प्रस, वीरगंज, १२ साउन/

नेपालमा कोरोना महामारीको दोस्रो लहर कम हुँदै गएको र निषेधाज्ञा खुकुलो भएपछि पेट्रोलियम पदार्थको आयात बढेको छ ।

राजमार्गमा पेट्रोलबाट चल्ने सवारीसाधनहरू चल्न थालेपछि पेट्रोलको आयात बढ्न थालेको नेपाल आयल निगमको तथ्याङ्कले देखाएको छ । एक महीनाअगाडि वीरगंज नाकाबाट दैनिक बरौनीबाट ३३ वटा ट्याङ्कर पेट्रोल लिएर आउँथ्यो भने अहिले दैनिक ७० वटाभन्दा बढी पेट्रोल ढुुवानी गर्ने ट्याङ्करहरू आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोज दासले बताएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घका कोषाध्यक्षसमेत रहेका दासले पहिलेभन्दा अवस्था सहज हुँदै गएपछि इन्धनको आपूर्ति बढ्दै गएको बताए । उनका अनुसार पहिले साढे ६ सय केएल दैनिकरूपमा वीरगंजबाट भित्रिन्थ्यो भने अहिले दैनिक १४ सय केएल पेट्रोल मात्रै भित्रिरहेको छ।

पेट्रोल पाइपलाइनबाट नेपाल भिœयाउने सुविधा छैन । दुई वर्षअघि निर्माण गरिएको मोतीहारी–अमलेखगंज पाइपलाइनबाट अहिले डिजेल मात्र आइरहेको छ । पेट्रोल ल्याउन भनिए तापनि केही प्राविधिक गडबडीका कारण र पेट्रोल भण्डारण गर्ने अमलेखगंजमा भर्टिकल ट्याङ्की निर्माण नभएकाले अहिले भारतको बिहार राज्यको बरौनीबाट पेट्रोल ल्याउनुपर्छ ।

वीरगंजबाट करीब दुई सय किलोमिटर टाढाबाट पेट्रोल ढुवानी गर्दा व्यवसायीलाई महँगो पर्छ । एउटा ट्याङ्करमा करीब २० हजार लिटर पेट्रोल ढुवानी हुन्छ ।

त्यसैगरी, व्यवसायीहरूले पाइपलाइनबाट आएको डिजल अमलेखगंज डिपोबाट लोडिङ गरिरहेका छन् । वीरगंजमा पेट्रोल रु १२६.५० छ भने भारत, रक्सौलमा १६४.१९ र डिजेल वीरगंजमा रु १०९.५० र रक्सौलमा रु १५३.९४ रहेको छ ।

नेपालभन्दा भारतमा पेट्रोल रु ३७.६९ र डिजेल रु ४४.४४ महँगो भएकोले नेपालबाट पेट्रोल र डिजेलको ठूलो मात्रामा तस्करी हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here