प्रस, सेढवा, २१ भदौ/
जीराभवानी गाउँपालिका–२ सेढवामा रहेको मुसहर बस्तीमा सोमवार राहत वितरण गर्नुका साथै धारा हस्तान्तरण गरिएको छ ।
सामाजिक कार्यकर्ता प्रकाश थारूको पहलमा एन्टोभर नेप्लिज कमिटी युकेको आर्थिक सहयोग तथा भोलेन्टियर्स कप्र्सको सहकार्यमा कोभिड आपत्कालीन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत राहत वितरण गरिएको हो ।
मुसहर बस्तीका ६२ परिवारलाई प्रतिपरिवार २५ किलो चामल, १ किलो दाल, १ किलो नून, १ लिटर खानेतेल, नुहाउने र लुगाधुने साबुन, टुथपेस्टलगायतका सामग्री राहतस्वरूप वितरण गरिएको थियो ।
मुसहर बस्तीमा जडान भएको चापाकलबाट पिउनयोग्य पानी नआउने हुँदा अटोमेटिक धारा जडान गरी स्थानीयलाई हस्तान्तरण गरिएको थियो । भोलेन्टियर्स कप्र्स नेपालका अध्यक्ष दीपक चापागाईंले नयाँ धारा जडानको लागि रु २५ हजार प्रदान गरिएको बताए । उनले गरीब परिवारको लागि संस्थाले निरन्तर सहयोग गर्ने आश्वासन दिए ।
सामाजिक कार्यकर्ता थारूको अध्यक्षतामा भएको कार्यक्रममा कप्र्स नेपालका उपाध्यक्ष राधा मोटाङ्गी, सशस्त्र प्रहरी निरीक्षक केदार राई, थारू पत्रकार सङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश चौधरी, पत्रकार राजेन्द्रसिंह राजपूतलगायतको सहभागिता थियो ।