अफगानिस्तान

0
120
  • कुमार रुपाखेती

अचेल विश्वभरि नै चियापसल, भट्टीपसलदेखि तारे होटलसम्म अफगानिस्तानकै चर्चा छ । नेपालले अफगानिस्तानमा गहिरिंदो सङ्कटबाट आफ्ना नागरिकलाई निकाल्न नसके पनि गोहीको आँसु चुहाइरहेको देखिन्छ ।

गनिमत छ कि केही छिमेकी राष्ट्रले कनीकुथी केही नेपालीको उद्धार गरिदिएका छन् । नेपाल सरकारले त्यहाँ १५ सयको हाराहारीमा नेपाली रहेको जनाए पनि एउटा अपुष्ट समाचार अनुसार अफगानिस्तानमा कम्तीमा १० हजार नेपाली नागरिक अलपत्र छन् । सरकारले त काबुलमा रहेका नेपालीहरूको मात्र तथ्याङ्क भेट्टाएको छ । राजधानी काबुलबाहेक अफगानिस्तानका अन्य भागमा अलपत्र परेका नेपालीहरूबारे सोधखोज गर्ने क्षमता नेपाल सरकारसँग छैन ।

भारतीय सुरक्षाकर्मीहरूले तुइनको तार चुँडाएर महाकाली नदीमा बेपत्ता पारिएका जयसिंह धामीको लाशसम्म पत्ता लगाउन नसक्ने नकच्चरोहरूले तालिबानको बोलबाला भएको अफगानिस्तानमा फसेका नेपालीहरूको सोधखोज गर्ने ह्याउ गर्छन् भन्ने कसैले विश्वास नगरे हुन्छ ।

सारा संसारमा युरोपेली शक्तिको आधिपत्य भएको बेला एशियामा चारवटा मुलुक मात्र स्वतन्त्र थिए । नेपाल, अफगानिस्तान, जापान र थाइल्यान्ड । विसं २०१८ को बेलग्रेडमा सम्पन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने २४ मुलुकमध्ये नेपाल र अफगानिस्तान पनि हुन् । त्यस बेलासम्म अफगानिस्तानमा राजतन्त्र थियो र राजा जाहिर शाह थिए ।

भनिन्छ, अफगानी राजा जाहिर शाह पश्तोभाषी मोहम्मदजाई कबिलाका थिए । राजा महेन्द्रको निमन्त्रणमा २०२७ सालमा राजा जाहिर शाह नेपाल आउँदा भव्य स्वागत गरिएको थियो । राजा महेन्द्रको भूमिसुधार कार्यक्रमबाट प्रभावित उनले नेपाल भ्रमणबाट फिर्ती भएपछि त्यहाँ पनि भूमिसुधार र जग्गाको हदबन्दी लागू गरे । त्यसपछि जाहिर शाहसँग क्रोधित अफगानी जमीनदार र राजाबीच मनमुटाव बढ्दै जाँदा २०२९ सालमा विदेश भ्रमणमा रहेका बखत राजा जाहिर शाहलाई अपदस्थ गरियो । त्यसपछि अफगानिस्तानको बर्बादी शुरू भयो ।

संसारको सबैभन्दा बढी अर्थात् ९० प्रतिशत अफिमको उत्पादन अफगानिस्तानमैं हुन्छ । हेरोइन, अफिम बेच्न बजार जानुपर्दैन, खरीदकर्ता उत्पादकको घरमैं पुग्छन् । भनिन्छ, त्यहाँ करीब १८५ हेक्टर जमीनमा अफिमखेती गरिन्छ । अफिमबाट मात्रै त्यहाँको सरकारले बर्सेनि २० देखि ३० मिलियन अमेरिकी डलर राजस्व पाउँछ । राजाको उन्मूलनपछि अफगानिस्तान लडाइँको मैदानमा परिणत भयो । अफगानिस्तानमा ३४ वटा प्रान्त छन् । अहिले पंजशीर घाटीबाहेक सबै क्षेत्रमा तालिबानी झन्डा फहराइएको छ ।

भनिन्छ, तालिबानको असली र खुङ्खार रूप ३१ अगस्तपछि देखिनेछ, जब यो दिन अमेरिकी सेनाले अफगानिस्तान छाड्छ । ३१ अगस्त अर्थात् अमेरिकी र नेटो सेना रहुन्जेल तालिबानले सरकार नबनाउने सङ्कल्प नै गरेको छ । अहिले अफगानिस्तानमा शासन गर्न तालिबानलगायत विभिन्न कबिला सक्रिय छन् । अफगानिस्तानमा अल्पसङ्ख्यामा रहेको हजारा जाति अहिले सङ्कटमा छ । किनकि तालिबानहरू हजारालाई देख्न सक्दैनन् । युवती र महिलाहरू आत्महत्या गर्ने तर तालिबानको हातमा नपर्ने बताउँछन् ।

तालिबानहरूले बारम्बार फलाक्ने सरिया कानून अनुसार पुरुषले दा¥ही पाल्नैपर्ने, महिला एक्लै हिंड्डुल गर्न नपाउने, महिलाले सम्पूर्ण जीउ ढाक्ने गरी बुर्का लगाउनुपर्ने, दश वर्षभन्दा माथिका बालिकाहरूलाई विद्यालयमा जान बन्देज गर्ने, गीत–सङ्गीत सुन्न नपाउनेलगायतका जङ्गली उर्दीहरू छन् । तालिबान शासनबाट अफगानिस्तानलाई मात्र नभई दुनियाँलाई नै खतरा छ । धेरैअघिदेखि अमेरिका बसिरहेकी भगोडा राष्ट्रपति अशरफ घानीकी छोरी मरियम घानी अहिले चर्चामा छिन् । उनले अहिले तालिबानविरोधी अभियान नै चलाएकी छन् र आफ्ना पिताको बचाउमा सक्रिय छिन् ।

