काठमाडौं, २७ भदौ/रासस
शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक नेपाल आउँछन् । कोभिड–१९ महामारीको जोखिम नभइदिएको भए यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ हुने थिए भने पदमार्ग र अन्य धार्मिकस्थलमा विदेशी खचाखच हुन्थे ।
राजधानीको ठमेललगायत देशका प्रमुख पर्यटकीय गन्तव्यमा विदेशी नागरिकको भीडभाड हुन्थ्यो तर कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको मुलुकको पर्यटन क्षेत्रमा अहिले पनि खासै उत्साह छैन । पर्यटन पूर्वाधारमा लगानी बढाएका व्यवसायी निराश छन् । पर्यटनसँग जोडिएका सबैजसो व्यापार व्यवसाय चौपट छ । झिनो सङ्ख्यामा भएपनि पर्यटक पाहुनाको पर्खाइमा छन् व्यवसायी ।
कोभिडको दोस्रो लहरपछि नेपालको पर्यटन क्षेत्रमा सकारात्मक गतिविधि बढ्ने अपेक्षा थियो । अझै पनि तेस्रो लहरको जोखिम कायमै रहेकाले पर्यटक र पर्यटकीय गतिविधि बढ्ने अवस्था छैन । यतिखेर पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन् । महामारीकै बीच बुकिङ रद्द भएपछि व्यवसायीमा थप त्रास बढेको छ । पर्यटकस्तरदेखि तारे होटलका बुकिङ धमाधम रद्द भइरहेको होटल सङ्घ नेपाल (हान)ले जनाएको छ ।
अहिले राजधानी काठमाडौंमा निषेधाज्ञा हटेको छ । सबै होटल खुलेका छन् तर होटलमा ग्राहक छैनन् । तत्कालै विदेशी नेपाल आउने अवस्था पनि छैन । हानका प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकीय याममा धमाधम बुकिङ रद्द हुनुले व्यवसायीलाई थप निराश तुल्याएको बताउँछन् । उनले भने, “होटल त खुलेका छन्, पाहुना छैनन् । बुकिङ पनि रद्द भइरहेका छन्, यसले होटल क्षेत्रलाई झनै निराश बनाएको छ । खर्बाैंको लगानी जोखिममा छ ।”
सेप्टेम्बरको मध्यतिर पनि नेपाल आउनेखाले विदेशी नागरिक तत्काल आउने अवस्था छैन । विमानस्थल होटलमा अल्पाइन ग्रुपका जर्मन नागरिक करीब ५० जनासम्म हरेक वर्ष वार्षिकोत्सव मनाउन नेपाल आउने गरेका थिए । यसपटक उनीहरू आउने अवस्था छैन । बुकिङ रद्द गर्दैछन् । सगरमाथा आधार शिविरसम्म यात्रा गर्ने ती विदेशीले यो वर्ष यात्रा रद्द गरेका हुन्।
हानका अनुसार अहिले आधाभन्दा बढी बुकिङ रद्द भइसकेका छन् । नेपाल आउने विदेशीले वर्ष दिनदेखि छ महीनाअघि बुकिङ गर्छन् । पन्ध्र दिनअघिसम्म बुकिङ रद्द गर्दा शुल्क लाग्दैन । नेपालमा वर्षायाम सकिएलगत्तै विदेशी आउन थाल्छन् । विशेषगरी अक्टोबर, नोभेम्बर र डिसेम्भर महीनामा विदेशी पर्यटक बढी आउँछन् । हानमा आबद्ध साना, ठूला गरी करीब चार हजार होटल छन् ।
हानका उपाध्यक्ष सामान्य अवस्थामा यो याममा करीब ८० प्रतिशत होटल बुकिङ हुन्थ्यो । अहिले १० प्रतिशतभन्दा कम बुकिङ थियो । सन् २०२० मा पनि करीब १० प्रतिशत मात्रै बुकिङ थियो । नेपाल आउने विदेशी पर्यटकले अहिले सात दिन क्वारेन्टाइनमा बस्नुपर्छ । खोपको मात्रा पूरा गरेर आए पनि क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता र अनअराइभल भिसाको सुनिश्चितता नहुँदासम्म पर्यटक नबढ्ने व्यवसायीको भनाइ छ ।
