महाभारतबाट सङ्कलन तथा अनुवाद
- उमाशङ्कर द्विवेदी
सबैभन्दा पहिला केकय महारथी बृहत्क्षत्र तीखो तीखो बाण वर्षा गर्दै आचार्यको सामु आए । उनको मुकाबिला सयकडौं बाण वर्षाउँदै क्षेमधूर्तिले गरे । अनि चेदिराज धृष्टकेतु आचार्यमाथि जाइलागे । उनको सामना वीरधन्वाले गरे । यस प्रकार सहदेवलाई दुर्मुखले, सात्यकिलाई व्याघ्रदत्तले, द्रौपदीका पुत्रहरूलाई सोमदत्तको पुत्रले र भीमसेनलाई राक्षस अलम्बुषले रोके ।
यसैबेला राजा युधिष्ठिरले द्रोणाचार्यमाथि नब्बेवटा बाण हाने । अनि आचार्यले सारथि र घोडासहित उनीमाथि पच्चीसवटा बाण हाने तर धर्मराजले आफ्नो हस्तकौशल प्रदर्शन गर्दै ती जम्मै बाणलाई आफ्नो बाणवर्षाबाट रोके । यसबाट क्रुद्ध भएर उनले महात्मा युधिष्ठिरको धनुष काटिदिएर बडो फुर्तीसाथ हजारौं बाण वर्षाएर युधिष्ठिरलाई चारैतिरबाट ढाकिदिए । यसबाट अत्यन्त खिन्न भएर धर्मराजले भाँचिएको त्यस धनुषलाई फालेर एउटा अर्को प्रचण्ड धनुष लिएर आचार्यले हानेका ती जम्मै बाणलाई काटिदिए ।
फेरि उनले द्रोणमाथि एउटा अत्यन्त भयानक गदा हाने र उल्लासले गर्जना गर्न थाले । गदालाई आफूतिर आइरहेको हेरेर आचार्यले ब्रह्मास्त्रलाई प्रकट गरे । त्यसले युधिष्ठिरको गदालाई ध्वस्त पार्दै युधिष्ठिरको रथतिर हानियो । अनि धर्मराजले ब्रह्मास्त्रबाट नै त्यसलाई शान्त पारेर पाँचवटा बाण हानेर उनलाई व्यथित पारी उनको धनुष पनि काटिदिए । द्रोणले त्यस धनुषलाई पर फालेर एउटा गदा हाने ।
त्यस गदालाई आफूतिर आइरहेको हेरेर धर्मराजले पनि एउटा गदा हाने । ती गदाहरू आपसमा ठक्कर खाएर आगोको झिल्को निस्कन थाल्यो अनि भुइँमा खसेर नष्ट भए । अब द्रोणाचार्यको क्रोध झन् चुलिएर आयो । उनले चारवटा तीखो बाण हानेर युधिष्ठिरका घोडाहरूलाई मारिदिए । एउटा भल नामक अस्त्र हानेर उनको धनुष, ध्वजालाई काटेर तीनवटा बाण उनीमाथि हानेर उनलाई व्यथित पारिदिए । घोडा मारिएपछि धर्मराज युधिष्ठिर तीव्रताका साथ रथबाट हाम्फाले सहदेवको रथमा चढेर घोडाहरूलाई तीव्र गतिमा हाँक्दै युद्धको मैदानबाट अन्त गइहाले ।
अर्कोतिर महापराक्रमी केकयराज बृहत्क्षत्रलाई आफूतिर आइरहेको हेरेर क्षेमधूर्तिले बाणहरूबाट उनको छातीमाथि प्रहार गरे । यो हेरेर बृहत्क्षत्रले बडो तीव्रताले क्षेमधूर्तिमाथि नब्बेवटा बाण हाने। अनि क्षेमधूर्तिले भल्ल नामक एउटा भयानक अस्त्र हानेर केकयराजको धनुष काटिदिए र स्वयम् उनलाई पनि एउटा बाण हानेर घाइते पारिदिए । केकयराजले एउटा अर्को धनुष लिएर हाँस्दा–हाँस्दै महारथी क्षेमधूर्तिको घोडा, सारथि र रथलाई पनि नष्ट पारिदिए तथा एक तीखो बाण हानेर उनको कुण्डलसहित मस्तकलाई काटिदिए । यसपछि उनी पाण्डवको हितको लागि अकस्मात् कौरवसेनामाथि जाइलागे ।
