प्रस, वीरगंज, १५ वैशाख/
धोबिनी गाउँपालिकाका अध्यक्ष र कर्मचारीले अनियमितता गरेको भन्दै स्थानीयवासीले गापाको कार्यालयमा तालाबन्दी गरेका छन्।

गापाका प्रतिनिधि र कर्मचारीहरूले विगत तीन वर्षको विकास काममा अनियमितता गरेको, ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध नगराएको, दलित सामुदायिक भवनबाट सशस्त्र प्रहरी हटाउन माग गर्दै स्थानीय बासिन्दाहरूले बुधवार नाराबाजी गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन्।

गापा अध्यक्ष्F सुरेशप्रसाद कुर्मी अनुपस्थित रहेकाले स्थानीयहरू नाराबाजी गर्दै उनको घरमा पुगेको वडाध्यक्ष नन्दलालप्रसाद कुर्मीले बताए।

धोबिनी गापा–२ आसवारी र भिखमपुरबाट आएका बासिन्दाहरूले गापामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग राखेका थिए।

वडाध्यक्ष कुर्मीका अनुसार अध्यक्ष कुर्मीले दलित सामुदायिक भवनमा सशस्त्र प्रहरीको चेक प्वाइन्ट राखेर दलितहरूको भावनामाथि कुठाराघात गरेको आरोप लगाए। वडा नं १ घोडदौडको ओरिया नदीमा झोलुङ्गे पुल निर्माणमा अनियमितता भएको, पुल निर्माण कार्य सम्पन्न नभएको, ज्येष्ठ नागरिक भत्ता वितरणमा ढिला भएको, आफूखुशी कर्मचारी भर्ना गरेको कारण स्वस्फूर्त विरोध भएको आसवारीका वीरेन्द्र कुर्मीले बताए।

यस विषयमा प्रमुख कार्यकारी अधिकृत अशोक रौनियारले कार्यलयमा तालाबन्दी भएको स्वीकारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here