काठमाडौं, २१ भदौ/रासस

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । सो आयोजनाको कस्ल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कुल जडित क्षमता झन्डै दुर्ई हजार मेगावाट पुगेको छ ।

गत असार २१ गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा चल्न सकेको थिएन । उद्घाटनका दिन एकाध मिनेट सात मेगावाट मात्रै बिजुली उत्पादन गरेको आयोजना अनेकन प्राविधिक परीक्षणपछि बल्ल आइतवारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश बिजुलीमा आत्मनिर्भर भएको जानकारी दिए । “हाम्रो कुल जडित क्षमता दुर्ई हजार मेगावाटको हाराहारीमा पुगेको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ,” उनले भने । पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले गत असार २१ गते आयोजनाको उद्घाटन गरे पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन ।

बिजुली पूर्णरूपमा खपत हुन नसक्दा रातको समयमा झन्डै ४०० मेगावाट बिजुली खेर जाने अवस्था सिर्जना भएको छ । यस्तै, दिउँसोसमेत २०० देखि ३०० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ । जगेडामा रहेको बिजुली भारत निर्यातका लागि पहल भइरहेको भएपनि हालसम्म तार्किक निष्कर्ष निस्कन सकेको छैन । बिजुली खेर जाँदा प्राधिकरणलाई हाल दैनिक रु चार करोड बराबरको घाटा हुने गरेको छ । खेर गएको बिजुलीको खपत बढाउनका लागि भइरहेको पहलसमेत सार्थक हुन सकेको छैन ।

प्राधिकरणले माथिल्लो तामाकोशीको ४५६ मेगावाट र भोटेकोशीको ४५ मेगावाट बिजुली भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका १०८ आयोजनाले झन्डै ८१५ मेगावाट बिजुली उपलब्ध गराइरहेका छन् । वर्षायाम भएकाले पनि नदीमा जलस्तर उल्लेख्यरूपमा रहेकाले निजी क्षेत्रका आयोजनाले पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेका छन् ।

प्राधिकरणका आफ्नै २२ आयोजनाले बिजुली उत्पादन गरिरहेका छन् । मर्मतका नाममा लामो समयदेखि बन्द रहेको माथिल्लो त्रिशूली थ्री ए को ६० मेगावाट प्रणालीभन्दा बाहिर छ । प्राधिकरणको प्रणालीमा उपलब्ध बिजुलीमध्ये एक हजार ५४२ मेगावाट बराबरको बिजुली मात्रै खपत भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा कुल एक हजार ३५० मेगावाट बिजुली उत्पादन हुने गरेकामा माथिल्लो तामाकोशी जोडिएपछि क्षमता बढेर एक हजार ९०० मेगावाटभन्दा माथि पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी अनेकन हण्डर, ठक्कर बेहोरेर तोकिएको समयभन्दा झन्डै पाँच वर्ष ढिला सम्पन्न भएको हो । नेपाली लगानीमा निर्माण गरिएको आयोजनाको सुरुरूआती लागत ब्याजबाहेक रु ३५ अर्ब लाग्ने अनुमान गरिएको थियो।

प्राकृतिक विपद्, सीमानाकामा भारतको अवरोध, गोरखा भूकम्प, कोरोना कहर, सुरुङमा भएको डिजाइन परिवर्तन तथा कोरोना कहरका कारण लागत बढेर रु ८४ अर्ब पुगेको छ । त्यसमा ब्याज मात्रै रु ३२ अर्ब रहेको छ । सुुरुआती चरणमा रु १४ अर्ब बराबरको ब्याज रहने भनिए पनि त्यो बढेर रु ३२ अर्ब पुगेको हो । ब्याजबाहेकको लागत रु ५२ अर्ब पुगेको छ ।

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले हिन्दू तथा बौद्ध परम्परा अनुसार प्रकृतिको पूजा गरेर आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिए । आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको न्यून खिम्ती सबस्टेशनमा जोडिएको छ । सो सबस्टेशन हुँदै बिजुली ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेशनमा पु¥याइएको छ ।

आयोजनाले वार्षिकरूपमा दुर्ई हजार २८१ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्छ । त्यो भनेको कुल दुर्ई अर्ब २८ करोड युनिट बिजुली हो । आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकोले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । सन् १९९९ मा अस्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाका नामबाट पूर्वसम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिएका थिए । अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्राधिकरणले २०५७ देखि २०६० सालसम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो ।

आयोजनामा प्राधिकरणको ४१ प्रतिशत शेयर छ । आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट औसतमा तीन रुपैयाँँ ५० पैसा पर्छ । व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रुपैयाँँ ६ पैसा प्रतियुनिटमा खरीद गर्ने सम्झौता गरिएको छ । प्राधिकरण र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौता अनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरीद दर हालसम्मकै सस्तो हो । सोही कारणले प्राधिकरणलाई थप फाइदा हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here