प्रस, ठोरी, २९ भदौ/

ठोरी गाउँपालिका–४ मा रहेको मावि विजयबस्तीले मङ्गलवार राष्ट्रिय बालदिवस भव्यताका साथ मनाएको छ ।

नेपालमा विसं २०६३ देखि प्रत्येक वर्ष भदौ २९ गतेका दिन मनाउन थालिएको बालदिवसको अवसरमा विविध खेलकूद कार्यक्रमहरूको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नारायण लामाले बताए ।

विद्यालयमा सम्पन्न खेलकूद कार्यक्रममा आधारभूत तहको कक्षा ८ सम्मका छात्रछात्राहरूले भाग लिएका थिए । खेलकूदहरूमा सियोधागो खेल, म्युजिकल चेयर, हिसाब दौड र साधारण दौड प्रतियोगिता समावेश गरिएको प्रअ लामाले बताए ।

सम्पन्न प्रतियोगिताहरूमध्ये सियोधागो खेलमा कक्षा ७ की छात्रा सञ्जु श्रेष्ठ प्रथम भएकी थिइन् भने द्वितीय तथा तृतीय कक्षा ७ कै क्रमशः आशा श्रेष्ठ र आकृति श्रेष्ठ भए ।m त्यस्तै, हिसाब दौड प्रतियोगितामा कक्षा ५ का सन्दीप श्रेष्ठ, निकेश श्रेष्ठ एवं जीवन तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भए ।

म्युजिकल चेयरमा कक्षा ६ का मीनबहादुर श्रेष्ठ प्रथम, कक्षा ४ की आस्था श्रेष्ठ द्वितीय र कक्षा ६ का वसन्त श्रेष्ठ तृतीय भए । त्यसैगरी, कक्षा ३ को साधारण दौडमा रोज श्रेष्ठ प्रथम, सर्मन श्रेष्ठ द्वितीय र आयुष श्रेष्ठ तृतीय भए भने कक्षा १ तथा केजीको दौडमा कक्षा १ का सफल श्रेष्ठ प्रथम, केजीका प्रवीण लामा द्वितीय तथा केजीकी मौसमी बमजन तृतीय भए ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरूको उपस्थिति थियो । विजेताहरूलाई कार्यक्रममा शिक्षकशिक्षिकाहरूले पुरस्कृत गरेका थिए ।

प्रस, वीरगंज/

बालदिवसको अवसरमा नेपाल राष्ट्रिय सीताराम महतो मावि भौराटारमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ नारासहित ५७औं राष्ट्रिय बाल दिवस मनाउने क्रममा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारस्थित नेपाल राष्ट्रिय सीताराम महतो माविमा हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

विद्यालयका बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्दै नेपालको संविधानको धारा ३९ मा मौलिक हकको रूपमा बालबालिकाको हक, बालबालिकासम्बन्धी ऐन, राष्ट्रिय नीति र बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानूनलगायत अतिरिक्त कार्यक्रम बालबालिकाको सर्वाङ्गीण विकासका लागि सकारात्मक रहेको विद्यालयका प्रधानाध्यापक सञ्जय कुमारले बताए ।

विद्यालय प्राङ्गणमा सम्पन्न हाजिरजवाफ प्रतियोगितामा कक्षा सात, आठ, नौ र दशका विद्यार्थीहरूले भाग लिएका थिए । विजेता समूहलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here