धादिङ, १९ असोज/रासस

महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडित परिवार सिंहदरबारको यात्रामा छन् । उन्नाइसौं दिनको यात्रामा धादिड्ढो गल्छीबाट २०७८ असोज १९ गते काठमाडFैंतर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा परी एक महिलाको हत्या भएकोले पीडित पक्षलाई न्याय र आरोपीलाई कारबाहीका लागि दबाब दिन पैदलयात्रामा रहेको बताएका छन् ।

बाँके जिल्ला जानकी गाउँपालिका–२ की ३८ वर्षीया ननपुन्नी धोबीको गत साउन ५ गते राति घरेलु हिंसाका कारण हत्या भएको मृतकको माइती पक्षको आरोप छ । बाँके जिल्ला प्रहरी कार्यालयले भने झुन्डिएर आत्महत्या गरेको हुँदा अनुसन्धानबाट घरेलु हिंसा भएको देखिए आत्महत्या दुरुत्साहन अन्तर्गत कारबाही गर्नुपर्ने बताएको थियो । महिलाको माग र १९ दिनसम्मको धर्नाका कारण पीडित पक्षले कर्तव्य ज्यान मुद्दा अन्तर्गत जाहेरी ल्याएका कारण पीडित पक्षको माग बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाइएको थियो ।

यसैगरी नेपालगंज उपमहानगरपालिका–१७ की ५० वर्षीया निर्मला खातुनको अपहरणपछि बेपत्ता पारिएकोले अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । लामो समय अघिदेखि निर्मला हराएकोले उनको जग्गा जमीनसमेत सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा व्यक्तिको नाममा दर्ता गराइएको कारण घटना रहस्यमय भएकोले अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जिल्लामा प्रहरीले चासो नदिएको आरोप लागाउँदै पीडित पक्ष र महिला अधिकारकर्मीसमेत सिंहदरबार पुगेर माग सम्बोधन गराउन पैदल यात्रामा आएको महिला अधिकारकर्मी रूबी खानले बताइन् ।

अपहरणसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालमा २०७७ मङ्सिर १६ गते दर्ता गराइएको थियो । मुद्दा दर्ता गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाइ थियो ।

पैदल यात्रामा ११ महिला र तीन पुरुष सहभागी छन् । उन्नाइस दिनदेखि हिंडेका कारण खुट्टा सुन्निएको तथा लामो यात्राको क्रममा पीडित परिवार र अधिकारकर्मीलाई पैदल यात्रामा सकस भएको देखिन्छ । महिलामाथि भएका हिंसाका घटनामा प्रहरीले जाहेरी दर्ता नगर्ने, महिला नै जाहेरी दर्ता गराउन जाँदा अभद्र व्यवहार गर्ने गरिएकोले मानव अधिकार संरक्षण र सुरक्षाका लागि सिंहदरबार गुहार्न जान लागिएको महिला अधिकारकर्मी खानको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here