जीतलाल श्रेष्ठ, निजगढ, २ जेठ/
विगत पाँच/सात वर्ष यताबाट चुरे फेद आसपासका बस्तीमा रहेका इनार सुक्दै गइरहेका छन् । निजगढ नपा-१२ रामथली, बुङ्गजोरलगायत स्थानमा भूमिगत पिउने पानीको स्रोत इनार सुक्दै गएपछि स्थानीयहरू चिन्तित भएका छन्।

स्थानीय मञ्जुश्री आधारभूत विद्यालय नजीकको इनार सुकेको सात वर्ष भयो । इनार सुकेपछि विद्यालयलगायत आसपासका बस्तीमा पिउने पानीको समस्या हँुदै आइरहेको स्थानीय समाजसेवी सोनामसिंह गोलेले बताए । बस्तीदेखि माथिको चुरे पहाडबाट पाइपमा ल्याएको पानी बस्तीका लागि पर्याप्त नहुने उनले बताए । वर्षामा पहिरोले पाइप क्षति पुर्‍याउँदा पानीको हाहाकार मच्चिने गरेको अर्का स्थानीय समाजसेवी नरेन्द्रमान लुङ्गवा बताउँछन् । यस अघि इनार मरम्मत गर्दा पानीको स्रोतले दुई/चार वर्ष थेगे पनि पछि पानीको सतह घटेको उनले बताए ।

पहिले २०/२५ फिटमा पानी आउने इनार सफा गर्दागर्दै ४०/५० फिट गहिरो भइसक्दा पनि पानीको स्रोत नभेट्दा अहिले सो इनार मरम्मत गर्न छाडिएको उनले बताए । चुरे फेद मानवबस्ती नजीकैको पूर्वी धापमा रहेको एउटा सानो इनारले गाईवस्तुलगायत अन्य प्रयोजनका लागि जेनतेन पानीको जोहो हँुदै आइरहेको बुद्धज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानबहादुर दोङ्ग बताउँछन् । उनले पानीको स्रोत संरक्षणमा बेलैमा ध्यान पुर्‍याउन जरुरी भएको बताए।

चुरे फेद र आसपासका क्षेत्र भावर क्षेत्र हो । जहाँ पानीको सतह लुक्छ । केही दूरी पर पुगेपछि पानीको सतह माथि उठ्छ । तर विगतभन्दा पानीको सतह दब्दै जानुले सङ्केत राम्रो नदेखिएको यहाँका बुढापाकाहरू बताउँछन् ।

राष्ट्रपति चुरे—तराई मधेस संरक्षण विकास समितिले यस क्षेत्रमा पोखरी, तालतलैया निर्माणका लागि काम गर्दा केही हदसम्म पानीको स्रोत संरक्षण हुने तर ती स्थानमा अहिलेसम्म ध्यान नगएको स्थानीयको गुनासो छ । स्थानीय तह, वन कार्यालयलगायत सम्बन्धित निकायहरूले यस क्षेत्रमा पनि पोखरी निर्माणका लागि बजेट विनियोजन गरी काम गर्न पहल गर्नुपर्ने यहाँका मानिसको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here