नितेश कर्ण, वीरगंज, ५ साउन/
पर्सा जिल्लामा अगहनी धान ८० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । वर्षाको कारण केही खेतमा पानी जमेको र सो पानी हटेपछि बाँकी २० प्रतिशत खेतमा पनि धान रोपाइँ हुन सक्ने बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले बताए ।
उनले वर्षाको कारण खेत डुबानमा परेको र बीउलाई क्षति पुगेको हुँदा करीब सय हेक्टर धानखेती कम हुने बताए । पर्सा जिल्लामा ३५ हजार हेक्टर जमीनमा अगहनी धानखेती हुँदै आएको उनले बताए । अगहनी धान प्रतिहेक्टर ४.७३ मेट्रिक टन उत्पादन हुने गरेको बताए ।
यसैगरी, यस वर्ष भदैया धान ८ हजार ५५० हेक्टरमा लगाइएको र प्रतिहेक्टर ५ मेट्रिक टन धानखेती हुने गरेको उनले बताए । त्यसैगरी, चैते धान ३५ सय ५० हेक्टर जमीनमा लगाइएको र प्रतिहेक्टर ५.०१ मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।
उनले चैते धान १७ हजार ५ सय मेट्रिक टन, भदैया धान ४२ हजार ७५० मेट्रिक टन र अगहनी धान १ लाख ६५ हजार ५५० मेट्रिक टन गरी कुल २ लाख २८ हजार ५ सय ६० मेट्रिक टन धान उत्पादन हुने गरेको बताए ।