नेपालमा राजनीतिको गति बुझ्न जसलाई पनि हम्मे पर्छ । यहाँ सूत्रानुसार कुनै समीकरण बन्दैन । कुन बेला के भइहाल्छ संलग्न पात्रलाई पनि थाहा हुँदैन । बेला बितिसकेपछि देशको ठूलो राजनीतिक दलमा बुद्धि आउन थालेकोजस्तो लाग्दछ, आओस् । किनकि एक त देश सानो, त्यसमा राजनीतिक गर्नेहरूको असङ्ख्य ताँती । व्यक्ति मात्र होइन, व्यक्तिपिच्छे दलहरू । धेरै दलहरू त जनताद्वारा उच्छिष्टमैं दरिइसके । बितेको निर्वाचनले उच्छिष्टहरूलाई तर लगाएर एउटा गतिलो राजनीतिको मार्ग प्रशस्त गरिदिएको थियो । तर उच्छिष्ट खाइपल्केकाहरूलाई किन पच्थ्यो । आफ्आफैंमा बाझेर अगति परे । हगी सक्यो, बाटो देख्यो भनेजस्तै अहिले नेकपा एमालेमा सहमति बन्ने छाँट देखिएको छ । यो सकारात्मक सन्देश हो । यसो भएमा नेकपा एमालेको शक्ति एकत्रित रहन्छ । नेकपा एमाले शक्तिशाली बनिरहनु देशका लागि आवश्यक छ । यसको अर्थ अन्य दलहरू निर्बल बनून् भन्ने होइन, अपितु जनताले अभिमत दिएर शक्तिसम्पन्न बनाएको सबै दलहरू एकजुट होऊन्, देशमा राम्रो र सशक्त सरकार बनोस् र त्यसलाई नियन्त्रण गर्न शक्तिशाली प्रतिपक्ष्ँ तयार होस् भन्ने अभीष्ट हो ।
दलहरू कमजोर बने भने उच्छिष्टहरूको राइँदाइँ चल्न थाल्छ । उच्छिष्टलाई सहयोगी र भोज्य बनाउँदा चानचुने होइन, नेपाली राजनीतिमा कोभिड-१९ जस्तै सङ्क्रमण सर्छ भन्ने कुरा विगत लामो समयसम्म हामीले भोगिसकेका छौं । राजनीति र सत्ता ताक परे… को भावार्थमा अनुवाद हुनुहुँदैन । यो ठोस, दृढ र जनप्रियताको कसीमा खरो साबित हुनुपर्छ। बितेको निर्वाचनले त्यस्तै व्यवस्था गरिदिएको थियो । तर केही सीप लागेन । कुकरको पुच्छर सदा बाङ्गो रहन्छ भन्ने कुरा नपत्याएर एकजना हठीले बार्ह वर्षसम्म ढुङ्ग्रोमा कसेको थियो रे १ तर परिणाम उही बाङ्गोको बाङ्गै । नेपाली राजनेताहरूको चरित्र त्यही किसिमको छ । मानिसले त एकपटक ठोकर खाएपछि चेत्छ, तर हाम्रा राजनीतिबाजहरू चेत्दैनन् । खासमा उनीहरूमा राजनीतिक चेत नै नभएको हुनुपर्छ । यस्तोमा एक मात्र त्राणदाता मतदाता नै हो । उसले यी दुरवस्थाको कारण केलाएर मतदान गर्ने हो भने मात्र सम्भव होला, अन्यथा नेपाल र नेपाली टोल-टोलका कुन चाहिं बाझेझैं बाझिरहने दलहरू र नेताहरूको चञ्गुलमा परेर सदाकाल निरिहताको भारीले थिचिइरहने छन् ।
आज एमालेका नेताहरू जुन सहमतिमा पुग्न खोजिरहेका छन्, त्यो हिजो भइदिएको भए सबैले शान्तिको सास फेर्ने थिए। यद्यपि घरझगडाको यस अवस्थाले सार्थक गति लिइहाल्छ भन्ने पनि छैन । किनकि हाडको विशाल चट्टान नै अगाडि छ। सुकेको हाडका लागि त काटाकाट-लुछालुछ गर्ने प्रवृत्ति भएको ठाउँमा यस हाडमा बाहिर मासुको लोदो छ, हाडभित्र मज्जा छ । पशु प्रवृत्तिले पनि आफू अघाएपछि अरूका लागि भाग छाडिदिन्छ । तर नेपाली नेताहरू अजीणर् हुनेगरी खान चाहन्छन्, भुँडी फुटुन्जेल हसुर्न चाहन्छन् । अब धेरै भयो, बाँकी छोटो समयका लागि कुनै किसिमको हानथाप नगरेर मिलीबसी देशमा शान्ति कायम गर्ने वातावरण बनाउनु नै सबैको हितमा छ । अन्यथा उच्छिष्टहरूको जगजगी हुन्छ, मन नपरे पनि उच्छिष्टलाई ठूलो आसन दिनुपर्छ । अहिलेको बेला जनमत अगाडि नतमस्तक हुँदै जनभावनाको कदर गर्नु भनेकै दलहरूमा विभाजन नहुनु, सत्ताका लागि उच्छिष्टतालाई प्रश्रय नदिनु नै हुन सक्छ ।