- अनन्तकुमार लाल दास
वैशाख २०७८ देखि देशव्यापी लकडाउन प्रारम्भ भएपछि नेपालका समस्त विद्यालय बन्द गरिएका थिए । विद्यालय बन्द भएपछि लामो समयदेखि विद्यार्थीहरूले कैयन प्रकारका समस्याहरूको सामना गर्नुपरिरहेको छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको लागि स्थानीय सरकारको पहलमा कक्षा सञ्चालन गर्ने स्वीकृति प्राप्त हुँदा पनि धेरैजसो विद्यार्थी विद्यालयको यातायात नखुलेको हुँदा विद्यालय पुग्न सकिरहेका छैनन् ।
वीरगंजको सन्दर्भमा विद्यालयका सबै शिक्षक र कर्मचारीहरूलाई वैक्सिन लगाइसकिएको छ । जो केही कारणले बाँकी छन्, उनका लागि पनि वैक्सिनको ढोका स्थानीय सरकारको सहयोगमा खुला राखिएको छ । यहाँ कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि न्यून छ । यस परिवेशमा अब विद्यालयका सम्पूर्ण कक्षा सञ्चालन गर्ने दिशामा निर्णय लिनुपर्ने आवश्यकता छ ।
वीरगंज नजीक रहेको भारतको बिहार राज्यको शहर रक्सौलमा पनि विद्यालय, यातायात र कारोबारहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र सोही क्रममा वीरगंजमा पनि सिनेमा हलबाहेक होटल, विद्यालय र यातायात आंशिकरूपले र बाजार व्यवसाय पूर्ण रूपले सञ्चालनमा आइसकेको छ । यस कारण यहाँ पनि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डको पालन गरी विद्यालय खोल्न आपत्ति नहुनुपर्ने हो । सरकार पनि विद्यालय खोल्ने तयारीमा जुटेको छ र स्थानीय सरकारले पनि यसतर्फ गम्भीरता र चासो देखाउनु आवश्यक छ ।
चाखलाग्दो कुरो के हो भने विश्वभरिका विभिन्न देश, जो नेपालको तुलनामा कोरोना महामारीबाट नराम्ररी प्रभावित भएका छन्, उनीहरूले आफ्नो विद्यालय, खासगरी प्राथमिक विद्यालय खुला राखेका छन् । यी देशहरूमा पुर्तगाल, फ्रान्स, नीदरल्यान्डजस्ता युरोपेली देशहरू सामेल छन् । संयुक्त राज्य अमेरिकाको एउटा प्रान्त फ्लोरिडाले सितम्बर २०२० को अन्त्यमा व्यक्तिगत कक्षाको लागि विद्यालय खोलेको थियो र दोस्रो लहर आउँदा पनि विद्यालय बन्द गरिएको थिएन । त्यहीं नेपाल र भारतजस्ता मुलुकका विद्यालयहरू बन्द छन्, तर अन्य व्यवसाय खोल्ने अनुमति प्रदान गरिएको छ ।
विद्यालय बन्द गर्नु लागत बढी हुनु हो, किनभने उज्ज्वल भविष्य र खुशहाल जीवनस्तरको आशामा मानिसहरू आफ्ना छोराछोरीको शिक्षामा धेरै खर्च गर्छन् । महामारीपूर्व पनि विद्यार्थीहरूबीच खासगरी उच्च ग्रेडमा धेरै अन्तर थियो । कक्षा १० उत्तीर्ण गर्ने करीब आधी केटाकेटी सीपको मामिलामा करीब दुई वर्ष पछि छन् । लामो समयसम्म यदि विद्यालय बन्द रह्यो भने यो अन्तर झन् बढ्छ । यहींनिर विद्यालय बन्द रहनुको प्रभावले दुईवटा प्रश्न उब्जन्छ । पहिलो, यसको प्रभाव केटाकेटीहरूको भविष्यमाथि के पर्छ ? दोस्रो, के यसले आउने पीढीलाई गरीबीतर्फ धकेल्दैन ?
