के धर्म र गरीबीबीच सम्बन्ध छ ?

0

विश्वराज अधिकारी
मानव स्वास्थ्य विश्वभरि अहिले नाजुक अवस्थामा रहेको छ । कोराना सङ्क्रमणले दक्षिण एशियालाई ताण्डव गर्ने मूल थलो नै बनाएको छ । नेपालमा त कोरोना झन् महासङ्कट भएर उपस्थित भएको छ । गरीबी र साधन–विपन्नताले ग्रसित नेपालको जनस्वास्थ्य कोरोना कहरबाट कुन अवस्थमा पुग्ने हो भन्न सक्ने स्थिति छैन । स्वास्थ्य, सामाजिक, आर्थिक सबै क्षेत्रमा कोरोनाले गर्दा अहिले त्रासयुक्त अनिश्चितता देखिएको छ । यस्तो समयमा केवल कोरोना नियन्त्रणबारे चर्चा गर्नु उपयुक्त देखिन्छ र गर्नुपर्छ पनि ।

केवल कोरोनाको मात्र चर्चा गर्दा समाजमा झनै मनोवैज्ञानिक त्रास बढ्ने र कोरोनालाई पराजित गर्ने हाम्रो मनोविज्ञान अति कमजोर भएर जाने हुनाले कोरोना सङ्क्रमणसँग लड्न हामीले हाम्रो मनोविज्ञान सबल राख्न आवश्यक छ । त्यसकारण हामीले हाम्रो मनलाई अन्य विषयतर्फ लगाउनु आवश्यक छ । हामीले आफे मनलाई अन्य विषयमा पनि केन्द्रित गर्न आवश्यक छ । यो विपत्को घडीमा हामीले हाम्रो मनोविज्ञान उच्च र बलियो नराखेमा कोरोना कहरले झनै दु:ख दिनेछ ।

कोराना महामारी सङ्कटलाई मनको एउटा कुनामा राखेर अहिले हाम्रो मनोविज्ञान सबल राख्न अन्य विषयबारे हामी कुरा गरौं । आउनुहोस् यस आलेखमा धर्म र गरीबीबीच सम्वन्ध छ कि छैन, चर्चा गरौं ।
धर्मको सम्बन्ध केवल भावनासँग छ । धर्मले मानिसलाई सन्तोषपूर्ण जीवन बाँच्ने ज्ञान दिन्छ । धर्म र गरीबीबीच टाढासम्मको साइनो छैन । यस्तो भन्नेहरूको सङ्ख्या ठूलो छ । तर के यस्तो भन्नेहरूको भनाइ सही छ ? मेरो विचारमा सही छैन । विभिन्न किसिमका अध्ययन एवं अनुसन्धानहरूले गरीबी र धर्मबीच गहिरो सम्बन्ध रहेको र धर्मान्धताले त गरीबहरूलाई झनै गरीब बनाएको देखाएको छ ।

धर्मान्धताले धनी राष्ट्रलाई क्रमिक रूपमा गरीब पार्दै लगेको ताजा र बलियो उदाहरणको रूपमा पाकिस्तान र इरानलाई लिन सकिन्छ । धर्मान्धताले गरीब राष्ट्रलाई झनै गरीब पारेको ज्वलन्त उदाहरण अफगानिस्तानमा पनि देख्न सकिन्छ।

अफगानिसन्तानका कट्टर धार्मिक सङ्गठनहरू (तालिबान, अलकाइदा आदि) ले महिला शिक्षाको घोर विरोध गर्छन् । त्यस सङ्गठनका व्यक्तिहरू, आफू स्वयं खोप नलिने मात्र होइन, खोप लिन खोज्ने अन्यलाई समेत खोप लिन दिंदैनन् । महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्न, स्कूल जान नदिन ती कट्टर धार्मिक सङ्गठनहरूले डरलाग्दा, हिंसक एवं अमानवीय कार्य गर्छन् । अस्ति (मे ८, २०२१) मात्र कुनै एक कट्टर धार्मिक सङ्गठनले छात्राहरूलाई लक्षित गरेर काबुलस्थित एउटा विद्यालयमा कार बम विस्फोट गराउँदा ८५ जनाको ज्यान गएको थियो भने लगभग दुई सय व्यक्ति घाइते भएका थिए । यो बम विस्फोटको लागि आफू जिम्मेवार नभएको भन्दै तालिबानले वक्तव्य जारी गरे तापनि यो कार्य उक्त सङ्गठनले नै गरेको धेरैले विश्वास गरेका छन् ।

