प्रस, पर्सागढी, २७ जेठ/

पर्साका ग्रामीण क्षेत्रमा पनि माछामासुको मूल्य बढेको छ। गत लकडाउनमा माछामासुको मूल्य यथावत् रहे पनि यसपटकको निषेधाज्ञामा माछामासु महँगो भएको छ।

बोइलर कुखुराको मासु प्रतिकिलो रु ४ सय पुगेको छ भने खसीको मासु रु १ हजार प्रतिकिलो भएको छ। जहिले पनि वीरगंज महानगरभन्दा खसीको मासु ग्रामीण क्षेत्रमा रु १ सयभन्दा बढी सस्तो हुने गरेको थियो तर यसपटक महानगरसरह ग्रामीण क्ष्Fेत्रमा खसीको मासु रु १ हजार प्रतिकिलोमा बिक्री भइरहेको छ। वीरगंज महानगरमा गत लकडाउनमा रु ९ सय प्रतिकिलोमा बिक्री भएको खसीको मासु रु १ हजार पु–याइएको थियो। अहिले महानगरमा बोइलर कुखुरा रु ३ सयदेखि ३६० सम्म प्रतिकिलो बिक्री भइरहेको छ। नगवा क्षेत्रमा मात्र बोइलर कुखुरा सस्तोमा बिक्री भइरहेको छ भने अन्यत्र रु ३६० को हाराहारीमा बोइलर कुखुराको मासु बिक्री भइरहेको छ। ग्रामीण क्षेत्रमा भने रु ४ सय पुगेको छ।

यसैगरी, माछाको मूल्य पनि अहिले बढाइएको छ। पोखरीबाट रु २ सयदेखि २७५ प्रतिकिलोमा उठाएर माछा विक्रेताहरूले रु ४ सयदेखि ४५० सम्म प्रतिकिलो बिक्री गर्दैछन्। माछा जति वजनदार भयो, त्यति बढी मूल्य लगाइन्छ। एक किलोभन्दा बढीको माछा रु ४ सय र दुई किलोभन्दा माथिको माछा रु ४५० प्रतिकिलोमा बिक्री भइरहेको छ। प्रशासनले कायम गरेको दररेट अनुसार माछामासु बिक्री हुने गरेको छैन। विक्रेताहरूले आफूखुशी माछामासुको मूल्य बढाउने गरे पनि यसविरुद्ध नियमन गरेर दण्ड सजाय नगरिंदा विक्रेताहरूले जहिले पनि मनपरी गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here