विडम्बना के छ भने सदरमुकाममा बस्ने गरीब परिवार जो पहिलो लहरको परिणाम हालसम्म भोगिरहेको छ, दोस्रो लहरमा धेरै हदसम्म भाइरसबाट खोपको कारण सुरक्षित छ, तर तेस्रो लहर आउने शङ्काले विद्यालय बन्द रहेको अवस्थामा सबैभन्दा बढी प्रभावित छ । विद्यालय बन्द रहँदा आफ्ना आमाबुवासँगै कुनै न कुनै कार्यमा संलग्न छन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने नेपालका गाउँका करीब दुईतिहाई केटाकेटीहरू विद्यालय छोड्न सक्छन् ।
यससँगै लामो समयसम्म विद्यालय बन्द रहँदा शिक्षा क्षेत्रको स्थिति झन् जटिल हुने सम्भावना पनि छ । उदाहरणका लागि वीरगंजका संस्थागत विद्यालयहरूमा नयाँ भर्ना दर, हालसम्मको सबैभन्दा तल्लो स्तरमा छ भने जहाँ कक्षा सञ्चालनमा छ, विद्यार्थीहरू शुल्क भुक्तानीमा ढिलाइ गरिरहेका छन् । कमोवेश सामुदायिक विद्यालयको नयाँ भर्ना प्रतिशत पनि यस्तै छ । लामो समयसम्म बन्द विद्यालयले ‘बालश्रम’ बढाएको छ जुन हाम्रो देशका लागि चुनौतीको रूपमा रहेको छ ।
नेपालका धेरैजसो शहरहरू जस्तै काठमाडौं, विराटनगर, वीरगंज, जनकपुर, पोखरा, बुटवल, भैरहवा, पाल्पा आदि ठाउँका विद्यालय बन्द हुँदा केटाकेटीहरूको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ । लास वेगासमा छात्र आत्महत्यामा भएको वृद्धिले जनवरी सन् २०२१ मा विद्यालय खोल्न बाध्य तुल्याएको थियो भने युनाइटेड किंगडमले एन्टिडिपेन्टेट्स लिने केटाकेटीहरूको सङ्ख्यामा ४० प्रतिशतको वृद्धि दर्ज गरेको थियो ।
निश्चितरूपले जीवन शिक्षाभन्दा धेरै महŒवपूर्ण छ, तर विद्यालयले शिक्षा मात्र प्रदान गर्दैन । यसले विद्यार्थीहरूमा आशाको सञ्चार पनि गर्दछ जुन भविष्यको लागि अति आवश्यक छ । लामो समयसम्म विद्यालय बन्द रहँदा हुने लागतलाई अवलोकन गरेर कोभिड–१९ को सन्दर्भमा विद्यालय खोल्ने जोखिमको गम्भीरतापूर्वक जाँच गर्नुपर्छ ।
सबैभन्दा पहिले हामी सबैले के सुखद अनुभव गर्नुपर्छ भने केटाकेटीहरूमा कोभिड–१९ को जोखिम वयस्कको तुलनामा धेरै कम छ र अन्य जोखिमको तुलनामा पनि धेरै कम छ, जसलाई केटाकेटीहरूले दैनिक जीवनमा सामना गर्नु नै पर्छ । अमेरिका र युरोपमा विद्यालय जाने १३७ मिलियन केटाकेटीमाथि गरिएको अध्ययनको आधारमा एडिनवर्ग विश्वविद्यालयका एकजना प्रोफेसरले के पाए भने यस आयु वर्गमा कोभिड–१९ मौसमी इन्फ्लूएन्जाको रूपमा आधीभन्दा पनि कम जोखिमयुक्त छ र अचानक चोट लागेर हुने मृत्युको तुलनामा २० गुणा कम छ । स्वीडेन, जहाँ विद्यालय खुलेका छन्, २ मिलियन केटाकेटीमाथि गरिएको एक अध्ययनले के देखाएको छ भने कोभिड–१९ का कारण एकजना पनि विद्यार्थीको मृत्यु भएको छैन ।