स्कूल, कलेज, कार्यालय एवं बजारतर्फ जाने महिलाहरूलाई लक्षित गरेर अफगानिस्तानका कट्टर धार्मिक सङ्गठन र खासगरी तालबानीहरूले विभिन्न किसिमका हिंसक कार्यहरू (बम विस्फोट, गोली प्रहार, हतियार प्रहार) गर्नु अहिले अफगानिस्तानमा सामान्य भएको छ । अफगानिस्तानमा रहेका आफ्ना सेनाका जवानहरू अमेरिका फर्काउने घोषणा बाइडेन– प्रशासनले केही हप्ता पूर्व गरेदेखि अफगानिस्तानमा कट्टर धार्मिक सङ्गठनहरूले हिंसाको घटनामा झनै वृद्धि गर्दै लगेका छन् । त्यहाँको जनजीवनलाई झनै भयभीत पारेका छन् । जुन देशमा जति हिंसक घटना हुन्छ, त्यस देशमा त्यही गतिमा आर्थिक विकासको गति सुस्त हुन पुग्छ । अफगानिस्तानमा अहिले विदेशी आर्थिक सहयोग नजाने हो भने त्यो राष्ट्रलाई एक राष्ट्रको रूपमा रहिरहन पनि गार्‍हो हुन आउँछ । धर्मान्धताले गर्दा भएका अनेक हिंसक घटनाहरूले प्रतिकूल प्रभाव परेर अफगानिस्तानको राष्ट्रिय उत्पादन घट्दै गएको छ ।

महिलाहरूलाई शिक्षाबाट वञ्चित पार्दै उनीहरूलाई घरभित्र नै रहन बाध्य पार्ने, नागरिकको स्वतन्त्र रहन पाउने अधिकार कुण्ठित पारेर आफूहरूले भनेको धर्म मान्न र त्यसै अनुसार चल्न बाध्य पारेर अफगानिस्तानका कट्टर धार्मिक सङ्गठनहरूले यो मुलुकलाई झनै गरीब पार्दै लगेका छन् ।

एउटै समयमा अङ्ग्रेजी शासनबाट मुक्त भएका दुई राष्ट्र– भारत र पाकिस्तानको आर्थिक स्थितिको अध्ययन गर्दा पनि कट्टर वा धर्मान्धताले मुलुकलाई गरीब पार्न के कस्तो भूमिका खेल्छ भन्ने कुराको पुष्टि हुन्छ । भारतमा धार्मिक स्वतन्त्रता (अति हिन्दूवादी मोदी–राजलाई छाडेर कुरा गर्ने हो भने) भएको र विभिन्न धर्म मान्ने व्यक्ति मिलेर बस्न पाएकाले र राष्ट्र बहुधार्मिक भएकोले भारतले चमत्कारी किसिमले आर्थिक प्रगतिमात्र गरेको छैन, भविष्यमा विश्वको तेस्रो आर्थिक महाशक्ति बन्ने क्रममा छ । अर्कोतिर पाकिस्तानमा बहुधार्मिक वातावरण नरहेको, इस्लामबाहेक अन्य धर्म मान्ने व्यक्तिमाथि निगरानी राखिएको र अन्य धर्म मान्नेहरूलाई पाकिस्तानमा ढुक्क भएर बस्ने स्थिति नरहेकोले पाकिस्तानले सन्तोषजनक आर्थिक प्रगति गर्न सकेको छैन । भारतसँग पाकिस्तानको तुलना गर्ने हो भने, आर्थिक विकासको क्षेत्रमा पाकिस्तान भारतभन्दा निकै पछाडि रहेको छर्लङ्ग हुन्छ । गैरइस्लाम पाकिस्तानमा सुरक्षित बस्न सक्ने स्थिति छैन र यो कारणले गर्दा ठूला–ठूला विदेशी कम्पनीहरूले पाकिस्तानमा लगानी गरेका छैनन् । तर त्यस्ता कम्पनीहरूले भारतमा भने ठूलो लगानी गरेका छन् ।

