राधेश्याम पटेल, परवानीपुर, १२ असार/

मुलुककै प्रमुख भन्सार नाका वीरगंज भन्सारले चालू आवको ११ महीनामा करीब लक्ष्यअनुरूपको राजस्व सङ्कलन गरेको छ। लक्ष्यभन्दा करीब डेढ अर्ब कम राजस्व सङ्कलन गरेको छ।

वीरगंज भन्सारले चालू आवको साउनदेखि जेठसम्म ११ महीनासम्म रु १ खर्ब ५५ अर्ब ५२ करोड २६ लाख ७१ हजार लक्ष्य पाएकोमा ९९ प्रतिशत अर्थात् १ खर्ब ५३ अर्ब ९८ करोड ६२ लाख ४६ हजार राजस्व सङ्कलन गरेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी गराए। उनका अनुसार गत आव २०७६/७७ मा जेठ मसान्तसम्म ११ महीनामा रु १ खर्ब ७३ अर्ब ७९ करोड ६२ लाख १८ हजार लक्ष्य पाएकोमा ६४ प्रतिशत अर्थात् रु १ खर्ब ११ अर्ब ८६ करोड ६१ लाख २५ हजार मात्र राजस्व सङ्कलन गरेको थियो।

पोहोर कोरोना महामारीको कारण लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसकेपछि यस वर्षको लागि लक्ष्य पनि घटाइएको थियो। तर पनि पोहोरभन्दा करीब रु ५२ अर्ब बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

चालू आवको जेठ मसान्तसम्म ११ महीनामा भन्सार महसूलतर्फ रु ६० अर्ब १२ करोड १७ लाख ८९ हजार लक्ष्य पाएकोमा ९७ प्रतिशत अर्थात् रु ५८ अर्ब २८ करोड ९७ लाख ४ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ६४ अर्ब ३१ करोड १३ लाख ८१ हजार लक्ष्य पाएकोमा ८६ प्रतिशत अर्थात् रु ५५ अर्ब ४३ करोड ९३ लाख २९ हजार, अन्तःशुल्कतर्फ रु २० अर्ब ४० करोड २८ लाख १९ हजार लक्ष्य पाएकोमा ८५ प्रतिशत अर्थात् रु १७ अर्ब ३१ करोड १७ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ।

त्यसैगरी, पूर्वाधार करतर्फ रु ९ अर्ब ३९ करोड १५ लाख ८६ हजार लक्ष्य पाएकोमा ४४ प्रतिशत बढी अर्थात् रु १३ अर्ब ४८ करोड ५३ लाख ७३ हजार, सडक सुधार करतर्फ रु ७ अर्ब ८६ करोड ६० लाख ४ हजार, अग्रिम आयकरतर्फ रु २४ करोड ७१ हजार सङ्कलन भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ।

यस्तो छ वीरगंज भन्सारका अन्य सूचकहरू

वीरगंज भन्सारबाट हुने आयातमा २१ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ। गत आवको ११ महीनामा रु ३ खर्ब ७७ अर्ब ५३ करोड १५ लाख ६७ हजारबराबरको सामान आयात भएकोमा चालू आवको ११ महीनामा रु ४ अर्ब ५८ अर्ब ४ करोड ३७ लाख १८ हजारबराबरको सामान आयात भएको छ।

त्यसैगरी, नेपालबाट भारत तथा विदेशमा हुने निकासी (निर्यात) ५१.०३ प्रतिशतले वृद्धि भएको छ। गत आवको ११ महीनामा रु २९ अर्ब २९ करोड ३७ लाखबराबरको सामान निकासी भएकोमा चालू आवको ११ महीनामा रु ४४ अर्ब २४ करोड २३ लाखबराबरको सामान निकासी भएको छ।

वीरगंज भन्सारको चालू आवको ११ महीनाको व्यापारघाटा १८.८३ प्रतिशतले बढेको छ। गत आवको ११ महीनामा यस भन्सारको व्यापारघाटा ३ खर्ब ४८ अर्ब २३ करोड ७८ लाख २४ हजार थियो भने चालू आवमा व्यापारघाटा रु ४ खर्ब १३ अर्ब ८० करोड १३ लाख ८५ हजार रहेको छ।

वीरगंज भन्सार नाकाबाट गरिने वैदेशिक व्यापारमा २३.४६ प्रतिशतले वृद्धि भएको छ। गत आवको ११ महीनामा रु ४ खर्ब ६ अर्ब ८२ करोड ५३ लाखबराबरको वैदेशिक व्यापार भएकोमा चालू आवको ११ महीनामा रु ५ खर्ब २ अर्ब २८ करोड ६० लाखबराबरको वैदेशिक व्यापार भएको छ।

वीरगंज भन्सारको चालू आवको ११ महीनामा आयात/निर्यात अनुपात १९.६७ प्रतिशतले बढेको छ। त्यसैगरी, कुल व्यापारमा निर्यातको हिस्सा २२.५३ प्रतिशतले र आयात १.७३ प्रतिशतले गिरावट भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here