भारत मुम्बईको डैशबोर्ड डेटा अनुसार अन्डर–१९ का लागि कोभिड–१९ बाट सङ्क्रमित हुनेको मृत्युदर धेरै कम अर्थात् ०.००३ प्रतिशत छ । यसको तुलनामा भारतमा शिशु मृत्युदर ३ प्रतिशत अर्थात् १००० गुणा बढी छ र जापानमा शिशु मृत्युदर ०.१८ प्रतिशत अर्थात् ६० गुणा बढी छ । अर्को शब्दमा भन्ने हो भने विद्यालय जाने उमेर समूहका केटाकेटीहरूमा अन्य खतराको तुलनामा कोभिड–१९ बाट नगण्य जोखिम हुन्छ जसलाई हामीले सामान्यरूपमा लिन सक्छौं ।
तर चिन्ता के कुरा के छ भने नयाँ रूपमा आउने तेस्रो लहरले केटाकेटीहरूलाई प्रभावित गर्न सक्छ तर तथ्याङ्कलाई ध्यानपूर्वक अध्ययन गर्दा के थाहा हुन्छ भने पहिलो र दोस्रो लहरमा प्रभावित हुने मानिसहरूको उमेर समूह समान रहेको छ । यसबाहेक जून इङ्गल्यान्डको सन् २०२१ मा प्रकाशित ‘पब्लिक हेल्थ प्रतिवेदन’ले नयाँ संस्करण डेल्टा मूलको तुलनामा धेरै कम खतरनाक रहेको देखाएको छ जुन एउटा भाइरसको अपेक्षित विकास पथ हो ।
यहाँनिर के प्रश्न उठ्नु स्वाभाविक छ भने विद्यालयको सम्पूर्ण कक्षा खुले पछि के शिक्षक र अभिभावकलाई कोभिड–१९ बाट सङ्क्रमित हुने बढी खतरा छ ? पछिल्लो एक वर्षमा युरोपको विभिन्न क्षेत्रमा सावधानीपूर्वक धेरै वैज्ञानिक अध्ययन भएका छन् जसले कोभिड–१९ को प्रसारमा व्यक्तिगत कक्षाको भूमिका मापन गरेको थियो ।
त्यसको निष्कर्ष के छ भने अन्य ठाउँको तुलनामा विद्यालयमा कोभिड–१९ पैmलिने जोखिम धेरै न्यून छ । शिक्षकहरूको चिन्ता कम गर्न धेरै पछि भए तापनि सरकारले उनीहरूसँग अति आवश्यक कर्मचारी सरह व्यवहार गरेको छ र उनीहरूलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराएको छ । सङ्घ र स्थानीय सरकारको यस प्रयासको सराहना गर्नैपर्छ ।
यी सबैका बावजूद सबैको दृष्टिकोण फरक–फरक हुन सक्छ किनभने प्रत्येक मानिसको जोखिम र लाभको विश्लेषण बेग्लाबेग्लै हुन्छ । जुन विद्यार्थीसँग संसाधनको कमी छ, जसको आमाबुवालाई प्रत्येक दिन काम गर्न जानुपर्छ, उनीहरूको लागि व्यक्तिगत रूपले विद्यालय शिक्षा सर्वोपरि रहेको छ । जो आमाबुवा घरबाटै काम गर्न सक्छन् उनीहरूसँग आफ्नो सन्तानको लागि पर्याप्त संसाधन हुन्छ । उनीहरूले केही महीनाको लागि वा आंशिक वा पूर्णरूपले अनलाइन कक्षाको विकल्प छनोट गर्न सक्छन् ।
त्यहीं अर्कोतिर केटाकेटीहरूलाई खोप दिने कुरा पनि उठिरहेको छ । हालै कक्षा ११ र १२ का विद्यार्थीहरूले प्रवेशपत्र देखाई खोपको सुविधा पनि प्राप्त गरिरहेका छन् । कुनै पनि चिकित्सीय हस्तक्षेप, खासगरी केटाकेटीहरूको लागि सावधानीपूर्वक जोखिम–लाभमाथि आधारित हुनुपर्छ । अमेरिकामा युवाहरूको हृदय सुन्निने र एमआरएनए वैक्सिनबीच सम्भावित लिंकबारे बढिरहेको चिन्तालाई पनि ध्यानमा राख्नु उचित हुन्छ ।
लामो समयसम्म विद्यालय बन्द राखेर उनीहरूको भविष्यसँग खेलवाड गर्न सकिन्न । भाइरसभन्दा बढी भय केटाकेटीहरूको शिक्षा र सामान्य जीवनबीच रहेको छ । नीति निर्माताहरूले विद्यालयको सम्पूर्ण कक्षा सञ्चालन गर्ने दिशामा साक्ष्य आधारित निर्णय लिने खाँचो छ । अनि मात्र समाज र राष्ट्रको विकास सम्भव हुन्छ ।