प्रस, सेढवा, २३ भदौ/

वर्षेबाली धानको बाला निस्केर दाना नलाग्दै सुक्न थालेपछि ग्रामीण किसानहरू चिन्तामा परेका छन् । विशेषगरी भदैया मन्सुली, हर्दिनाथ, सोना सारो तथा हाइब्रिड जातका धानको बाला निस्केर दाना नलाग्दै सुक्न थालेका छन् ।

यी जातका धान ग्रामीण भेगका ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकामा बढी खेती गरिएको छ । यस वर्ष समयमैं पटक–पटक पानी परे पनि धानमा विभिन्न रोग लागेका कारण किसानहरू पीडित भएका ठोरी गाउँपालिका–५ निवासी माइते दोङले बताए ।

भदैया जातको धानमा लागेको रोगका कारण धान उत्पादनमा निकै कमी आउने उनको भनाइ छ । चैते धानबाली वर्षाका कारण किसानहरूले निकै सस्तोमा बेचेर घाटा खानुपरेको र अहिले दोस्रो बालीमा पनि उत्पादन कम हुँदा किसान मारमा परेको दोङले बताए ।

११० दिनमा तैयार हुने सोना सारो, भदैया मन्सुलीलगायतका भदैया जातका धानको बाला निस्किने बेला गान्ही कीरा (अमेरिकी फौजी कीरा) लागेको तथा गाभा सुक्ने रोग लागेको छ । अहिले बाला निस्किने समयमा गान्ही कीराले दाना लाग्ने दूध खाने हँुदा उत्पादनमा निकै ह्रास हुने चिन्ता रहेका जीराभवानी गाउँपालिका वडा नं २ सेढवाका किसान जयद्रथ चौधरीले गुनासो गरे । सोही जातका धानमा गाभा सुक्ने रोगबाट छुटकारा पाउन दुईपटक कीटनाशक औषधि छर्किसकेको तर नियन्त्रणमा आउन नसकेको किसान चौधरीले बताए ।

त्यस्तै, सोना मन्सुली अर्थात् अगहनी जातको धानबालीमा सरलहवा (ब्लास्ट) रोग लागेको छ। यो रोगमा फङ्गल कीटाणुले बिरुवाको जरालाई खाने गर्दा जरा कुहिने गरेको जगरनाथपुर गाउँपालिकाका कृषि संयोजक शत्रुघ्न चौरसियाले बताए ।

यता जीराभवानी गाउँपालिकाका कृषि प्राविधिक बृजेश साहले कीराले गाभाको सतहमा गएर फूल पार्ने र सोही फूल लार्भामा परिवर्तन भई गाभालाई खाने गर्दा गाभा सुक्ने गरेको बताए । यसका लागि साप्ताहिकरूपले कीटनाशक औषधि छर्नुपर्ने तर निकै ढिलो भएकोले अब नियन्त्रण गर्न नसकिने साहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here