ओमप्रकाश खनाल

सरकारी तथ्याङ्क अनुसार वैशाख महीनामा नेपालमा कोरोनाका डेढ लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिए । सङ्क्रमित सङ्ख्या साढे ४ लाखको नजीक पुगिसकेको छ । यो एक महीनामा १ हजार ६ सय ८ जनाको कोरोनाका कारण निधन भयो । वैशाख अन्त्यसम्म यो सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ६ सय ६९ पुगेको छ । अस्पतालहरू सङ्क्रमितको चाप थेग्न नसक्ने अवस्थामा पुगेका छन् । स्वास्थ्य प्रणाली असफल भइसकेको छ ।

अस्पताल परिसरमैं राखेर सङ्क्रमितको उपचार गरौं न त भन्दा त्यो पनि सम्भव भइराखेको छ्रैन । अस्पतालमा अक्सिजनको अभाव छ । अस्पातालहरूले भर्ना लिन नमानेका समाचार आइराखेका छन् । अस्पतालमात्र होइन, अक्सिजन उद्योगमा पुगेर जनता अक्सिजनका लागि बिलौना गरिराखेको छ । महामारी यो हदसम्म पुगिसक्यो कि मानिस न्यूनतम मानवता बिर्सिने हालतमा पुगिसकेको छ ।

एउटा जिल्लाका उद्योगले अर्को जिल्लाका अस्पताललाई अक्सिजन दिन नसक्ने बताइराखेका छन् । महामारीले मानिसलाई स्वार्थको यो सीमासम्म पुर्‍याइदिएको छ कि बिरामीका आफन्तले अक्सिजनका सिलिन्डर खोसाखोस गरेका दृश्य समाचार र सामाजिक माध्यममा देखिन थालेका छन् । एक सर्को सास फेर्न अक्सिजन नपाएर जनताले ज्यान गुमाइराखेको छ । जनता जीवन र मृत्युबीच यस्तो सङ्घर्ष गरिराख्दा सत्ता जोगाउने तिकडममा सफलता पाएर तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीको आसनमा उक्लिन सफल प्रधानमन्त्री केपीशर्मा ओली बिरामीलाई ॅआवश्यकताका आधार’ मा अक्जिसन उपलब्ध गराउने बताइराखेका छन् । सङ्क्रमितले उपचार त परको कुरा सास फेर्न एक मुठी अक्सिजन नपाएर ज्यान गुमाइरहेका कारुणिक दृश्य ॅआवश्यकता’ पुष्टिका लागि पर्याप्त छैन ? कि सत्तामा पुगेपछि नेतृत्व कान नसुन्ने र आँखा नदेख्ने हुन्छ ? यतिमात्र कहाँ हो र ? प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई कोरोना नियन्त्रणमा रहेको मात्र बताएनन्, जनताकै लापरवाहीका कारण सङ्क्रमण फैलिएको लज्जाजनक बेलिबिस्तार लगाउन पनि पछि परेनन् । प्रधानमन्त्री यो कुरा किन बिर्सिन्छन्, कोरोनाको दोस्रो लहरले दैलोमैं आएर घण्टी बजाइसक्दा उनी र उनको दम्भको वरपर घुमेको राजनीति, शक्ति प्रदर्शनका नाममा हजारौं जनता सडकमा उतारेर कोरोनालाई निम्तो दिइराखेको थियो । एजेन्डा र उद्देश्यमा चिप्लिएपछि राजनीतिले धर्मको पुच्छर समात्छ, राम मन्दिरको लहडमा निकालिएका रथयात्राका नाममा भेला पारिएको हजारौं मानिसको भीड कोरोना फैलाउने माध्यम बनेन ?

जनता अस्पतालमा एउटा बेड र अक्सिजनको लागि तडपिइराखेका बेला देशको राजनीति चाहिं सत्ताको जोडघटाउमा मग्न भएको दृश्य हेर्न अभिशप्त जनता शायद नेपालीबाहेक अन्य हुन सक्दैन । देशलाई महामारीले घेरा हालिसक्दा प्रधानमन्त्रीको ध्यान राष्ट्रिय राजनीति र सत्ता आफ्नो पकडमा राख्नमैं सीमित भयो । ओलीविरोधी दलहरू महामारीप्रति सरकारलाई सचेत बनाउन होइन, ओलीलाई कसरी पदबाट हटाउन सकिन्छ भन्नेमैं केन्द्रित भए ।

सरकारका स्वास्थ्य संयन्त्रहरूले कोरोनाबाट ज्यान गुमाउनेको विवरण सार्वजनिक गरिराखेका छन् । स्वास्थ्य संरचानाले धान्न नसक्ने अवस्थामा पुगिसकेको बताइराखेका छन् । त्यति नै बेला मुलकको राजनीतिको प्राथमिकता सरकार बनाउने र ढलाउनेमा एकोहोरिएको दृश्य हामीले देख्यौं । यो महामारीमा राजनीतिक ध्यान अस्पतालको अवस्था र व्यवस्थापनमा अपेक्षा गरिन्छ । तर, नेताहरू सत्ताको अङ्कगणितमा ज्यान फालेर नेतानेताका दैलो र रिसोर्टमा दौडिराख्दा जनता अस्पताल चहार्दाचहार्दै उपचार नपाएर जीवन फालिराखेको हुन्छ भने त्यो राजनीति कसका लागि ? जनताको लागि कि सत्ताको स्वार्थ सोझ्याउनका लागि ? यसलाई राजनीति मान्न सकिन्न, यो त राजनीतिको नाममा निकृष्ट मति र त्यसले उत्पादन गरेको लज्जाजनक बेथिति हो । यो राजनीतिको आवरणमा जनतामाथि गरिएको त्रूmर अपराध हो । एउटा बेड र एक सिलिन्डर अक्सिजनको लागि अस्पताल र उद्योगमा चक्कर काटेर पनि प्रियजनको जीवन जोगाउन नसकिराखेको जनतालाई केपी ओलीको कुर्सी जोगियोस् कि त्यो कुर्सीमा देउवा वा प्रचण्ड वा नेपाल वा अरू कोही उक्लियोस्, त्यसले के फरक पार्दछ ?

