शिक्षकको भूमिका र दायित्व

0
287
  • अनन्तलाल दास

शिक्षाको प्रमुख आधार शिक्षकहरू नै हुन् । शिक्षकहरू विद्यार्थीको व्यक्तित्व निर्माता मात्र नभई राष्ट्र निर्माता पनि हुन् । कुनै पनि राष्ट्रको मूर्तरूप त्यस देशको नागरिकमा प्रस्फुटित हुन्छ । कुनै पनि राष्ट्रको विकासमा उसको भविष्यको नागरिकलाई शिक्षा दिने वा तयार गर्ने कार्यमा त्यस देशका शिक्षकहरूको अत्यन्त महत्वपुर्ण भूमिका हुन्छ ।

प्राचिन कालदेखि शिक्षकहरूको महत्वको गुणगान उनीहरूद्वारा प्रदान गरिने ज्ञानको कारणले नै हुँदै आएको छ । वर्तमान समाजमा शिक्षाको महत्व त छ, तर शिक्षकको प्रतिष्ठा र महत्व निरन्तर घट्दै गइरहेको छ । यसको लागि वर्तमान शिक्षा पद्धति र बदलिंदो सामाजिक परिवेश दोषी साथै शिक्षकको दोष पनि कम छैन । शिक्षालाई शिक्षकहरूले एउटा पवित्र, निस्स्वार्थ सेवाकर्मको साटो एक प्रकारको व्यवसाय बनाएका छन् । परिणामस्वरूप शिक्षकहरूको सम्मान पहिलेजस्तो छैन ।
यसो भनिराख्दा के पनि सत्य हो भने दक्ष शिक्षकहरूको काँध वा बलमा नै राष्ट्रलाई सुखी र समृद्ध बनाउने सौभाग्य प्राप्त हुन्छ । यदि आज पनि शिक्षकहरू निष्ठापूर्वक विद्यार्थीहरूको भविष्य निर्माणतर्फ अग्रसर हुन्छन् भने देशको भविष्य सपार्न धेरै बेर लाग्दैन ।

शिक्षकहरूको भूमिका विद्यार्थीहरूलाई पढाउनुसम्म सीमित नभई उनीहरूलाई सामाजिक जीवनसँग सम्बन्धित दायित्व बोध गराउनुको साथै समाज निर्माणको लागि योग्य बनाउनु पनि हो । भविष्यमा यस्तै विद्यार्थीहरू समाज वा राष्ट्र विकासका आधार बन्छन् । कसैले के भनेको पनि छ–शिक्षा व्यवस्थामा सबैभन्दा महत्वपुर्ण घटक शिक्षक हो । शिक्षाबाट समाजले जस्तो अपेक्षा गरेको छ र जुन उद्देश्य पूर्तिको चाहना राखेको छ त्यो शिक्षकमाथि निर्भर छ । शिक्षकहरूको दायित्व के हो भने उनीहरूले समाज र राष्ट्रको इच्छा र आकाङ्क्षा पूरा गरून् तर यो दायित्व निर्वहन हुन सकिरहेको छैन ।

भारतीय शिक्षाशास्त्री डा. ईश्वर दयाल गुप्तका अनुसार “शिक्षा प्रणाली जुनसुकै भए तापनि त्यसको प्रभावशीलता र सफलता त्यस प्रणालीमा सामेल शिक्षकहरूको कार्यमा भर पर्दछ किनभने नागरिकलाई शिक्षित गर्नु भनेको समाजको आकाङ्क्षा पूर्ति गर्नु हो ।” अर्थात् विद्यार्थीहरूको मानसिक विकासमा शिक्षकको महत्वपुर्ण भूमिका हुन्छ । एउटा सीपयुक्त शिक्षकले आफ्नो शिक्षण शैलीबाट विद्यार्थीहरूमा राष्ट्रिय भावना विकास गर्न सक्छ ।

राष्ट्रियताको भावले एउटा विद्यार्थीलाई एकातिर राष्ट्रभक्त र आदर्श नागरिक बनाउँछ भने अर्कोतिर राष्ट्रिय एकताको विकास गर्न सहयोग गर्दछ । यस कारण के भन्न सकिन्छ भने नेपालको भविष्य कक्षा कोठामा निर्माण भइरहेको छ । यस तथ्यले परोक्षरूपमा शिक्षकको भूमिकालाई पनि सुनिश्चित गरिरहेको छ । तर विडम्बना के छ भने विभिन्न बहानामा कक्षा कोठामा ताल्चा झुन्ड्याउने चलन बढिरहेको छ ।

