बजारहरू खुला रहनु अति आवश्यक

  • विश्वराज अधिकारी

वर्तमान युगलाई आधुनिक युग भनिन्छ । तर यो आधुनिक युगलाई वैष्य युग भन्नु बढी उपयुक्त हुनेछ । यो युगमा हरेक व्यक्ति खरीद–बिक्री कार्यमा अनिवार्यरूपमा संलग्न हुनुपर्ने हुनाले यो युगलाई वैष्य युग भन्नु अति उपयुक्त होला ।
वैष्य युगमा बहुसङ्ख्यक व्यक्ति खरीद र बिक्री कार्यमा लागेका देखिन्छन् ।

यो वैष्य युगमा बहुसङ्ख्यक व्यक्तिले श्रम बिक्री गर्छन् र श्रम बिक्री गरेर प्राप्त भएको आम्दानीले जीवन निर्वाहका लागि आपुर्तिलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु खरीद गर्छन् । अर्थात् यो वैष्य युगमा बहुसङ्ख्यक व्यक्तिले केवल श्रम बिक्री गर्छन् र उनीहरूको साथमा बिक्री गर्नका लागि श्रमबाहेक केही पनि हुँदैन । तर कृषि युगमा भने यस्तो थिएन ।

बहुसङ्ख्यक व्यक्तिले तरकारी, फलफूल , दूध, दही, अन्न आदि उत्पादन गर्थे । दैनिक आवश्यकताका वस्तुहरूका लागि अहिलेझैं अरूमाथि अति निर्भर हुन्थेनन् । जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तु आफैले उत्पादन गर्ने परिवारहरूको सङ्ख्या पनि ठूलो थियो । यस्ता परिवारहरू बजारमा पुगेर अनिवार्यरूपमा अहिलेको जस्तो श्रम बिक्री गर्न बाध्य थिएनन् । तर अहिले स्थिति यस्तो छ कि श्रम उत्पादन गरेर श्रम बिक्री गर्नेहरूको सङ्ख्या ठूलो छ भने आफु स्वयंले वस्तुहरू उत्पादन गरेर आत्मनिर्भरको अवस्थामा रहन सक्नेहरूको सङ्ख्या न्यून भएर गएको छ ।

यसलाई वैष्य युगको विशेषता वा कमजोरी पनि भन्न सकिन्छ । बहुसङ्ख्यक व्यक्तिहरू श्रम बिक्री गर्ने अवस्थामा रहनु वा बाँच्नका लागि श्रम नबेची नहुने अवस्था हुनु मानव सभ्यताको लागि राम्रो कुरा भने होइन । तर यस्तै भइरहेको छ ।
हामी वैष्य युगमा बाँचेका हुनाले श्रम बिक्री गर्नका लागि हामीसँग बजार हुनु आवश्यक छ । श्रम बिक्री गर्न आवश्यक पर्ने ती बजारहरू निरन्तर (सके दिनरात नै) खुला रहनु पनि उत्तिकै आवश्यक छ ।

बजार एक दिन पनि बन्द हुँदा न्यून आय भएका व्यक्तिहरू जोसँग बचतको रूपमा सानो परिमाणमा पनि रकम रहेको हुँदैन र जसले प्रत्येक दिन श्रम बेचेर खानुपर्ने हुन्छ, त्यस्तालाई एक दिन पनि बजार बन्द हुँदा जीवनमरणको समस्याले सताउन थाल्छ । धनी वा विकसित देशका गरीब नागरिकहरूसँग ‘क्रेडिट कार्ड’ हुने र आम्दानी नभएको बेला त्यही क्रेडिट कार्ड प्रयोग गरेर जीवन निर्वाहका लागि आवश्यक पर्ने अनेक वस्तु एवं सेवाहरू खरीद गर्न सक्ने स्थिति नेपालका अति निर्धन परिवारहरूसँग छैन ।

