प्रस, परवानीपुर, ३० वैशाख/
बारा र पर्सामा पर्ने परवानीपुर बजारमा निषेधाज्ञाको असर परेकै छैन ।
वैशाख १६ गतेदेखि जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा जारी गरेको र पछि बाराले वैशाख २३ गतेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरे पनि यहाँको बजार दुवै समय खुला रहँदै आएको छ । सडकदेखि पश्चिमको भाग बारा र पर्सामा पर्ने तर सडकदेखि पूर्वको भाग बारामा पर्ने भएकोले पर्साले लगाएको निषेधाज्ञामा बारातर्फ त खुल्यो नै, पर्साका बजारहरू पनि खुलेका थिए ।

अहिले दुवैतर्फ निषेधाज्ञा छ र पनि दुवैतर्फको बजार बन्द भएको छैन । बाराले बिहान ११ बजेसम्म तरकारी, खाद्यान्न पसल खुला गर्न इजाजत दिएको छ भने पर्साले १० बजेसम्म मात्र पसल सञ्चालन गर्न इजाजत दिएको छ । परवानीपुरका बासिन्दाले प्रहरी मिलेमतोमा बजार सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

यो क्षेत्रमा पर्सा र बारा दुवैतर्फको प्रहरी गश्ती छ । तर दुवैतर्फका प्रहरीले बजार खुला भए पनि बन्द गराउँदैनन् । यहाँको बजार बिहानदेखि साँझसम्म निर्वाध खुला हुन्छ । बजारमा तरकारी र खाद्यान्न पसलहरू मात्र होइन, खाजा, नाश्ता र मदिरा पसल सञ्चालन हुँदा प्रहरी मिलेमतो रहेको आशङ्का गरिएको हो । बजारमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पनि पालना गरिएको छैन ।

पर्साका प्रहरी उपरीक्षक बेलहादुर पाण्डेले यसबारे गुनासो आएको र तथ्य बुझ्ने बताए । आरोप सरहको काम भएको भए दोषी प्रहरीमाथि कारबाई हुने उनले आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here