- विश्वराज अधिकारी
अहिले हामी अति आधुनिक युगमा बाँचिरहेका छौं । यो अति आधुनिक युगमा हामीले हरेक क्षेत्रमा अति विकास गरेका छौं । यातायातको क्षेत्रमा यति विकास गरेका छौं कि एक या दुई दिनमा विश्वको एउटा कुनाबाट अर्को कुनासम्म सजिलै पुग्न सक्छौं । हामी धरतीको यो कुनाबाट त्यो कुनासम्म पुग्न सक्ने स्थितिमा त छौं नै, आकाशमा पनि पुग्न सक्ने स्थितिमा छौं । चन्द्रमामा त पुगि नै सकेका छौं, अब मङ्गलग्रह पुग्ने प्रयासमा छौं । हुनत वायुयान (Rocket) मङ्गलग्रहमा पुगि नै सकेको छ । त्यहाँ अब मनुष्यको पदार्पण हुन मात्र बाँकी छ।
आकाशमाथि मानिस कसरी र कति परसम्म पुग्न सक्छ भन्ने कुराको उदाहरण विश्वविख्यात अमेरिकी कम्पनी अमेजनका मालिक एक कार्यकारी अधिकृत जेफ बेजोजले आफ्नै खर्चमा निर्माण गरेको ‘न्यु सेपार्ड रकेट’ (New Shepard Rocket) मा सवार भएर ११ मिनटसम्म अन्तरिक्षको भ्रमण गरेर देखाइदिएका छन् । संसारकै सर्वाधिक धनी जेफले उक्त रकेटको निर्माण आफ्नै खर्चमा गरेका थिए । र उक्त रकेटको उडान खर्च पनि आफैंले बेहोरेका थिए ।
जेफसहित अन्य तीनजना सवार उक्त रकेटलाई ‘ब्लू ओरिजिन’ ले जुलाई २०, २०२१ मा अमेरिकाको टेक्सास राज्यको एक स्थानबाट उडाएको थियो । त्यो रकेटले अन्तिरक्षमा केवल ११ मिनेटको यात्रा गरेको थियो तर पर्यटन व्यवसाय अन्तरिक्षसम्म पुग्न सक्ने सम्भावनाको ढोका खोलिदिएको थियो । एउटा चमत्कारी एवं नौलो व्यापारको सृजना भएको थियो ।
यो अति आधुनिक युगमा हामी मोबाइल फोनमा संसार देख्न सक्छौं । हाते घडीबाट कुरा गर्न सक्छौं । हाते घडीबाट आफ्नो स्थास्थ्यसम्बन्धी धेरै कुरा जान्न सक्छौं । धनी देशका नागरिकहरूसँग सवारीका लागि कारको अभाव छैन । केही देशका धनी नागरिकहरूसँग प्रतिव्यक्ति दुई वा तीन कार छन् । घरभित्र प्राप्त हुने जुन सुविधा छन् ती सबै सुविधा प्राप्त हुने सुविधायुक्त गाडी (recreational vehicle) हरूको सङ्ख्या पनि यो विश्वमा करोडौं छ ।
सङ्क्षेपमा भन्ने हो भने यो अति आधुनिक युगले हामीलाई अनेक चमत्कारी कुरा दिएको छ । अति आधुनिक युगले दिएका चमत्कारी कुराहरूले हाम्रो जीवन ज्यादै सरल पारिदिएको छ । भौगोलिकरूपमा निकै टाढा रहेको कसैसँग संवाद गर्न, हालखबर बुझ्न अब चिठ्ठी लेख्नुपर्दैन । फोन वा सामाजिक सञ्जाल प्रयोग गरेर जति पर रहेको व्यक्तिसँग पनि हामी चाहेको बेला, तत्काल कुरा गर्न सक्छौं, त्यो पनि तस्वीरसहित । घरको बत्ति बाल्नु वा निभाउनुप¥यो, रेडियो खोल्नु वा बन्द गर्नुप¥यो, उठ्नैपर्छ भन्ने छैन । एक खास यन्त्रलाई भनेपछि उक्त कार्य त्यो यन्त्र (जस्तै अलेक्सा) ले गर्छ । मानिसले गर्ने धेरै कार्य आजभोलि यन्त्रहरूले गरिरहेका छन् ।
यो आलेखमा अति आधुनिक युगजन्य, अति वैशय युगजनित सुविधाहरू चर्चा गर्न खोजिएको भने होइन । यो अति वैश्य युगले हाम्रो जीवनयापन कति सम्म सरल पारिदएको छ त्यसबारे चिन्तन गर्न खोजिएको पनि होइन । बरु यो अति आधुनिक युगलाई, यो अति वैश्य युगलाई के हामीले धान्न सक्छौं भन्नेबारे चर्चा गर्न खोजिएको हो ।
