खुलेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना भएन

0
22

प्रस, वीरगंज, २३ भदौ/

पर्सा जिल्लाको छिपहरमाई र पकाहामैनपुर गाउँपालिकाबाहेक १२ वटा पालिकामा विद्यालयहरू सञ्चालनमा आएका छन् ।

छिपहरमाई गापाले भदौ २७ गतेदेखि पालिकामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ तर पकाहामैनपुरले भने अहिलेसम्म विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय गरेको छैन । वीरगंज महानगरपालिकामा संस्थागत तथा सामुदायिक विद्यालयहरू सञ्चालनमा आएसँगै जिल्लाभरिका पालिकाहरूमा एकपछि अर्को विद्यालय खोल्ने होडबाजी शुरू भएको हो ।

विद्यालय सञ्चालनको लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने संस्थागत तथा सामुदायिक विद्यालयहरूको छाता सङ्गठन प्याब्सन, एन–प्याब्सन, शिक्षक सङ्घ, सङ्गठन र महासङ्घले प्रतिबद्धता जाहेर गरे पनि अहिले विद्यालय सञ्चालन भएसँगै स्वास्थ्य सुरक्ष्Fा मापदण्डको पालना गरिएको छैन । वीरगंजमा अहिले विद्यालयका बसहरू पनि सञ्चालनमा आएका छन् । सानादेखि ठूला सबै कक्षा सञ्चालनमा छन् । विद्यालयमा पचास प्रतिशतभन्दा पनि कम विद्यार्थीले मास्क लगाउने गरेका छन् ।

साबुन–पानीले हातधुने कुरा सम्भव पनि नभएकोले पालना गरिएको छैन । प्रत्येक विद्यालयमा साबुन–पानीको व्यवस्था छ तर विद्यार्थीहरूले हात धोएर कक्षामा प्रवेश र हात धोएर बाहिरिने स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयहरूले दुई सिफ्टमा अथवा आलोपालो गरी कक्षा सञ्चालन गरेका छैनन् । पूर्ववत्रूपमा विद्यार्थीहरू बेन्चमा कोचिएर बस्ने र अध्ययन गर्ने गरेको पाइएको छ ।

प्रस, सेढवा/

जगरनाथपुर र जीराभवानी गाउँपालिकामा सञ्चालित विद्यालयहरूमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिएको छैन । विद्यार्थीहरू आफूखुशी मास्क लगाएर आउँछन् तथा नलगाउनेलाई रोकटोक पनि गरिएको छैन । प्रअहरूले यस सम्बन्धमा विद्यार्थीहरूलाई नियन्त्रण गर्न नसकिने बताए । विद्यार्थी सङ्ख्या बढी भएकाले मास्क लगाएको नलगाएको निगरानी गर्दा उनीहरूको पढाइमा असर पुग्ने बताए ।

यसैगरी, विद्यालयमा हात धुन लगाउने र सामाजिक दूरी बनाउने हो भने विद्यालय सञ्चालन गर्न नसकिने उनीहरूको प्रतिक्रिया छ । तीनवटा ठूला विद्यालयले मात्र आलोपालो गरी कक्ष्Fा सञ्चालन गरेका छन् । बाँकी सबै विद्यालय पूर्ववत्रूपमा सञ्चालित छन् । एउटा बेन्चमा चारजना विद्यार्थी बसेर पढिरहेका छन्, यसअघि छजना बसेर पढ्थे । अहिले भर्खरै विद्यालय सञ्चालन भएकोले विद्यार्थी सङ्ख्या बढ्न सकेको छैन ।

प्रस, पंचगावाँ/

पटेर्वासुगौलीमा सञ्चालित विद्यालयहरूमा पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भएको छैन।

बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूमध्ये आधाले पनि मास्क लगाउँदैनन् । विद्यार्थी सङ्ख्या बढी भएकोले सामाजिक दूरी पालना हुन सकेको छैन । साबुन–पानीले हात धुने व्यवस्था गरिएको छ तर कसैले पनि त्यसको प्रयोग गरेको पाइँदैन ।

प्रस, पर्सागढी/

पर्सागढी नगरपालिकामा अहिले कक्षा ८ देखि १२ सम्मको पढाइ भइरहेको छ । जसले गर्दा विद्यार्थीहरूको भीड हुन सकेको छैन । ठूला कक्षामा पढ्ने विद्यार्थीहरूमध्ये पनि ६० प्रतिशतले मात्र मास्क लगाउने गर्छन् । यहाँ पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन सकेको छैन ।

प्रस, ठोरी/

ठोरी गापामा सञ्चालित विद्यालयहरूमा पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भएको छैन । एकाध विद्यालयले कक्षा आलोपालो गरी सञ्चालन गरेका छन् तर धेरैजसोले पूर्ववत्रूपमैं बालविकासदेखि कक्षा १२ सम्म सञ्चालन गरेका छन् । मास्क लगाउने, साबुन–पानीले हात धुने र सामाजिक दूरी बनाउने कुरामा यहाँ पनि लापरवाही छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी नियम पालना गर्दा विद्यालय सञ्चालन हुन नसक्ने प्रअहरूको भनाइ छ । मास्कसम्मको निगरानी गर्न सकिने तर त्यसबाहेक अन्य गर्न नसकिने उनीहरूले बताए । तर मास्कको पनि निगरानी गरिएको छैन । नलगाउनेलाई मास्क लगाएर आउन कुनै पनि विद्यालयले कर गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here