काठमाडौं, २३ भदौ/रासस
सर्वाधिक पुरस्कार राशि भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलतालिका बुधवार सार्वजनिक गरिएको छ । आगामी असोज ९ गतेदेखि शुरू हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्गस ११ बीच हुने आयोजक इपिएल प्रालिले जनाएको छ ।
विभिन्न शहरका छ फ्रेन्चाइज टोलीको सहभागितामा हुने उक्त प्रतियोगिता अन्तर्गत असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन अर्काे खेल गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ ।
असोज २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।