महाभारतबाट सङ्कलन तथा अनुवाद
- उमाशङ्कर द्विवेदी
श्रुतायुद्धले युद्ध नगरिरहेका श्रीकृष्णमाथि गदाले वार गरेका थिए । त्यसैले त्यो गदा फर्केर गई श्रुतायुद्धलाई नै नष्ट पारिदियो । यस प्रकार वरुण देउताको कथन अनुसार श्रुतायुद्धको अन्त भयो र सबै योद्धा हेर्दाहेर्दै प्राणहीन भएर पृथ्वीमाथि लडे ।
श्रुतायुद्धलाई मरेको हेरेर कौरवका सम्पूर्ण सेना र सेनापतिको हिम्मत पस्त हुन पुग्यो । यसै बेला काम्बोजनरेशका शूरवीर पुत्र सुदक्षिण अर्जुनको सामु आए । अर्जुनले उनीमाथि सातवटा बाण हाने । ती बाण त्यस वीरलाई घाइते पार्दै पृथ्वीभित्र छिरे । अनि सुदक्षिणले तीनवटा बाण श्रीकृष्णमाथि हानेर पाँचवटा बाण अर्जुनमाथि हाने ।
अर्जुनले उनको धनुष काटेर ध्वजा पनि काटिदिए तथा अत्यन्त तिक्खर दुईवटा बाण हानेर उनलाई घाइते पारिदिए । यसबाट आहत भई सुदक्षिणले अत्यन्त कुपित भएर एउटा भयङ्कर शक्ति अर्जुनमाथि हाने । त्यस शक्तिले अर्जुनलाई घाइते पारेर आगोको फिलिङ्गोको वर्षा गर्दै पृथ्वीमाथि खस्यो तथा त्यस शक्तिको चोटबाट अर्जुनलाई गहिरो मूच्र्छा लाग्यो । चेत खुलेपछि अर्जुनले कङ्कपङ्ख भएको चौधवटा बाणबाट सुदक्षिणलाई तथा उसको घोडा, ध्वजा, धनुष र सारथिलाई पनि घाइते पारिदिए ।
अझ अरू धेरै किसिमका बाण हानेर उसको रथलाई पनि दुई टुक्रा पारिदिए । यसपश्चात् एउटा तीखो बाण हानेर अर्जुनले सुदक्षिणको छाती विदिर्ण पारिदिए । यसबाट उसको कवच चुडियो, अङ्गहरू छिन्नभिन्न हुन पुग्यो तथा मुकुट र अङ्गादि आभूषणहरू यत्रतत्र फिंजिए । फेरि कर्णी नामक बाण हानेर अर्जुनले सुदक्षिणलाई धराशयी पारिदिए ।
यस प्रकार श्रुतायुद्ध र सुदक्षिण मारिएपछि कौरव सेना क्रोधित भएर अर्जुनमाथि जाइलागे तथा अभिषाह, शूरसेन, शिबि र बसाति जातिका वीरहरूले अर्जुनमाथि बाण वर्षा गर्न थाले । अर्जुनले आफ्ना बाणहरूबाट उनीहरूमध्ये छहजार योद्धालाई सखाप पारिदिए । अनि कौरव सेनाले अर्जुनलाई चारैतिरबाट घेरामा हाले तर जसै उनीहरू अर्जुनको छेउमा गए, उत्ति नै खेर अर्जुनले आफ्नो गाण्डीव धनुषबाट बाण हानेर उनीहरूको टाउको र भुजाहरूलाई काटिदिए ।
उनीहरूको काटिएको शिर र भुजाहरूको रणभूमिमा बिस्कुनझैं लाग्यो । जतिबेला वीर धनञ्जय उनीहरूको यस प्रकारले संहार गरिरहेका थिए, त्यसै बेला महाबली श्रुतायु र अच्युतायु उनको सामु आएर युद्ध गर्न थाले । ती दुवै वीरले उनको दायाँ र बायाँ दुवैतिरबाट बाण वर्षाउन थाले र हजारौं बाण हानेर उनीहरूलाई ढाकिदिए ।
यसै बेला श्रुतायुले क्रोधित भएर अर्जुनमाथि बडो जोडले तोमर प्रहार गरे । त्यसबाट घाइते भएर अर्जुन अचेत हुन पुगे । यतिकैमा अच्युतायुले उनीमाथि एक अत्यन्त तीक्ष्ण त्रिशूल हाने । त्यस त्रिशूलको चोटले अर्जुनको घाउमा नूनको काम ग¥यो र उनी अत्यन्त घाइते भएको हुनाले आफ्नो रथको डन्डाको सहारा लिएर बसे ।