चेदिराज धृष्टकेतुलाई वीरधन्वाले रोकेका थिए । ती दुईटै वीर आपसमा भिडेर सहस्त्रौं बाणहरूबाट एकअर्कालाई घाइते पार्दै थिए । वीरधन्वाले कुपित भएर एउटा भल्ल हानेर धृष्टकेतुको धनुषलाई दुई टुक्रा पारिदिए । चेदिराजले त्यस धनुषलाई फाली एउटा फलामे शक्ति उचालेर दुवै हातबाट वीरधन्वामाथि हाने । त्यसको भयङ्कर चोटबाट वीरधन्वाको छाती च्यातियो र उनी रथबाट त्यहीं भुइँमा लडेर मरे ।
अर्कोतिर दुर्मुखले सहदेवमाथि साठीवटा बाण हाने, भयङ्कर गर्जना गरे । सहदेवले हाँस्दा–हाँस्दै उनलाई अनेकौं तीखो बाणबाट बिधिदिए । दुर्मुखले उनीमाथि नौवटा बाण हाने । अनि सहदेवले एउटा भल्ल हानेर दुर्मुखको ध्वजा काटिदिए, चारवटा तीखो बाण हानेर चारैवटा घोडालाई मारिदिएर एउटा अत्यन्त तीखो बाण हानेर उनको धनुषलाई काटिदिए । यसपछि उनले उनको सारथिको टाउको छिनालिदिए तथा पाँचवटा बाण हानेर उनलाई घाइते पारिदिए । अनि दुर्मुखले आफ्नो अश्वहीन रथ त्याग गरेर निरमित्रको रथमा चढे । यो हेरेर सहदेवले कुपित भएर एउटा भल्ल निरमित्रमाथि हाने ।
यसबाट त्रिगत्र्तराजका पुत्र निरमित्र रथको आसनबाट तल खसिहाले ।
राजपुत्र निरमित्रलाई मरेको हेरेर त्रिगत्र्तदेशको सेनामा बडो हाहाकार हुन थाल्यो । यसैबेला अर्को आश्चर्यको कुरा यो भयो कि नहकुलले एक क्षणमैं तपाईंको पुत्र विकर्णलाई परास्त गरिदिए ।
सेनाको अर्को भागमा व्याघ्रदत्त आफ्ना तीखा बाणहरूबाट सात्यकिलाई विचलित पारिरहेका थिए । सात्यकिले आफ्नो हस्तकौशलबाट ती जम्मैलाई रोकिदिएर आफ्नो बाणबाट ध्वजा, सारथि र घोडासहित व्याघ्रदत्तलाई पनि धराशयी गरिदिए । मगध राजकुमारको वध भएपछि मगध देशका अनेकौं वीर सहस्त्रौं बाण, तोमर, भिन्दिपाल, प्रास, मुद्गर र मूसल आदि शस्त्रहरूको वार गर्दै सात्यकिको साथमा युद्ध गर्न थाले तर सात्यकिले हाँस्दा–हाँस्दै अनायास नै ती जम्मैलाई परास्त गरिदिए । महाबाहु सात्यकिको मारबाट भयभीत भएर भागेका कौरवसेनामा कसैको पनि साहस उनको सामु टिक्न सक्ने देखिएन । यो हेरेर द्रोणाचार्यलाई बडो क्रोध भयो तथा उनी स्वयम् नै उनीमाथि जाइलागे । क्रमशः..