जेनेभा, २९ भदौ/सिन्ह्वा

अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ ।

यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय सङ्कट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको छ । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले सहयोग आह्वान गरेका हुन् ।

गत महीना सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता तालिबानीहरूले हातमा लिएका थिए । त्यस यता वैदेशिक सहायता ठप्प भएको छ । अफगानी नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

महासचिव गुटर्रेसले सो सम्मेलनमा करीब ६० करोड अमेरिकी डलर तत्काल आवश्यक रहेको बताए । उनले यो सहयोग तत्काल उपलब्ध भए अफगानिस्तानका दशौं लाख मानिसलाई राहत पुग्ने बताएका थिए । यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरू निकै ठूलो जोखिममा परेको भन्दै उनले भने– हामीले यो कुरा त्यसै भनेका होइनौं अफगानिस्तानको अवस्था साँच्चीकै नराम्रो छ ।

अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै संयुक्त राष्ट्रसङ्घले विभिन्न स्थानमा सहयोग गर्न सहायताकर्मी पुग्दा तालिबानले नरोक्न पनि आह्वान गरेको छ । तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए ।

हाल पनि अफगानिस्तानका लाखौं नागरिक आन्तरिकरूपमा विस्थापित भएर देशभित्रै शरणार्थी अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here