राजविराज, १९ असोज/रासस

कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा मास्क प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ । प्रदेश–२ सरकारका सामाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँस्थित गजेन्द्र चोकमा आजदेखि सो अभियान शुरू गरिएको हो । कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकलाई मास्क वितरण गर्न लागिएको जानकारी दिएको थियो ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरे ।

उनले गरीब जनताका लागि प्रदेश सरकारले निश्शुल्क मास्क उपलब्ध गराउने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दशैं, तिहार तथा छठ पर्वमा भीडभाड कमी गर्न र टोलटोलमा मास्क प्रयोगबारे अभियान जारी राख्न आग्रह गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका नगरप्रमुख शम्भु यादव, प्रदेश नं २ निर्देशनालय स्वास्थ्य निर्देशक विजयकुमार झा, नागरिक समाजका थानसिंह भन्साली, प्रमुख साधना झा, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष जोगेन्द्र भगत र सुरक्षा निकाय सप्तरी, युथ नेपाल, सबल नेपाल, युनिसेफलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । यसैगरी ‘तपाईंको मास्क खै ?’ भन्दै उनीहरूले निश्शुल्क मास्क वितरणसमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here