प्रस, वीरगंज, १४ असोज/

पर्सा जिल्ला अदालतलगायत प्रदेश २ का आठवटै जिल्ला अदालतले विभिन्न मुद्दामा पक्राउ परेका ७० जना बालकैदीको खोजी कार्य शुरू गरेको छ ।

सर्वोच्च अदालतको निर्णय अनुसार कोरोनाकालमा बाल सुधारगृहमा सजाय भोगिरहेका ७० जना बालकैदीलाई २०७६ चैत २० गते अभिभावकको जिम्मा लगाइएको थियो । सोमध्ये एकजनाले आत्महत्या गरेको र एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंजको मुस्कान खातुन तेजाब प्रकरणका आरोपी समसाद हुन् ।

यी दुई घटनाबाहेक अहिले ६८ जना बालकैदी सम्पर्क बाहिर छन् । अभिभावकहरूले आवश्यक परेको बेला उपस्थित गराउने शर्तमा बाल सुधारगृहबाट आआफ्ना बालकहरूलाई बुझेर लगेका थिए । तर अभिभावकहरूले बुझेर लगेका बालकहरूलाई बालसुधार गृहमा अहिलेसम्म फिर्ता नपठाएकाले उनीहरूको खोजी कार्य शुरू भएको हो ।

देशभरिका बाल सुधारगृहमा रहेका बालकबालिकाहरूलाई कोरोनाबाट बचाउन सर्वोच्चले २०७६ चैत महीनामा अभिभावकको जिम्मामा छाड्न निर्णय गरेको थियो । सोही निर्णय अनुसार पर्सा जिल्ला अदालतबाट बालकैदीहरूलाई अभिभावकहरूको जिम्मा लगाएको बाल सुधारगृह वीरगंजका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।

वीरगंजको बाल सुधारगृहमा त्यति बेला ७० जना बालक रहेको र उनीहरूलाई परिवारको जिम्मा लगाएको उनले बताए । तर जिम्मा लगाइएका बालकहरूलाई बाल सुधारगृहमा भने अहिलेसम्म कसैले फिर्ता नपठाएको उनले बताए । अदालतको आदेशमा जिम्मा लगाएको र अहिले अदालतबाटै उनीहरूको खोजी कार्य शुरू भएको प्रमुख काफ्ले जानकारी गराए ।

प्रदेश २ का आठवटै जिल्ला अदालतको आदेशमा फैसला कार्यान्वयनका लागि विभिन्न अपराधमा सजाय पाएका बालकहरू वीरगंजको बाल सुधारगृहमा राख्ने व्यवस्था मिलाएको छ । अहिले १०३ जना नाबालक बाल सुधारगृहमा रहे पनि त्यहाँ ५० जना बालक अट्ने क्षमता मात्र रहेको उनले बताए ।

आठवटै जिल्ला अदालतले बालकैदीलाई अदालतमा बुझाउन पटक–पटक पत्राचार गरे पनि परिवारले बेवास्ता गरेपछि उनीहरूलाई फरार अभियुक्तको सूचीमा राखेर प्रहरी परिचालन गरी खोजी कार्य शुरू गरिएको हो ।

बाल सुधारगृह वीरगंजमा अहिले सबैभन्दा बढी जबरजस्ती करणीको आरोपमा बालकहरू रहेको बताइएको छ ।

देशभरिमा वीरगंज, हेटौंडा, विराटनगर, भक्तपुर, डोटी, भैरहवा, पोखरा र नेपालगंज गरी आठवटा बाल सुधारगृह छन् । यीमध्ये भक्तपुरमा रहेको बाल सुधारगृहमा मात्र बालिकाहरू राख्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here