• सञ्जय मित्र

पत्याउनुहुन्न होला, अब हप्तामा एक दिन मात्र पिउँछु ।
मेरो मुखबाट यस्तो अशुभ वाक्य सुनेर साथीले मुख यसरी चेपारे मानूँ सात सय करेलाको तीतो एकसाथ मुखमा पसेको छ । मेरो कुरो निल्नु न ओकल्नुको भएपछि केही बोलेनन् । सर्पको मुखमा छुचुन्द्रो परेपछि हुने असमञ्जसमा साथीलाई पार्न सकेकोमा हुनसम्म खुशी लाग्यो मेरो मनमा । कारण के थियो भने मेरो पैसा पर्ने थियो आज पिउँदा वा पिलाउँदा । अबदेखि हप्तामा एक दिन पिउने बताएपछि ठीकै हो भन्नुबाहेक अरू केही बोल्न सकेनन् ।

होटलमा बसेको थिएँ । सधैं बस्ने होटल त्यहीं हो । साथीले मनमनै भन्यो होला– आज खुवाउनुपरेपछि हप्ताको एक दिन मात्रको कुरो फुत्कायो ।
मनको भाव लालबुझक्कडभन्दा पनि छिटो बुझेर भनें–

हप्ताको एक दिन छुट्टी हुन्छ । म हप्ताको एक दिन मात्र घर जान्छु । तपाईंलाई थाहै छ, घरभन्दा टाढा जागीर खाने मान्छे म । हप्ताको एक दिन बालबच्चालाई भेट्छु । हप्ताको एक दिन मात्र गाउँ, समाज र टोलछिमेकसित हुन्छु । हप्ताको एक दिन मात्र म गाउँले हुन्छु । त्यहाँ गाउँमा मलाई एक दिन देख्नुभयो भने मलाई जागीरवाला मान्छे भन्ठान्नुहुन्न । म पूरा गाउँले र पाखे भएर गाउँमा रमाउँछु तर हप्ताको एक दिन मात्र ।

हप्ताको एक दिन अबेरसम्म सुत्छु । थाहा छ कुन दिन ? जुन दिन बेलुका मेरो पिउने पालो परेको हुन्छ । हप्ताको एक दिन पिउन पाएपछि मज्जैले पिउँछु र पिएको रात अबेर भइहाल्छ । अनि बिहान अबेरसम्म सुत्छु । हुनत मेरो सबेर नै अबेर हुने गर्दछ ।

हप्ताको एक दिन मात्र माछा, हप्ताको एक दिन मात्र मासु र हप्ताको एक दिन मात्र शाकाहारी खाना खान्छु । पक्कै पत्याउनुहुन्छ होला, म हप्ताको एक दिन उपवास बस्छु । उपवास बसेकै दिन म दारु पिउँछु । थाहा छ ? किन म त्यसै दिन पिउँछु ? मेरो नजरमा दारु भनेकै शाकाहारी रस हो । मेरो अनुसन्धानले के देखाएको छ भने अरू दिन पिउनुभन्दा उपवास बसेको दिन पिउँदा स्वाद नै फरक हुन्छ, आनन्द नै बेग्लै दिन्छ । उपवास बसेको दिन विशेष दिन हुन्छ, विशेष दिनको विशेष स्वाद । विशेष दिनको विशेष आनन्द । अरू दिन त सामान्य भइहाले नि । तर उपवास बसेको दिन चाहिं सामान्य हुँदैन, सामान्य हुन दिनुहुँदैन ।

मलाई एक दिन एकजना धेरै ठूला मानिसले फोन गरेर भनेका थिए– तिमी जीवनमा एकपटक दारु ल्याइदेऊ, म तिमीलाई आफ्नो कार्यक्रममा अतिथि राख्छु ।

मैले सोधेको थिएँ– कार्यक्रम शाकाहारी हुन्छ कि मांसाहारी ?
किन ?
सोधेको ?
शाकाहारी, किन सोधेको ?

मैले जवाफमा बोलेको थिएँ– खसी पनि शाकाहारी नै हो किनभने खसीले माछामासु खाँदैन । बोइलर कुखुरा त झन् घरभित्रै शुद्ध दाना र पानी खाएर हुर्केको हुन्छ । शाकाहारी हुने नै भयो । झन् अन्डाले जन्मेदेखि केही खाएकै हुँदैन त कसरी मांसाहारी हुनु ? र जो शाकाहारी छ, त्यसको मासु कसरी मांसाहारी हुन सक्छ ?