संसारभरिमा इरान मात्र एउटा यस्तो देश हुनुपर्छ जुन देशका प्रमुख व्यक्ति धार्मिक छन् । इरानका प्रमुख प्रशासक अली खुमेनी हुन् । उनी एक धार्मिक व्यक्ति हुन्, जन निवार्चित व्यक्ति होइनन् । इरान आफूलाई एउटा खास धर्मको राष्ट्र मान्दछ । आफूलाई इस्लामिक राष्ट्र (Islamic Republic of Iran) भन्दछ । इरान बहुधार्मिक राष्ट्र होइन । इरानमा ९९.४ प्रतिशत इस्लाम धर्मावलम्बी छन् । तर इरानको छेउकै राष्ट्र, कतारमा विभिन्न धर्म मान्नेहरूको बसोवास छ । आर्थिक विकासको हिसाबले कतार इरानभन्दा निकै अगाडि छ । कतारले दोहास्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘इन्टरनेशनल हब’ मा रूपान्तरित गर्दैछ । एशियाबाट बहुसङ्ख्यक व्यक्ति रोजगारको लगि कतार गएको पाइन्छ भने इरानमा त्यस्तो स्थिति छैन । अर्को एक उदाहरणको रूपमा युनाइटेड अरब इमिरेट्स (शारजाह, अबु धाबी, दुबई आदि) लाई लिन सकिन्छ । यी देशमा गैरइस्लाम धर्माबलम्बीहरूको ठूलो सङ्ख्यामा बसोवास छ । यो कारणले पनि यो देश आर्थिक विकासको मामिलामा धेरै अगाडि छ । धार्मिक कट्टरताले गर्दा इरानलाई आर्थिक प्रगति गर्न कठिन भएको छ ।
धार्मिक कट्टरता र धर्मान्धताले कुनै राष्ट्रको आर्थिक विकास हुन नदिएको उदाहरण अनेक छन् । उल्टो बहुधार्मिक राष्ट्रहरूले तीव्र गतिमा आर्थिक विकास गरेको, आर्थिक महाशक्ति हुन पुगेको अनेक उदाहरण छन् । युरोपका देशहरूले तीव्र गतिमा आर्थिक प्रगति गर्नुको मूल कारण ती राष्ट्रहरूमा धर्मान्धता छैन । ती देशमा धार्मिक उदारता छ ।

बहुधार्मिक राष्ट्र भएको र विभिन्न जातजातिका व्यक्तिहरूको बसोवास रहेकोले अमेरिका अहिले विश्वको नै नम्बर एक आर्थिक महाशक्ति हुन पुगेको छ । अमेरिकाका हरेक राज्यमा ठूलो सङ्ख्यामा मन्दिर, मस्जिद, गुरुद्वारा निर्माण भएको देख्न सकिन्छ । अमेरिकाको संवैधानिक व्यवस्थाले भन्छ अमेरिकामा भएको कुनै पनि व्यक्तिले आफ्नो विश्वास अनुसार धर्म मान्ने वा धर्म नमान्ने अधिकार राख्दछ (The First Amendment to the U.S. Constitution says that everyone in the United States has the right to practice his or her own religion, or no religion at all)। धर्मलाई केन्द्रमा राखेर अमेरिकामा हिंसक घटना भएको पाइँदैन । तर अफ्रिकामा धर्मलाई केन्द्रमा राखेर नै हिंसक घटनाहरू भएका छन् । ठूला–ठूला नरसंहार भएका छन् । यो कारणले गर्दा पनि अफ्रिकाका अनेक मुलुक ज्यादै गरीब छन् ।

धर्मलाई केन्द्रमा राखेर वा धार्मिक कारणले गर्दा नै भारत र पाकिस्तान विभाजित भएका थिए ।
निष्कर्षमा भन्ने हो भने धर्म र गरीबी बीच घनिष्ठ सम्बन्ध छ । धर्ममा उदारता भयो भने कुनै पनि मुलुकले तीव्र गतिमा आर्थिक विकास गर्छ । धर्मान्धता भएको मुलुकमा आर्थिक विकासको गति अवरुद्ध हुन्छ । नागरिक झन्झन् गरीब भएर जान्छ, अफगानिस्तानजस्तो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here