नेपालमा ‘क्रेडिट कार्ड’ सर्वसुलभ पनि छैन । यो कारणले गर्दा एक दिनको लागि पनि नेपालमा बजार बन्द हुँदा ठूलो समस्या उत्पन्न हुने गर्दछ । हजारौं व्यक्ति भोकभोकै हुने स्थिति उत्पन्न हुने गर्दछ । अर्कोतिर, भयावहको स्थितिमा रहेको कोरोना महामारी नियन्त्रण गर्न सर्वाधिक सजिलो तरीका बन्द व्यवस्था लागू गरिने भएकोले सङ्घीय, प्रान्तीय एवं स्थानीय सरकारहरू बन्द व्यवस्थालाई ‘रामबाण’को रूपमा प्रयोग गर्नमा व्यस्त रहेका देखिन्छन् ।

विभिन्न किसिमका खोज तथा अनुसन्धान गरेर बन्द व्यवस्थाका अन्य विकल्पहरू खोज्ने तर्फ जागरूक देखिंदैनन् । यो कारणले गर्दा, नेपालमा, यो बन्दको स्थितिमा, गरीबहरूलाई बाँच्न ज्यादै कठिन हुन पुगेको छ । बजारहरू बन्दको स्थिति लामो समयसम्म रहेमा गरीब परिवारहरूको जीवन थप कष्टकर हुनेछ । बजार कुनै पनि हालतमा बन्द हुनुहुँदैन ।

लामो अवधिसम्मका लागि त झनै हुनुहुँदैन । बजार खुला रहनु भनेको अहिलेको यो वैष्य युगमा मानव शरीरमा सास अविरल चले जस्तो हो । सुरक्षाका अनेक उपायको खोजी गरेर, कोरोना महामारी फैलिने स्थितिमाथि अङ्कुश लगाएर, बजार भने खुला राख्नु आवश्यक छ । बन्द गर्नुहुँदैन । अन्य मुलुकले कोरोना सङ्क्रमणको विस्तार रोक्न के कस्ता वैकल्पिक उपायहरूको खोजी गरे, व्यवहारमा ल्याए, हामीकहाँ निर्णय तहमा रहेका प्रशासक एवं जनप्रतिनिधिहरूले थाहा पाउनुपर्दछ । ती उपायहरूको खोजी एवं पहिचान गर्नुपर्छ । अध्ययन गर्नुपर्छ ।

यो कोरोना सङ्कट हामीजस्तो गरीब मुलुकको लागि दीर्घकालीन समस्या हो । त्यस कारण यो कोरोना सङ्कटसँग लड्न हामीले दीर्घकालीन रणनीतिहरू निर्माण गर्न आवश्यक छ । बजार बन्द नगरी, भौतिक दूरी कायम गरेर, अनेक किसिमका व्यापारहरू सञ्चालनमा राख्न सकिन्छ । बजारहरू खुला राख्न सकिन्छ । बजार कहिलै बन्द नगरी सदा सञ्चालनमा राख्न सामान्य नागरिकहरूले पनि स्थानीय सरकारहरूलाई सहयोग पु¥याउनुपर्दछ । नागरिकहरूले पनि उत्तिकै दायित्व निर्वाह गर्नुपर्छ । यो सरकारको दायित्व हो, हाम्रो होइन भन्नुहुँदैन ।

बजार, राष्ट्रिय अर्थव्यवस्थाको मुटु हो । यो कहिले पनि कुनै पनि हालतमा बन्द हुनुहुँदैन । बजार बन्द हुनु भनेको राष्ट्रिय अर्थव्यवस्था बिरामी हुनु हो । विगतमा अनेक राजनीतिक कारणहरू देखाएर राजनीतिक दलहरूले बजार बन्द गर्न लगाइसकेका छन् । राष्ट्रिय अर्थव्यवस्थालाई पटक–पटक बिरामी तुल्याइसकेका छन् । अहिले पनि कोराना सङ्क्रमण विस्तार रोक्ने नाममा बन्द व्यवस्थाका अन्य विकल्पहरूको खोजी नगरी केवल बजार बन्द गर्नु, कारोबार बन्द गर्नु उपयुक्त होइन ।

