प्रस, परवानीपुर, ६ साउन/
कोरोना महामारीको दोस्रो लहरले आयात–निर्यात प्रभावित हुँदा वीरगंजको श्रीसियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा असर परेको छ । कार्यालयले गत आव २०७७/७८ मा लक्ष्यभन्दा करीब १ अर्ब ५८ करोड १५ लाख ९५ हजार रुपियाँ राजस्व कम सङ्कलन भएको जनाएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलका अनुसार भन्सार कार्यालयले गत आवको लागि रु ४४ अर्ब १२ करोड २२ लाख १८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकोमा ९६.४ प्रतिशत अर्थात् रु ४२ अर्ब ५३ करोड २६ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ । निषेधाज्ञाले कार्यालय डेढ महीनाजति आंशिक चलेपछि राजस्व सङ्कलनमा कमी आएको भन्सार अधिकारीहरूले बताएका छन् ।
भन्सार कार्यालयले दिएको जानकारी अनुसार भन्सार महसूलतर्फ रु १८ अर्ब ४२ करोेड ५८ लाख ९६ हजार लक्ष्य पाएकोमा रु १६ अर्ब २१ करोड ४९ लाख २४ हजार सङ्कलन भएको छ । त्यसैगरी, मूल्य अभिवृद्धि करतर्फ रु २० अर्ब ४५ करोड ६ लाख ७३ हजार लक्ष्य पाएकोमा रु २३ अर्ब ७० करोड ६६ लाख ७७ हजार, अन्तःशुल्कतर्फ रु २ अर्ब ८१ करोड ७३ लाख ४३ हजार लक्ष्य पाएकोमा रु ३ अर्ब ९० करोड ७ लाख ८७ हजार, कृषि सुधार शुल्कतर्फ रु ५६ करोड ७६ लाख ३४ हजार लक्ष्य पाएकोमा रु २६ करोड ३० लाख ७२ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु ३ करोड १२ लाख ६७ हजार लक्ष्य पाएकोमा रु २ करोड ४९ लाख ७५ हजार राजस्व सङ्कलन भएको छ ।
कर अधिकृत कट्टेलले बताए अनुसार निषेधाज्ञा र बजार बन्दको कारण औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएकाले राजस्व सङ्कलनमा पनि कमी आएको हो । फलामजन्य सामान, सवारीसाधनको आयात, व्यापारिक प्रतिष्ठानको व्यवसायी सामानलगायतको आयातमा कमी आउँदा राजस्व सङ्कलनमा केही कमी देखिएको उनले बताए ।