अनि अर्जुनलाई मरेको ठानेर कौरव सेनामा ठूलो कोलाहल मच्चियो । अर्जुनलाई अचेत भएको देखेर श्रीकृष्णले आफ्नो मधुर वाणीबाट उनलाई सचेत पार्न थाले । त्यसबाट बल पाएर अर्जुन बिस्तारै होशमा आउन थाले । यस प्रकार मानौं उनको नयाँ जन्म नै भयो । उनले हेरे कि श्रीकृष्ण र उनको रथ बाणहरूबाट ढाकिएको छ तथा दुईटै शत्रुहरू सामुमैं डटिरहेका छन् । उनले तत्काल ऐन्द्रास्त्रलाई प्रकट गरे ।
त्यसबाट हजारौं बाण निस्कन थाल्यो । उनले ती दुवै वीरमाथि प्रहार गरे । उनीहरूले हानेका बाणहरू पनि अर्जुनले हानेका बाणहरूबाट काटिएर आकाशमा उड्न थाल्यो । कुरै कुरामा अर्जुनको बाणबाट मस्तक र भुजाहरू काटिएको कारण ती दुवै महारथि धराशयी हुन पुगे । यस प्रकार श्रुतायु र अच्युतायुको वध भएको हेरेर सबैलाई बडो आश्चर्य भयो । यसपश्चात् अर्जुन उनीहरूका अनुयायी पचासवटा रथिलाई मारेर अन्य ठूला ठूला वीरहरूको संहार गर्दै कौरव सेनातर्फ लागे ।
श्रुतायु र अच्युतायुको वध भएको हेरेर उनीहरूका पुत्र नियतायु र दीर्घायु क्रोधित भई बाण वर्षा गर्दै अर्जुनको सामु आए । अर्जुन अत्यन्त कुपित भएर आफ्ना बाणहरूबाट क्षणमंै उनीहरूलाई यमलोक पठाइदिए । हात्ती जसरी कमलवनमा उत्पात मचाउँछ त्यसै प्रकारले अर्जुन कौरव सेनाहरूलाई सखाप पार्दै थिए । त्यति बेला कोही पनि क्षत्रिय वीरले उनलाई रोक्न सकिरहेको थिएन ।
यतिकैमा गजसेनासहित अङ्गदेशीय, पूर्वीय, दाक्षिणात्य र कलिङ्गदेशीय राजाहरूले दुर्योधनको आज्ञाले अर्जुनमाथि आक्रमण गरे । अर्जुनले गाण्डीव धनुषबाट हानेको बाणबाट तत्काल उनीहरूको शिर र भुजाहरूलाई काटिदिए । यस युद्धमा अनेकौं गजारोही म्लेच्छ सेना अर्जुनको बाणबाट बेधिएर धराशयी हुन पुगे ।
अर्जुनले आफ्नो बाणजालबाट सेनालाई आच्छादित पारेर मुण्डित, अर्धमुण्डित, जटाधारी एवं दा¥हीवाल आचारहीन म्लेच्छहरूलाई आफ्नो शस्त्रकौशलबाट काटकुट पारिदिए । उनको बाणबाट विचलित भएर सयकडौं पर्वतीय योद्धाहरू भयभीत भएर संग्रामभूमिबाट भागिहाले । यस प्रकार हात्ती, घोडा र रथहरूसहित अनेकौं वीरहरूको संहार गर्दै वीर धनञ्जय रणभूमिमा विचरण गरिरहेका थिए ।
अब राजा अम्बष्ठले अर्जुनको गतिलाई रोके । अर्जुनले बडो फुर्तीका साथ आफ्ना तीखा बाण हानेर उनको घोडाहरूलाई मारिदिए र उनको धनुष पनि काटिदिए । अम्बष्ठले एउटा भारी गदा हातमा लिएर बारम्बार अर्जुन र श्रीकृष्णमाथि चोट पु¥याउन थाले । अर्जुनले दुईटा बाण हानी गदासहित उनको दुवै भुजा काटिदिए र एउटा बाण हानेर उनको मस्तक पनि छप्काइदिए । राजा अम्बष्ठ यस प्रकार काटिएर धराशयी हुन पुगे । क्रमशः…