कोरोना सङ्क्रमणको दीर्घकालीन समाधानको लागि नेपालका प्रशासक एवं निर्णयकर्ताहरू जागरूक हुन उत्तिकै आवश्यक छ । यो सङ्क्रमणको दीर्घकालीन समाधानका लागि हामीले गर्नुपर्ने पहिलो र मुख्य कार्य हो, सम्पूर्ण देशवासी (उमेरको आधारमा खोप लिन अनिवार्य व्यक्तिहरू)लाई कोरोनाविरुद्धको खोप दिनु । हरेक नागरिकको पाखुरामा खोप लगाउनु । नेपालले धनी राष्ट्रहरूसँग निश्शुल्कमा कोरोनाविरुद्धको खोप प्राप्त गर्न सक्छ । विभिन्न धनी राष्ट्रबाट खोप प्राप्त गर्न प्रधानमन्त्री स्वयम् सक्रिय हुनुपर्छ । प्रमले जिम्मेवारी लिनुपर्छ । त्यसैगरी, स्वास्थ्यमन्त्री, विदेशमन्त्री एवं गृहमन्त्री पनि उत्तिकै सक्रिय हुनुपर्छ । धनी देशहरूले गरीब राष्ट्रका नागरिकहरूलाई निश्शुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आपूmहरू तयार रहेको केही दिन पहिले घोषणा गरेका थिए ।

केही दिन पहिले (जून ११–१३, २०२१) संयुक्त अधिराज्यको कोर्नवाल भन्ने स्थानमा जी–७ को ४७औं बैठक बसेको थियो । उक्त जी–७ (समूह–७)भित्र क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिका सदस्यका रूपमा रहेका छन् । यो समूहलाई विश्वका अति धनी औद्योगिक राष्ट्रहरूको समूह पनि भन्ने गरिन्छ । यो समूहमा रहेका सदस्य राष्ट्रका सरकार प्रमुखहरूले गरीब देशका नागरिकहरूलाई निश्शुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा उक्त बैठकमा गरेका थिए । नेपालले यो अवसरको फाइदा उठाउनुपर्छ । यी राष्ट्रहरूबाट खोप ल्याउन तत्काल पहल गर्नुपर्छ ।

कोरोना सङ्क्रमणको दीर्घकालीन समाधानका लागि गर्न सकिने अर्को कार्य कोरोनाविरुद्धको खोप नेपालभित्र नै उत्पादन गर्न सकिने व्यवस्था मिलाउनु पनि हो । अहिले कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेका फर्मास्युटिकल कम्पनीहरूसँग उत्पादन अधिकार खरीद गरेर वा उत्पादन गर्न शुल्क तिर्नुपर्ने भए शुल्क तिरेर पनि नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन गर्न सकिन्छ । गरीब राष्ट्रहरूले पनि आआफ्नो मुलुकमा कोरोनाविरुद्धको खोप उत्पादन गर्न सकून् र त्यसका लागि उत्पादन अधिकार दिन उत्पादक कम्पनीहरू तयार होऊन् भनी विभिन्न व्यक्ति एवं संस्थाहरूले ती उत्पादक कम्पनीहरूलाई अनुरोध पनि गरेका छन् ।

कोरोना सङ्क्रमणको तीव्र विस्तार रोक्न अल्पकालीन एवं दीर्घकालीन उपायहरू पत्ता लगाउन आवश्यक छ । केवल बन्द मात्र विस्तार रोक्ने उत्तम एवं प्रभावकारी तरीका भने होइन । लामो समयसम्म बन्द व्यवस्था कायम रहेमा राष्ट्रिय अर्थव्यवस्था ढल्ने मात्र होइन, भोकमरी समस्या पनि उत्पन्न हुनेछ । अहिलेको यो नाजुक घडीमा नेताहरूले सत्तातिर अर्जुनदृष्टि राख्नुभन्दा कोरोना सङ्कट समाधानका अल्पकालीन एवं दीर्घकालीन उपायहरूको मिलेर खोजी गर्नु विवेकपूर्ण कार्य हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here