यो आधुनिक युग हाम्रो लागि जति सुविधायुक्त देखिएको छ त्यति नै कष्टकर पनि छ । यो आधुनिक युगमा बाँच्न हामीले धेरै कुरा गुमाउनुपर्ने स्थिति उत्पन्न भएको छ । यो आधुनिक युग हाम्रो लागि अति कठिन हुँदै गएको छ । यो आधुनिक युगको उपज कोरोना सङ्क्रमणले हाम्रो जीवनलाई कति सीमित पारिदिएको छ त्यो हामीले देखे–भोगेको कुरा हो । कोरोनाले गर्दा हाम्रो जीवनशैलीमा नै परिवर्तन आएको छ ।
मास्क लगाउँदा हाम्रो अनुहारको रूप बदलिएको छ । मास्कले गर्दा एकले अर्कालाई सजिलै चिन्न सक्ने स्थिति छैन । हामी स्वतन्त्र भएर हिंड्न सकेका छैनौं । हाम्रा गतिविधिहरू सीमित हुँदै गएका छन् । हामी सीमित भएर घरभित्र बस्न बाध्य भएका छौं ।
यदि पहिलेजस्तो यातायातको अति विकास नभएको भए, ठूला–ठूला शहरहरूमा र एउटै शहरमा करोडौं व्यक्तिहरूको बसोवास नभइदिएको भए, छोटो समया हजारौं माइलको यात्रा पूरा गर्न सकिने स्थिति नभएको भए कोरोना सङ्क्रमण यति छोटो समयमा तीव्र गतिमा संसारभरि फैलिने थिएन ।
अहिलेको अति विकासले कोराना सङ्क्रमण तीव्र गतिमा एक ठाउँबाट अर्को ठाउँ, एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिरहेको छ । भनिन्छ कोरोना भाइरस आधुनिक युगको उपज हो । यसको जन्म कुनै प्रयोगशालामा भएको हो । हुनत यस कुराको पुष्टि हुन बाँकी छ, तर करोना कुनै प्रयोगशालाबाट जन्मेको हो भन्ने कुरामाथि विश्वास गर्नेहरूको सङ्ख्या ठूलो छ ।
अति आधुनिक युगको कुप्रभावबाट जोगिन पुनः आर्थिक स्वावलम्बनको युगमा फर्किन्छौ कि भन्ने प्रश्न उठ्न थालेको छ । के मानव सभ्यता पुनः आर्थिक स्वावलम्बनको युगमा फर्किने हो ? यो प्रश्नले धेरै व्यक्तिको मष्तिष्क रिङाउन थालेको छ । माथिको प्रश्नको उत्तर खोज्नु पहिले आर्थिक स्वावलम्बन भनेको के हो र यो कहिले प्रचलित थियो, त्यसबारे चर्चा गरौं ।
प्रत्येक परिवार वा गाउँले आफूलाई उपभोगका लागि आवश्यक पर्ने वस्तु आफैं उत्पादन गर्ने र अन्य गाउँहरूप्रति हुने निर्भरता कम पार्ने प्रणालीलाई आर्थिक स्वावलम्बन भन्ने गरिन्छ । वन्यजीवन उपरान्त मानव सभ्यता लामो कालसम्म आर्थिक स्वावलम्बनको युगमा बाँचेको थियो । यो युगमा मानव सभ्यता अहिलेजस्तो जोखिममा थिएन । एक किसिमले अति सुरक्षित थियो । आवागमन ज्यादै कम भएकोले ठूला–ठूला रोग छोटो समयमा फैलिने स्थिति थिएन ।
साथै विज्ञानको अति विकास नभएकोले डरलाग्दा सूक्ष्म जीवाणुहरू उत्पादन गर्न सकिने ज्ञान पनि थिएन । ज्यादै ज्ञान नभएकोले मानव सभ्यता सुरक्षित थियो, शान्त पनि थियो । अहिलेको जस्तो मानव सभ्यता विनाश गर्ने जैविक हतियार उत्पादन गर्ने प्रयोगशालाहरू पनि त्यस बेला थिएन ।
