिक महŒव झल्काउने कार्य पनि गरिरहेका हुन्छन्, जुन कुरा सूक्ष्म किसिमले अध्ययन गर्दा देख्न सकिन्छ । साना व्यापारीहरूको व्यापार व्यवस्थित किसिमले सञ्चालन हुन दिने हो भने यिनीहरूले कुनै शहरको पर्यटन क्षेत्रको विज्ञापनसमेत गर्न सक्छन् । तर अफसोच १ हामीकहाँ साना व्यापारीबाट लिन सकिने अनेक फाइदा लिन सकिएको छैन । उल्टो साना व्यापारीहरूलाई सडक, पेटी वा व्यस्त स्थानहरूमा व्यापार गर्न आउँदा लखेट्ने गरिन्छ । साना व्यापारीहरूको सामान तोडफोड गरिदिनु, उनीहरूलाई लखेट्नुलाई स्थानीय प्रशासनले शहर सफा गरेको भन्दै गर्व त गर्छ तर साना व्यापारीप्रति घात भएको अनुभूत गर्दैन ।

दक्षिण एशियामा र मुख्यगरी नेपाल तथा भारतमा साना व्यापारीहरूको अस्तित्व सङ्कटमा पर्दै गएको महसूस गरिएको छ । ठूला–ठूला मलहरूले, ठूला ठूला बिक्री भण्डारहरूले साना व्यापारीहरूको व्यापारलाई धरापमा पार्दै लगेका छन् । आजभोलि उपभोक्ताहरू फूटपाथमा होइन, ठूला–ठूला मलहरूमा सामान खरीद गर्न रूचाउँछन् ।

साना व्यापारीहरूले व्यापार सञ्चालन गर्न पाएका निर्धारित क्षेत्र (हाट, बजार) पनि बिस्तारै धनी व्यापारीहरूको हातमा पर्दै गएको छ । उदाहरणका लागि– केही दशक पहिलेसम्म खुला स्थानमा लाग्ने बजारमा अहिले अनेक घर बनेर ती बजारहरू बृहत् खुद्रा भण्डारमा रूपान्तरित भएका छन्। धेरै शहरको यही स्थिति छ । खुला बजारहरू गरीबको हातबाट धनीहरूको हातमा पुगेको छ । उदाहरणका लागि वीरगंजको मीना बजार, बिर्ता बजार आदि खुला बजारको रूपमा स्थापित थिए । अनेक गाउँबाट ती बजारमा गरीब कृषक आफ्ना उत्पादन लिएर बिक्री गर्न आउँथे । अब ती बजारमा गरीब होइन, धनी व्यापारीहरूले व्यापार सञ्चालन गरेको पाइन्छ ।

अति गरीबसम्म आम्दानी पु¥याउन आउनुहोस्, फूटपाथे वा साना व्यापारीहरूबाट पनि सामान खरीद गरौं, गरीब उपभोक्ताले मात्र फूटपाथबाट सामान खरीद गर्ने परम्परा समाप्त गरौं । फूटपाथबाट धनी उपभोक्ताले पनि सामान खरीद गर्ने बानी बसालौं ।

स्थानीय प्रशासनले पनि साना व्यापारीहरूलाई निर्धारित स्थान उपलब्ध गराएर व्यापार गर्न सहयोग पु¥याउनुपर्छ । राष्ट्रिय अर्थतन्त्रमा साना व्यापारीको भूमिका पनि अहम् रहने तथ्यलाई स्वीकार गर्नुपर्छ । धनीहरूको व्यापार विस्तार हुन पनि गरीबहरूको आर्थिक स्थितिमा सुधार हुन आवश्यक छ । किनभने धनी व्यापारीहरूको ग्राहक भनेको नै तिनै गरीब व्यापारी हुन् । अर्थ व्यवस्थाको यो रहस्य धनी व्यापारीहरूले पनि बुझ्न आवश्यक छ ।

दशैं, दूर्गापूजा, लक्ष्मीपूजा, छठजस्ता अनेक चाडपर्व आउँदै छन् । यी पर्वहरूमा ठूलो परिमाणमा अनेक सामग्री खरीद– बिक्री हुन्छ । साना वा फूटपाथका व्यापारीहरूबाट पनि सामान खरीद गरौं। हामीले त्यस्तो गर्दा उनीहरूले पनि यी पर्व खुशीयालीपूर्वक मनाउन सक्छन् ।

अति आधुनिक यो वैश्ययुगले ज्यादै ठूला–ठूला व्यापार भण्डारहरूको स्थापनामा जोड दिएको छ। ठूला व्यापारहरूको स्थापना एवं सञ्चालन अति सजिलो पारिदिएको छ । केही सीमित धनी व्यापारीहरूको हातमा ज्यादै ठूलो रकम (आम्दानीको रूपमा) हुने स्थिति सृजना गरिदिएको छ । तर फूटपाथे व्यापारीहरूको अस्तित्व सङ्कटमा पार्दै लगेको छ । यस तथ्यतर्फ गम्भीरतापूर्वक विचार गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here