हामीले देख्यौं/पढ्यौं, देशभर एकै पटक ३ सय ६५ वटा अस्पतालको शिलान्यास भयो । बालुवाटारबाटै दजैनौं सडक योजनाहरू शिलान्यास गरिए । बजेट न योजनाका शिलान्यास भए । अर्बौ रुपियाँ लगाएर धरहरा ठड्याइएन मात्र, हजारौं मानिसको भीड जम्मा गरेर उद्घाटनको नाममा कोरोना फैलाउने काम भयो । तर, धरहरा बनाउने पैसाले सबै नेपालीलाई कोरोनाको खोप पुर्‍याउन सकिन्थ्यो । सरकारले जनताको जीवनमाथि गरिराखेको योभन्दा भद्दा मजाक र गैरजिम्मेवारी अरू के हुन सक्दछ ? भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक महŒवाकाङ्क्षा र हेलचेक्र्याइँको मूल्य भारतीय जनताले चुकाइराखेको छ । हामीकहाँ प्रधानमन्त्री ओलीको बहुलठ्ठीपनको कहर जनताले भोगिराखेको छ ।
एउटा सामान्य चेतना भएको मानिसले समेत कोरोना महामारी नियन्त्रणका उपायमा सरकार उदासीन बनिरहेको भेउ पाइसकेको अवस्थामा सरकारले महामारीलाई किन मजाक बनायो ? यो बुझिनसक्नुको विषय बनेको छ । युरोपमा कोरोनाको दोस्रो लहर शुरू हुँदा नेपाल पहिलो महामारीबाट बाहिरिंदै थियो । ढिलोचाँडो त्यो कहर नेपाल आउने चेतावनी जनस्वास्थ्यका विज्ञहरूले दिइराखेका थिए । छिमेकी भारतमैं दैनिक ३ लाखको हाराहारीमा सङ्क्रमित थपिंदा खुला सिमाना जोडिएको नेपालले तत्काल सावधानीका उपाय गर्नुपर्ने सामान्य चेतको कुरा थियो । सरकार र देशको राजनीति भने यही बेला ठाउँठाउँमा जनता उतारेर शक्ति प्रदर्शन, रथयात्रा र धरहरा उद्घाटनमा मग्न थियो । अहिले देशका २/४ जिल्लाबाहेक सबैतिर निषेधाज्ञा छ । तर, भारतीय सीमासित जोडिएका क्षेत्रमा होल्डिङ सेन्टर राख्ने निणर्य अझै अलपत्र छ ।

विगतको महामारीबाट सिकेको पाठसमेत सरकारले यसरी बिर्सियो कि कोरोना महामारी भन्ने कुनै चीज नै थिएन । यसो त विगतमा महामारी सरकारको योजना र सक्रियताले नियन्त्रणमा आयो कि, कसरी ? सरकार महामारीप्रति कति संवेदनशील छ भन्ने बुझ्न त हिमाल र पहाडको स्वच्छ हावा र पानीले प्रतिरोधी क्षमता बलियो भएकोदेखि बेसार पानी र अम्बापाते उपायहरू नै पर्याप्त हुन सक्छ । सरकारको आत्मघाती अभिव्यक्ति र गैरजिम्मेवारीको मूल्य जनताले आफ्नो जीवन गुमाएर चुकाउनुपरिराखेको छ ।

एउटा सामान्य व्यक्ति महामारीमा आफन्त र प्रियजन गुमाएको पीडा र चित्कार सुनेर भावुक भइराखेको छ । छटपटिइराखेको छ, तर लाचार छ । स्रोत साधनको तालाचाबी हातमा लिएर बसेको सरकार नसुन्ने र नबुझ्ने बनेर लापरवाह बनेको छ । महामारी नियन्त्रणमा सबै पक्षको सहयोग र सहकार्य चाहिन्छ भन्ने भनाइ सरकारको लापरवाही लुकाउने औजारमात्र बनिराखेको छ । जनताले त सरकारको कदमलाई सहयोग गर्ने न हो । सरकारले घरबाट बाहिर ननिस्क भन्यो, जनता भोकै आआफ्नो घरमा थुनिएको छ । सरकारले उपचार दिन सक्दैन, यतिसम्म कि सास फेर्न अक्सिजन पनि दिन सक्दैन । बिरामी सास फेर्न नपाएर छट्पटिएर मर्छ । आफन्त निरीह बनेर बिलौना गरिराखेका छन्। देशका प्रधानमन्त्री पदभार ग्रहण गरिराख्दासमेत ॅआवश्यकताका आधार’ मा अक्सिजन उपलब्ध गराइने छ भन्दै जिम्मेवारीबाट पन्छिजे शब्दजाल बुनिराखेका भेटिन्छन् । अझै पनि सरकार भन्दैछ, महामारी नियन्त्रणमा सबैको सहयोग चाहिन्छ ? धिक्कार छ सरकार, धिक्कार राजनीति !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here