आर्थिक स्वावलम्बनको युग अति सुरक्षित भएकोले मानव सभ्यता पुनः त्यस युगमा फर्किने हो कि भन्ने चर्चा वर्तमान स्थितिमा चल्नु असान्दर्भिक पनि होइन । हुनत कोरोना सङ्कटले हामीलाई एक किसिमले हजारौ वर्ष पूर्वको आर्थिक स्वावलम्बनको युगमा पु¥याइदिएको छ । हवाइ उडानहरू रद्द गर्नुपर्ने स्थिति, ठूला शहरका जोखिमयुक्त बसाइँ, भीडबाट पन्छिनुपर्ने स्थिति आदि आधुनिक युगको उपज कोरोनाको देन हो । यी सबै कुराहरू हेर्दा, कोरोना सङ्क्रमणले हामीलाई आर्थिक स्वावलम्बनको युगमा पु¥याइदिएको स्थिति छ ।
हामीले अति आधुनिक युगलाई धान्न सकिरहेका छैनौं । अति आधुनिक युगले हामीलाई सरलता त दिएको छ तर त्यो सरलता हामीले हाम्रो जीवनलाई अति जोखिममा पारेर प्राप्त गरेका छौं ।
कृषि युगलाई औद्योगिक युगले नराम्ररी थिचेको छ । मानिसहरू कृषिबाट विकर्षित भएका छैनन्। कृषिमा उद्योग र विज्ञानको प्रवेश भएर बालीहरूमा प्राणघातक विषहरू प्रयोग हुने प्रचलन बढेर गएको छ । हामीले उपभोग गर्ने अन्न, फलफूल, माछमासु, साग, तरकारी आदि सबै विषयुक्त छन् ।
हामीले विषयुक्त खानेकुरा खाएको हुनाले नै हामी अहिले अनेक रोगका शिकार हुन पुगेका छौं । हरेक राष्ट्रले प्रत्येक वर्ष ठूलो धनराशि जनस्वास्थ्यमा खर्च गर्नुपर्ने स्थिति छ । अधिक पैसा खर्च गरेर यदि ठूलो परिमाणमा औषधी प्रयोग नगर्ने हो भने प्रत्येक वर्ष प्रत्येक राष्ट्रमा अनेक रोग लागेर लाखौं मानिस मर्नुपर्ने स्थिति आउन सक्छ ।
यो आधुनिक युगले हाम्रो जीवनलाई ज्यादै जोखिमपूर्ण पार्दै लगेको छ । हाम्रो जीवनलाई सरल पार्न जति नयाँनयाँ सुविधा हामी थप्दै जान्छौं सोही मात्रामा हाम्रो जीवन उच्च जोखिमतिर अग्रसर हुँदै जान्छ । आज नेपालका वा यस्तै विकासशील राष्ट्रका गाउँगाउँमा इन्टरनेट पुगेको छ । तर अर्कोतिर कोरोना सङ्क्रमणले गर्दा मानिसहरू एउटा सानो घेराभित्र बस्न बाध्य भएका छन् । भर्चुअल मिटिङ (जुम वा सामाजिक सञ्जालबाट) बढेर गएको छ तर प्रत्यक्ष मानव सम्पर्क घट्दो छ । अहिले मान्छेहरू अति सुविधा उपयोग गरेर बाँचेका छन् । तर हरपल भयभीत छन् । कुन बेला कोरोना भाइरसले कसलाई माथि (मृत्युलोक) पु¥याउने हो अनुमानसम्म गर्न सकिने स्थिति छैन ।
अहिले फैलिएको यो डरलाग्दो कोरोना भाइरस सन् २०२४ सम्म नियन्त्रणमा आउने भविष्यवाणी विज्ञहरूले गरिरहेका छन् । त्यस्तो होला पनि, कोरोना सङ्कटको समाधान होला । सदाका लागि कोरोना नियन्त्रित भएर बस्ला, प्लेगका कीटाणुहरू नियन्त्रित भएर बसेझैं । तर कोरोनाजस्तै डरलाग्दो अर्को भाइरस आउने छैन भनी कसैले ठोकुआ गर्न सक्छ ? डरलाग्दा भाइरसहरू आउने क्रम जारी नै रहने छ । पर्यावरण विनाश, उच्च मात्रामा कार्बन विसर्जन, निरन्तर डरलाग्दा जैविक हतियारहरूको उत्पादनले वा अति आधुनिकताले, यो मानव सभ्यतालाई झन्झन् जोखिमतिर लग्नेछ । यो कुरा पक्का छ । यो कुनै कल्पना होइन ।
आधुनिक युगका अति जोखिमहरूबाट जोगिन मानव सभ्यता पुनः आर्थिक स्वावलम्बनको युगतिर फर्कने कुरा अहिलेको लागि कोरा कल्पनाजस्तो देखिए पनि भोलिका दिनमा यसको आवश्यकता बढेर जानेछ । मान्छेहरू अब अति सुविधाभोगी यो वैश्य युगबाट थाकेको प्रतीत हुन थालेको छ । मुद्राको विकासले त यो मानव सभ्यतालाई झनै कष्टकर तुल्याइदिएको छ ।