सन् १९८९ सम्म संसारमा दुई महाशक्ति अमेरिका र रूसबीच शीतयुद्धको वातावरण थियो र सन् १९९१ को अन्त्यमा तत्कालीन सोभियत सङ्घ टुक्रिएर कमजोर भयो । टुक्रिनुअघि नौ वर्ष अफगानिस्तानमा रूसको हैकम चल्थ्यो । त्यस बेला अमेरिकी सहयोगमा ओसामा बिन लादेनहरू रूसी सैनिकसँग भिड्थे । यतिबेलासम्म तालिबान एउटा सानो गुट थियो, जसलाई अमेरिकाले हुर्काएर वटवृक्ष बनाउँदै थियो । आफ्नो मिशन पूरा गरेपछि सन् १९८६ मा रूसी सेनाले अफगानिस्तान त्याग्यो । त्यसपछि अफगानिस्तानमा मुजाहिद्दीन विद्रोहीको शासन चल्यो । अमेरिकाले त्यतिखेर ५० जनाबाट तयार गरेको तालिबान ‘इस्लाम खतरे मे है’ भन्दै बलियो बन्न थाल्यो ।

सन् १९९६ सेप्टेम्बर २६ मा तालिबानले त्यहाँ करीब पाँच वर्ष रजगज ग¥यो । अमेरिकाको ट्वीन टावरमा आतङ्की हमला भएपछि सन् २००१ सेप्टेम्बरको दोस्रो हप्ता ओसामा बिन लादेनलाई खोज्न अमेरिकी सैनिक अफगानिस्तान पस्यो । किनकि तालिबानहरूले अल–कायदाका प्रमुख ओसामालाई अफगानिस्तानमा संरक्षण दिएर राखेको अमेरिकाले ठोकुवा ग¥यो । तर त्यसको १० वर्षपछि ओसामा पाकिस्तानमा भेटिएर मारिए । त्यसपछिको दश वर्ष अर्थात् २० वर्षपछि यही ३१ अगस्तमा अमेरिकाले अफगानिस्तान पूर्णरूपमा छाड्दैछ । जर्ज डब्लु बुशको पालामा त्यहाँ पसेको सेना जो बाइडेनको पालामा फिर्ता हुँदैछ ।

तर फर्किंदा फर्किंदै अमेरिकाले आफ्नो आधुनिक सैनिक साजोसामान, गोलाबारुद र आधुनिक बन्दूकहरू त्यहाँ सक्रिय विभिन्न गुटलाई गोप्यरूपमा वितरण गरी गृहयुद्धमा फसाइ आफू टाटा–बाइबाई गर्दै त्यहाँबाट बाहिरिंदै छ । सबैले सामानरूपमा हतियार पाएपछि अफगानिस्तानमा अब तालिबानको हुम्बो–हुम्बो अलि मत्थर हुन थालेको छ । त्यही डरले तोकिएको समयसीमामा अफगानिस्तान छोड्न अमेरिकाले ऐडीचोटी एक गरेको छ ।

तालिबानले लडाइँ खत्म भने पनि अमेरिकी हतियारले सुसज्जित पंचशीरका लडाकूहरूले लडाइँ अहिले समाप्त नभएको बताउँदै आएका छन् । पञ्चशिरको नर्दन एलाइन्सलाई बलियो पार्न थुप्रै समूह यसमा आबद्ध भइरहेको समाचार बाहिरिनाले तालिबान अलमलिरहेको देखिन्छ । पंजशीर घाँटी राजधानी काबुलको मोटरबाटोबाट तीन घण्टा मात्र टाढा छ । अफगानिस्तानमा जेसुकै भइरहे पनि विश्व भने अमेरिकाको अगला कदमको पर्खाइमा छ भने रूस र चीन तालिबानको समर्थनमा देखिन्छन् ।

जतिसुकै सुधारिएको र खारिएको भनेपछि विगतमा पहिलो तालिबानी शासन भोगिसकेकाहरूले तालिबानमाथि विश्वास गर्न सकेका छैनन् । अस्ति भर्खरै तालिबानहरूले बागियान प्रान्तका प्रहरी प्रमुख हाजी मुल्ला आजकाईको हत्या गरी यसको पुष्टि गरे । घरघरमा पसेर अमेरिकी र नेटो सेनालाई सहयोग गर्नेहरूलाई खोजिरहेको देखिन्छ ।

कसैले भन्न सक्दैन, अफगानीहरूले कहिले बम, बन्दूकको धूवाँ र विध्वंशबाट छुटकारा पाउनेछन् ।

स्मरण रहोस्, १९१९ अगस्त १९ मा अफगानिस्तानमा महिलालाई मतदानको अधिकार र स्कर्ट, पाइन्ट लगाउने स्वतन्त्रता थियो र यही मितिमा ब्रिटिश इन्डियासँग सन्धि गरी अफगानिस्तान स्वतन्त्र राष्ट्र घोषित भएको हो । सन् १९१९ देखि १९७८ सम्म त्यहाँ अफगानीले शासन चलाए, सन् १९७८ पछि सन् १९८९ सम्म सोभियत सङ्घ र १९८९ देखि १९९६ सम्म अफगान सरकार र १९९६ देखि २००१ सम्म तालिबान । २००१ देखि २०२१ सम्म अमेरिका र अहिले अन्योल । सन् १९६५ मा त अफगानिस्तानमा दुई महिला सांसदसमेत थिए । हाम्रो कामना अफगानिस्तानले शान्तिको बाटो रोजोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here