प्रस, निजगढ, १३ असोज/
निजगढ–लाल रतनपुर जाने कालोपत्रे सडकलाई झाडी बुट्यानले ढाकेसँगै सो सडक भएर गुड्ने सवारीसाधनहरू दुर्घटनामा पर्ने उच्च जोखिम बढेको छ ।
सो सडक भएर गुड्ने सवारी साधनहरूसँग निजगढ नपाले ठेक्का लगाइ सडक मर्मत सुधारको नाउँमा कर असुली गर्दै आइरहे पनि निनपाले सडक सुधारमा ध्यान नदिएको भन्दै गुनासा बढेका छन् । सडक किनारलाई झाडी बुट्यानले दुवैतिरबाट ढाक्दै आएसँगै सडक साँघुरो हुन पुगेको अटोचालकहरू बताउँछन् ।
नजीकिंदो चाडपर्वमा सवारी अटो, मोटरसाइकल, कार, स्कूल बसलगायतका सवारीसाधनहरूको चाप बढ्ने भएकोले दुर्घटनाको जोखिम उच्च रहेको रतनपुरका स्थानीय युवा समीर लामा बताउँछन् । जोखिम हुनु पहिल्यै सडक सरसफाइमा नगरपालिकाको ध्यान जानुपर्ने उनको भनाइ छ । सोही कारण हिजो दिउँसो सो सडक भएर चल्ने १७२७ नम्बरको अटो सडकको लाल पार्किङस्थल नजीकै पल्टिंदा त्यसमा सवार पाँचजना यात्री घाइते भएका थिए ।
वर्षामा पानीका कारण दुई दर्जन स्थानमा सडक किनार कटानमा परेको र जसका कारण दुर्घटना हुन सक्ने अटोचालकहरू बताउँछन् । वर्षाको पानीको उचित निकास नहुँदा सडक किनार हुँदै पानी बग्दा जमीनमुनि भित्रभित्रै सडक कोपिसकेको छ । माथिबाट सडक राम्रो देखिन्छ । किनारमा बिग्रिसकेको छ, उनीहरूले भने । त्यसरी बिग्रिएको सडक किनारमा माटो ग्रेभल हालेर बलियो बनाउन सकिने भएपनि निजगढ नगरपालिका र वडा कार्यालयहरूले वास्ता नगरेको रतनपुर, लालका स्थानीयहरूले बताए ।
सडक किनारका झाडी, बुट्यान सरसफाइ कार्यमा निजगढ नगरपालिका केही साताभित्र लाग्ने नगर उपप्रमुख लीलादेवी लामिछानेले बताइन् । सडक डिभिजन कार्यालय हेटौंडाले निजगढ लाल रतनपुरी डमरपुर लगभग १२ किलोमिटर सडक १२ करोड रुपैयाँभन्दा बढी लागतमा बनाएको हो ।