काबुल, १२ भदौ/एएफपी
अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामिक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ । अमेरिकाले नान्गाहार प्रान्तमा गरेको सो कारबाईमा एउटा ड्रोन प्रयोग गरिएको शनिवार पुष्टि गरेको छ ।
यस अघि अमेरिकी सैनिकहरूले काबुल विमानस्थलमा सुरक्षा दिइरहेका समय बिहीवार विमानस्थल नजीकै १७० जनाको ज्यान लिने गरी उक्त समूहले आक्रमण गरेको थियो । काबुल विमानस्थल बाहिर उद्धारको पर्खाइमा रहेका महिला, पुरुष र बालबालिकाको भीडमा उक्त आत्मघाती विस्फोटन गराइएको थियो ।
आइएस–केले विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको बिबिसीले बताएको छ । सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भीडमा आत्मघाती विस्फोटन गराएको थियो ।
यसैबीच काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणलाई ध्यान दिंदै विमानस्थलको प्रमुख क्षेत्रभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन् ।
त्यस्तै वरिष्ठ तालिबानी अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जानेबित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन् । अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ ।
अमेरिकाले नान्गाहारमा गरिएको ड्रोन आक्रमणबारे प्राप्त ‘प्रारम्भिक सङ्केतहरूले’ इस्लामिक स्टेटका सदस्य मारिएका र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवार भएको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई नछाड्ने बताएको केही घण्टापछि उक्त कारबाही गरिएको थियो । इस्लामिक स्टेट समूहको एउटा सानो सङ्गठन रहेको उक्त समूह सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकू समूह हो । रासस