मलाई ती ठूला मानिसले अ¥हाएका थिए– शुद्ध शाकाहारी मृत सञ्जीवनी सुरा ल्याइदेऊ । अर्थोक जानेको छैन । तिमीलाई अतिथि बनाउने ठूलो रहर छ । मेरो रहर पूरा गरिदेऊ ।

त्यत्ति बेला म दरुवामा परिचित थिएँ । सूर्य अस्त अनि म मस्त भइहाल्थें । न व्यस्त र न फुर्सद, म त केवल मस्त हुन खोज्दथें । दुनियाँका हरेक मानिस आफैंमा मस्त र व्यस्त हुन्छन् । म पनि यहीं हुन्थें त्यत्ति बेला तर अहिले अलिक सम्हालेको छु आफूलाई । यसैले सम्भव भएसम्म धेरै काम हप्तामा एक दिन मात्र गर्छु ।

मैले आग्रह गरें– साथी, म अलिकति भुजा र दालमोठ भुजिया खान्छु । अरूहरूले पिएको देख्छु, त्यसैमा रमाउँछु । अझ कोही नजीक यदि पिउँछन् भने त्यसको वासनाले मलाई परमानन्द दिन्छ । यत्तिमैं आफूलाई सम्हालेको छु किनभने म हप्तामा एक दिन पिउँछु ।

अरू दिन अरूको लागि जिउँछु र जुन दिन म पिउँछु, त्यो दिन आफ्नो लागि जिउँछु । आफ्नोलागि जिउनुको अनुभूति केवल मसित छ । आफ्नोलागि नजिउनु पनि के जिउनु हो ? आफ्नो लागि नपिउनु पनि के पिउनु हो ? म पिउनको लागि जिउँदिनँ, म जिउनको लागि पनि पिउँदिनँ ।

कतिपय मानिसको नजरमा जिउने कलाभन्दा पिउने कलाको मूल्य बढी हुन्छ । पहिले मेरो नजरमा पिउने कला जिउने कलाभन्दा महान् थियो तर अहिले मेरो नजरमा पिउने कलाभन्दा जिउने कला महान् छ । राम्रोसित पिएर कोही महान् बन्दैन तर राम्रोसित जिएर महान् बन्न सक्छ ।

बिस्तारै साथीलाई लाग्न थालेछ कि मलाई दारु लागेछ । अघिपछि यति बोल्दै नबोल्ने म विनादारु कसरी दर्शन छाटेको हुँला, यति ठूला कुरा गर्न आँटेको हुँला । मैले पक्कै उसलाई ढाँटेको हुँला भन्ने परेपछि ऊ त्यहाँबाट बाहिर निस्केछ ।

वास्तवमा मेरो दर्शन फरक छ । अरू जेसुकै भएपनि म हप्ताको एक दिन मात्र पिउँछु ।
अरू कुनै काम म यति निष्ठापूर्वक गर्दिनँ, जति हप्तामा एक दिन मात्र पिउँछु । मलाई थाहा छ– हप्तामा मेरो पिउने दिन एक दिन मात्र हो । यस कारण हप्ताको त्यो एक दिनलाई किन खेर फाल्ने?

अब म साँचो कुरा बताउँछु । साथीले मेरो दारुको पैसा पिउँला भनेर मैले सबै दर्शन छाटेको हुँ । अब म आफ्नो पैसाले मात्र पिउने किरिया पनि खाएको छु । अरूको पैसाले नपिउने किरिया पनि दाइजोको रूपमा खाएको छु । यस कारण सोझो अर्थमा सही कुरा इमानदारीपूर्वक बताउँछु अब ।

हप्तामा खुशी, गम, आश्चर्य, पीडा, मित्रता, आफन्त जो वा जे आए पनि त्यस दिन पिउँछु किनभने यी सबै सधैं आइरहँदैनन् । सबैलाई स्वागत र सम्मान गर्न नपिई मेरो मनले मान्दैन ।
हप्तामा एक दिन मात्र आइतवार आउँछ । हप्तामा एक दिन मात्र सोमवार आउँछ । हप्तामा एक दिन मात्र मङ्गलवार आउँछ । हप्तामा एक दिन मात्र बुधवार आउँछ । हप्तामा एक दिन मात्र बिहीवार आउँछ । हप्तामा एक दिन मात्र शुक्रवार आउँछ र हप्तामा एक दिन मात्र शनिवार आउँछ । एकदम स्पष्ट छ म हप्ताको एक दिन मात्र पिउँछु अर्थात् हप्तामा हरेक दिन मात्र एक दिन मात्र आउँछ । त्यसैले म हप्तामा एक दिन मात्र पिउँछु ।

उसो त मेरो मनमा यो विचार आउन थालेको छ कि जीवनमा हरेक दिन केवल एक दिन मात्र आउँछ । मानिस आफ्नो जीवनमा केवल एकपटक मात्र जन्मन्छ । यसैले म हरेक दिन त पिउँदिनँ तर हप्तामा एक दिन मात्र … ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here