प्रस, वीरगंज, २४ वैशाख/
दोस्रो चरणको कोरोना लहरमा नारायणी अस्पतालमा वैशाख २३ गतेसम्म २५६ जना सङ्क्रमित भर्ना भइसकेका छन्।
सङ्क्रमितमध्ये ८९ जना महिला र १६७ जना पुरुष रहेका छन्। अहिले १८ वटा भेन्टिलेटरमध्ये ११ वटामा सङ्क्रमितहरू छन्। वैशाख २३ गतेसम्म ३५ जना महिला र ६७ जना पुरुष गरी १०२ जना निको भई घर फर्किसकेका अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए। यो अवधिमा नारायणी अस्पतालमा मात्रै वैशाख २३ गतेसम्म १३ जना महिला र २४ जना पुरुष गरी ३७ जनाको मृत्यु भएको छ।
अहिलेसम्म नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा ४ हजार ५१२ जनाको स्वाब सङ्कलन गरिएको र त्यसमध्ये २ हजार ५१८ जना सङ्क्रमित पुष्टि भएका छन्। यसैगरी, एन्टिजेनबाट ४८३ जनाको परीक्षण गरिएकामा २०५ जना सङ्क्रमित पुष्टि भएको प्रवक्ता डा दासले बताए।
नारायणी अस्पतालमा सङ्क्रमित भएर उपचार गराउने ५ जना महिला र ५ जना पुरुष बेपत्ता भएका थिए। कोभिड सङ्क्रमितका लागि नारायणी अस्पतालमा १२५ शय्या छ। पर्सा जिल्लामा सङ्क्रमितका लागि नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पताल, वीरगंज हेल्थकेयर, नारायणी वयोधा, तराई अस्पतालमा सङ्क्रमितहरूले उपचार गराइरहेका छन्।