कोरोनाकालमा त हामी सबैले बिर्सिसकेका छौं कि शिक्षक एउटा सशक्त फ्रन्ट वर्कर हो । यसको प्रत्यक्ष उदाहरण शिक्षा र शिक्षकसँग सम्बन्धित संस्थाहरूले पटकपटक कोरोना खोपका लागि गुहार लगाउँदासमेत उनीहरूको पालो चर्चामा पनि आएको सुनिंदैन । यो एउटा प्रतीक उदाहरण मात्र हो । यस उदाहरणबाट के प्रस्ट हुन्छ भने हामीले कस्ता नेतृत्व पङ्क्तिको निर्माण गरेका छौं ? हाम्रा नेताहरू, जसलाई हामी शिक्षकहरूले नै शिक्षा दिएका छौं, उनीहरू कस्ता छन् ? कोरोनाजस्तो महामारीमा पनि भ्रष्टाचार र महँगी चरम सीमा पार गरिसकेको छ । यस्तोमा हामी आफ्नो भूमिका र दायित्वप्रति सचेत भएनौं भने राष्ट्र नै दुर्घटनाग्रस्त हुनेछ ।

राष्ट्र विकासमा शिक्षकको भूमिकालाई केही प्रमुख कुराहरूबाट बुझ्न सकिन्छ । शिक्षा एउटा यस्तो प्रक्रिया हो जसले केटाकेटीहरूमा निहित आन्तरिक गुण र शक्तिलाई बाहिर ल्याउने काम गर्छ । एउटा दक्ष शिक्षकले नै केटाकेटीहरूमा निहित आन्तरिक गुण चिनेर त्यसलाई विकसित गर्न सक्छ र शिक्षकबेगर यो कार्य सम्भव हुँदैन ।

शिक्षासेवी गुडवर्थका अनुसार “व्यक्तित्व, मानिसको सम्पूर्ण व्यवहारको व्यापक विशेषताको नाउँ हो ।” आधुनिक कालमा विद्यार्थीहरूको आन्तरिक क्षमताको विकास हुनु पर्याप्त होइन । उनीहरूको बाह्य व्यक्तित्वको विकास पनि त्यतिकै आवश्यक हुन्छ । शिक्षकहरूले विद्यार्थीहरूको आन्तरिक र बाह्य दुवै खाले व्यक्तित्व निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्छ ।

मानिस एउटा सामाजिक प्राणी हो र उसलाई समाज अनुकूल बनाउने दायित्व शिक्षकको हो । शिक्षकले नै मानिसलाई समाजको आदर्श, मूल्य र मान्यतासँग परिचित गराउँछ । समाजप्रति हाम्रो कर्तव्य र अधिकार के हो भन्ने कुराको जानकारी शिक्षकबाट नै प्राप्त हुन्छ । विद्यार्थीहरूमा केही जन्मजात प्रवृत्ति हुन्छ । एउटा असल शिक्षकले ती प्रवृत्तिलाई शुद्ध गर्ने काम गर्छ, उनीहरूको मार्ग निर्देशन गर्छ र नियन्त्रित गर्ने काम पनि गर्छ ।

शिक्षकहरूको काम विद्यार्थीको मूल प्रवृत्तिमा सुधार गरेर उसलाई समाज र राष्ट्रसेवाको लागि प्रेरित गर्नु पनि हो । सँगसँगै शिक्षकले विद्यार्थीहरूलाई विभिन्न विषयको शिक्षा दिन्छ । शिक्षकले आफ्ना विद्यार्थीहरूलाई शिक्षा हासिल गरेपछि परिवार, समाज र राष्ट्रप्रति कर्तव्य पालन गर्ने योग्य बनाउँछ ।

विद्यार्थीहरूको चरित्र निर्माण तथा नैतिक विकासको जिम्मेवारी पनि शिक्षककै हुन्छ । राम्रो शिक्षाद्वारा नै केटाकेटीहरू सत्यं, शिवं, सुन्दरम्सँग साक्षात्कार गर्छन् र त्यसलाई आफ्नो  आचरणमा ल्याउने प्रयास गर्छन् । महात्मा गाँधीले भनेका छन्–“यदि शिक्षाले आफ्नो नाउँ सार्थक बनाउनु छ भने उसको प्रमुख कार्य नैतिक शिक्षा प्रदान गर्ने हुनुपर्छ । त्यहीं अर्कोतिर शिक्षकको कर्तव्य आप्mनो शिक्षाद्वारा विद्यार्थीहरूमा आदर्श नागरिकको गुण विकसित गर्नु हो, जसबाट विद्यार्थीहरूले आफ्नो अधिकार र कर्तव्यलाई सजिलै बुझ्न सकून् । भविष्यमा त्यसको समुचित उपयोग गर्न सकून् किनभने आदर्श नागरिकले नै आदर्श राष्ट्र निर्माणमा मुख्य भूमिका निर्वाह गर्न सक्छ ।

