टोकियो, १३ असोज/सिन्ह्वा
जापानको सत्तारूढ दलको नयाँ अध्यक्षका रूपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को निर्वाचन समितिले बुधवार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।

जापानका पूर्व विदेशमन्त्रीसमेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी तारो कोनोले १७० मत पाएका थिए ।

नव निर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्ष निर्वाचत भई प्रधानमन्त्रीसमेत बन्ने सम्भावना छ । आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्री निर्वाचित हुने देखिएको अधिकारीहरूले जनाएका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले मौका पाएका हुन् ।
सरकारलाई प्रभावकारीरूपमा सञ्चालन गर्न नसकेको र कोरोना भाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैं पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झन्डै एक वर्षमैं बिदा हुन लागेका हुन् ।
नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्ष पुगेका छन् । उनको जन्म टोकियोकै शिबुया शहरमा भएको हो । सन् १९९३ देखि प्रतिनिधिसभा सदस्य रहँदै आएका छन् । सन् २०१२ देखि २०१७ सम्म विदेशमन्त्री बनेका किशिडा आप्mनो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए ।

जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुरबुवासमेत प्रतिनिधिसभा सदस्य थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here