योपटक पर्यटक बढ्नेछन् किनकि विदेशी राहदानी भएका नेपाली आइरहेका छन् । कूटनीतिक नियोग, गैरसरकारी संस्था, बहुर्राष्ट्रिय कम्पनीका कर्मचारी पनि नेपाल भित्रिइरहेका छन् । अक्टोबर महीनामा हुने गैरआवासीय नेपाली सङ्घको निर्वाचनले पनि यो वर्ष नेपाल आउनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले मुख्य पर्यटकीय याममा पनि बुकिङ रद्द भइरहनुले व्यवसायीलाई थप निराश तुल्याएको भन्दै खोप लगाएर आउने पर्यटकलाई सहजै नेपालका गन्तव्यमा घुम्ने वातावरण सिर्जना गरिनुपर्ने खाँचो औंल्याए । उनले भने, “अक्टोबरका लागि ग्रुप रद्द भइसके, व्यवसायीको ठूलो लगानी धराशयी अवस्थामा छ, खोप लगाएका पर्यटकलाई सहजरूपले आउन दिनुपर्छ, यो सिजनमा पनि पर्यटक आउन नदिने हो भने व्यवसायी पलायन हुनुपर्ने अवस्था आउँछ ।”
अध्यक्ष गुरागाइँले खोप लगाएर आउने विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमैं अनअराइभल प्रवेशाज्ञा (भिसा)को व्यवस्था गरी हालको क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटाउन सरकारसँग आग्रह गरे । उनले भारतीय पर्यटकलाई सहजरूपमा नेपाल आउने वातावरण बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने जिकिर गरे । नेपालमा १६० भन्दा बढी मुलुकका विदेशी नागरिक विभिन्न प्रयोजनका निम्ति आउने गरेका छन् ।
पर्यटन उद्योगको संरक्षण र प्रवद्र्धनका लागि राज्यले घोषणा गरेका कार्यक्रमको कार्यान्वयनको वातावरण नबन्दा असहज परिस्थिति आएको हानका उपाध्यक्ष शाहको गुनासो छ । उनले नीतिगत निर्णय गरेर अघि बढेको खण्डमा विदेशी पर्यटक भित्रिने वातावरण बन्ने भन्दै त्यसका लागि सरकारले बजेट तथा आर्थिक नीतिमा उल्लेख गरेका कामको चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
बजेटमा घोषणा भएको विदेशी पर्यटकलाई एक महीनाको निश्शुल्क प्रवेशाज्ञा, अनअराइभल प्रवेशाज्ञा जस्ता विषयको तत्काल कार्यान्वयन गरी भारत र चीनको सीमाबाट सहजरूपमा पर्यटक आउने वातावरण बनेमा पर्यटन क्षेत्रलाई राहत हुने उनको भनाइ छ ।
अहिले पनि युरोप, अमेरिका, अस्ट्रेलियालगायत महŒवपूर्ण देशले ट्राभल एडभाइजरी जारी गरी नेपाल आउन प्रतिबन्ध लगाएका छन् । नेपाल सरकारले ट्राभल एडभाइजरी हटाउन पहल गर्नुपर्ने, प्रतिस्थापन बजेटमार्फत १० दिनको काज बिदाको व्यवस्था तत्काल लागू गर्नुपर्ने व्यवसायीको माग छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ (नेपाल) टानका अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले बजेट र आर्थिक नीतिमा घोषणा गरेका कार्यक्रम चाँडो कार्यान्वयन नगरे व्यवसायी पलायनको अवस्था आउन सक्ने भन्दै पर्यटन पुनरुत्थान र प्रवद्र्धनका लागि साझा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए । उनले खोप लगाएर आउने पर्यटकको सहजताका लागि अनअराइभल भिसा तथा क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटाइनुपर्ने माग गरे ।
व्यवसायीले आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न तथा आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत घोषणा गरिएको सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरणलगायतका व्यवस्था होटल तथा पर्यटन उद्योगमा सहज र सरलरूपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिन व्यवसायीले सराकारसमक्ष अनुरोध गरेका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगस्त महीनासम्म आठ महीनाको अवधिमा कुल ६६ हजार ९६६ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०२० मा दुर्ई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।