चिरञ्जीवी सापकोटा, ठोरी, ४ भदौ/
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ठोरी गाउँपालिका–२ सुन्दरबस्तीमा शुक्रवारदेखि नकआउट फूटबल प्रतियोगिता शुरू भएको छ । अमृत युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष किशोर तामाङले गरेका थिए । सो अवसरमा उनले फूटबल खेल ठोरीमा निकै लोकप्रिय रहेकोले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलमा अनुशासनले निकै महŒव राख्ने हुनाले खेल अवधिमा सबैलाई सोको पालना गर्न आग्रह पनि गरे ।
आयोजक क्लबका अध्यक्ष यादवराज कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अर्का वडाध्यक्ष रामप्रकाश कुँवर, निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत क्लबका सचिव शम्भु गुरुङले र सहजीकरण चिरञ्जीवी सापकोटाले गरेका थिए ।
आजको उद्घाटन खेलमा आयोजक टीम अमृत युवा क्लब पराजित भएको छ । थ्री स्टार युवा क्लब ठोरीले शून्यका विरुद्ध पाँच गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारका योगेश तामाङले एक र निखिल तामाङले चार गोल गरेका थिए । निखिल आजको खेलमा म्यान अफ दि म्याच घोक्षित भए ।
भोलि दुईवटा खेल हुने आयोजकले बताएको छ । पहिलो खेल वनशक्ति युवा क्लब ‘बी’ र युवा हरियाली क्लब हनुमाननगरबीच तथा दोस्रो खेल ड्याङ्डुङ्गे क्लब र वनशक्ति युवा क्लब ‘ए’बीच हुने अध्यक्ष कुँवरले बताए । प्रतियोगितामा १२ वटा टीम सहभागी छन् । फाइनल खेल भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको दिन हुने कार्यतालिका छ । विजेतालाई नगद ३० हजार र उपविजेतालाई नगद १५ हजारसहित शिल्ड, मेडल प्रदान गरिने अध्यक्ष कुँवरले बताए ।