राष्ट्रियता र देशभक्तिको भावनाको सञ्चार एउटा आदर्श शिक्षकले नै आफ्नो शिक्षाद्वारा विद्यार्थीहरूमा प्रसार गर्न सक्छ । कुनै पनि राष्ट्रको स्वतन्त्र अस्तित्व उसको आदर्श नागरिकमाथि निर्भर हुन्छ । नागरिकहरूको सहयोगले नै राष्ट्र उन्नत र सशक्त बन्छ । प्रत्येक जागरुक नागरिक राष्ट्र निर्माणमा सहायक हुन्छ र शिक्षकले आफ्नो पुरुषार्थबाट अबोध बालबालिकाहरूलाई सुयोग्य नागरिक बनाएर राष्ट्र निर्माणमा आफ्नो दायित्व निर्वाह गर्छ । एउटा शिक्षकले विद्यार्थीहरूलाई संस्कृति र राष्ट्र गौरवबाट परिचित बनाउँछ । शिक्षकले आफ्नो मन, वचन, कर्म र व्यवहारले एउटा आदर्श प्रस्तुत गरेर सबै विद्यार्थीमा राष्ट्रभक्ति उत्पन्न गर्दछ । यस्ता शिक्षकबाट नै विद्यार्थीहरूलाई नयाँ दिशा प्राप्त हुन्छ र उनीहरू राष्ट्र निर्माणमा सहयोग गर्छन् ।

जीवनमा प्रगति मार्गमा अग्रसर हुनको लागि उचित दिशा–निर्देश आवश्यक हुन्छ । निर्देशन कैयन प्रकारको हुन्छ । जस्तै व्यक्तिगत निर्देशन, शैक्षिक निर्देशन र व्यावसायिक निर्देशन । व्यक्तिगत निर्देशनबाट मानिसको व्यक्तिगत समस्या समाधानमा मदत मिल्छ भने व्यावसायिक निर्देशनबाट मानिसको रुचि, योग्यता र क्षमता जाँचेर त्यस अनुरूप व्यवसाय छान्न सल्लाह दिइन्छ । एउटा शिक्षकले यी सबै विषयमा सही परामर्श दिएर देशको सफल नागरिक बन्न विद्यार्थीहरूलाई सहयोग गर्छ ।

एउटा कुशल शिक्षकले प्रत्येक विद्यार्थीलाई सबै विषयको सक्दो, सर्वोत्तम शिक्षा दिएर असल डाक्टर, इन्जिनीयर, न्यायिक एवं प्रशासनिक अधिकारी बनाउनुका साथै सभ्य मानिस पनि बनाउँछ । सामाजिक ज्ञानको अभावमा जहाँ एकातिर विद्यार्थीहरू समाजलाई सही दिशा प्रदान गर्न असमर्थ हुन्छन्, त्यहीं आध्यात्मिक ज्ञानको अभावमा गलत निर्णय लिएर आफुसँगै परिवार, समाज, देश र विश्वलाई पनि विनाशतिर लग्ने कारण बन्न सक्छन् । यस कारण शिक्षकको कर्तव्य हो प्रारम्भदेखि नै विद्यार्थीहरूको जग बलियो बनाएर सुन्दर, सभ्य समाज निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गरून् ।

यस कारण एउटा आदर्श शिक्षक त्यो हो जो आफ्नो विद्यार्थीको चौतर्फी विकासको लागि प्रयत्नशील रहन्छ । यसरी शिक्षक एउटा सुसभ्य एवं शान्तिपूर्ण राष्ट्र र विश्व–निर्माता हो । प्रत्येक शिक्षकले आफ्ना विद्यार्थीहरूलाई एउटा राम्रो र सुरक्षित भविष्य दिनको लागि, विश्व शान्ति र एकताको स्थापनाको लागि विद्यार्थीहरूको कलिलो मन र मस्तिष्कमा नेपाली संस्कृति र सभ्यताको रूपमा ‘वसुदैव कुटुम्बकम्’को बीउ छर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here