• –शरद शर्मा

काठमाडौं, ५ असोज/रासस

अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइका साथै उनीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ योजना सञ्चालन गर्न थालेको छ ।

पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, तरकारी खेतीसहित उद्यमशील बनाउनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । परिषद्ले यसै आर्थिक वर्षदेखि शिक्षण संस्थालाई उद्यम गर्ने सिकाइस्थलको रूपमा विकास गर्न र शिक्षामा गुणस्तर, नवप्रवर्तन तथा उद्यमशीलता विकास गरी शिक्षण रूपान्तरण गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले विद्यार्थीलाई विद्यालयबाट नै उद्यमशील बनाउन ‘एक शिक्षण संस्था एक उद्यम’ कार्यक्रम सञ्चालन गर्न थालिएको बताए । उनले उक्त कार्यक्रमले आफू पढेलेखेको ठाउँबाटै विद्यार्थी व्यवसायमा लाग्न सहयोग पुग्ने बताए । “विद्यालय तहबाट नै विद्यार्थीलाई उद्यमतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेका हांै”–उनले भने–“विद्यालयबाट बाहिर निस्केपछि उनीहरू बेरोजगारी बन्नुपर्दैन ।”

उनका अनुसार अभिभावक पनि महीनामा एक दिन विद्यालय आए आफ्ना विद्यार्थीले गरेको उद्यममा सहभागी हुनेछन् । “आफ्ना विद्यार्थीले विद्यालयमा नै उद्यम गरेको देखेर अभिभावक पनि खाली रहेको खेतबारीमा केही न केही खेती गर्न सक्नेछन्”–उनले भने–“यसले सिङ्गो समाजलाई उद्यमशील बनाउन सहयोग मिल्नेछ ।”

सञ्चालनका लागि परिषद्ले देशभरिका विद्यालयसँग प्रस्ताव माग गरेको छ । परिषद्ले कार्यक्रम सञ्चालन गर्न इच्छुक प्राविधिक तथा व्यावसायिक धार/शिक्षा सञ्चालित वा नमूना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयले यही असोज २१ गतेभित्र व्यावसायिक परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ । विद्यालयले पेश गरेको प्रस्तावलाई परिषद्को छनोट समितिले छनोट गर्नेछ । कार्यान्वयन कार्यढाँचामा निर्धारित मूल्याङ्कनका आधार बमोजिम प्रत्येक प्रदेशबाट एक एक र सङ्घबाट एक गरी आठवटा विद्यालय छनोट गरिने परिषद्का उपसचिव कमला ज्ञवालीले जानकारी दिइन् ।

उनका अनुसार छनोट भएको विद्यालयले बीउ पूँजीको रूपमा परिषद्ले नै शुरूमा सात लाख रुपियाँ अनुदान दिनेछ । परिषद्ले उपलब्ध गराएको र क्लबले विभिन्न स्रोतबाट प्राप्त गरेको रकमबाट विद्यालयमा उद्यम कार्यक्रम सञ्चालन गरिने छ ।

सरकारले नमूना विकासका लागि छनोट गरिएका ४२२, प्राविधिक शिक्षा सञ्चालन गर्ने ४८४ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट १८ महीनाको कक्षा सञ्चालन गरिरहेका विद्यालय उक्त कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

प्राविधिक तथा व्यावसायिक धार/शिक्षा लागू भएका नमूना सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइने छ । विद्यालयले कृषि तथा पशुपक्षी (माछापालन, बाख्रापालन, कुखरापालन) वन, पर्यटन प्रवद्र्धन, निर्माणमा आधारित उद्यम, कलामा आधारित उद्यमलगायत आठ प्रकारका उद्यममा कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।

विद्यालयमा उद्यम कार्यक्रम सञ्चालनका लागि विद्यालयमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी र कक्षामा प्रथम हुने विद्यार्थी सम्मिलित १७ सदस्यीय विद्यार्थी उद्यमी क्लब गठन गरिने छ । उक्त क्लबमा रहेका विद्यार्थीले नै उद्यम कार्यक्रम सञ्चालन गर्नेछन् ।

उद्यम सञ्चालनका लागि विद्यालयमा उद्यम कोष स्थापना गरिने छ । विद्यालयका प्रधानाध्यापक अध्यक्ष, उद्यमी क्लबका अध्यक्ष सदस्य र विद्यालयको लेखा हेर्ने कर्मचारी सदस्य सचिव रहनेछन्। कोषमा अभिभावकबाट उद्यम गर्न वार्षिकरूपमा सङ्कलित रकम, प्रदेश सरकारबाट प्राप्त अनुदान, उद्यमबाट प्राप्त आम्दानी, पूर्व विद्यार्थी मञ्चबाट उद्यम सञ्चालनार्थ स्वेच्छिक रकम, स्थानीय तह र अन्य व्यक्ति, सङ्घसंस्थाको अनुदानबाट प्राप्त रकमले एक विद्यालय एक उद्यम कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।

परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले विद्यार्थी आफैंले उद्यमबाट कमाएको पैसाले विद्यालयमा पढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here