परिवारजनमा वैवाहिक कार्यक्रम प्रभावित हुने चिन्ता

0

प्रस, सेढवा, १५ वैशाख/
पर्सा जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपछि वैवाहिक कार्यक्रमको मिति तय भएका परिवारजनहरू चिन्तामा परेका छन्।

यो महीनामा विवाहको लगन चर्को छ। वैशाख १५ गतेसम्म सम्पन्न भएका वैवाहिक कार्यक्रम पनि पहिलेजस्तो धूमधाम र भीडभाडका साथ भएनन्। यसपछिका दिनमा विवाहको मिति तय गरेकाहरू सबै कुराको तयारी भइसकेको अवस्थामा निषेधाज्ञा जारी हुँदा समस्या भएको बताउँछन्। वैवाहिक कार्यक्रमका लागि शुरूदेखि नै ब्यान्डबाजा, टेन्ट, कूक, रथ, गाडी–घोडा र मनोरञ्जनका कार्यक्रमहरूका लागि पेश्की दिइसकिएको छ।

पटेर्वासुगौली गापा–३ निवासी भगवान चौधरीले वैवाहिक कार्यक्रमका लागि पेश्की दिएको र निषेधाज्ञा जारी भएपछि वैवाहिक कार्यक्रम प्रभावित हुने कुराले समस्या आइपरेको बताए। उनले वैवाहिक कार्यक्रमका लागि इष्टमित्र, आफन्तलाई निमन्त्रणसमेत पठाएको र वैवाहिक कार्यक्रमका लागि लाखौं रुपैयाँ खर्च भइसकेको अवस्थामा निषेधाज्ञा लाग्दा चिन्ताले सताएको बताए। तराईका जिल्लामा वैवाहिक कार्यक्रम सम्पन्न गर्दा केटीपक्षबाट केटापक्ष्Fले ठूलो रकम दाइजो लिने गर्दछ। दाइजो लिएर अहिले सोअनुरूपको वैवाहिक कार्यक्रम नहुँदा समस्या आइपर्ने तथा विवाह रोक्दा पनि थप आर्थिक समस्या बेहोर्नुपर्ने परिवारजनको गुनासो छ।

वैवाहिक कार्यक्रमको लागि कतिजनाले ऋण पनि लिएका छन्। निषेधाज्ञाले वैवाहिक कार्यक्रम प्रभावित हुने हो भने थप आर्थिक भारमा पर्ने उनीहरूको भनाइ छ। गत वर्षमा पनि कोरोना सङ्क्रमणको कारण लकडाउन भएर वैवाहिक कार्यक्रम प्रभावित भएका थिए। सो बखत प्रभावित वैवाहिक कार्यक्रमहरू वैशाखमा तय भएका थिए। अहिले पुनः जिल्लामा निषेधाज्ञा जारी भएपछि अवधि बढ्ने चिन्ताले पनि वैवाहिक कार्यक्रम हुने घरहरूका परिवारजन चिन्तामा परेका छन्।

कतिपयले वीरगंजमा ठूलठूला पार्टी प्यालेस, होटलहरू बूकिङ गरिसकेका छन्। कतिजनाको वैवाहिक कार्यक्रम भारतीयहरूसँग जोडिएकाले थप समस्या झेल्नुपरेको छ। अहिलेसम्म वीरगंज भन्सार कार्यालयले मानवताको हिसाबले दुईवटा सवारीसाधनसम्म वैवाहिक कार्यक्रममा वीरगंज प्रवेश गर्न दिएको छ। निषेधाज्ञा जारी भएपछि यो अवस्था पनि रहँदैन।

अन्य खुला सीमामा पनि प्रहरीले कडाइ गर्ने हुनाले भारतमा वैवाहिक कार्यक्रम तय भएका परिवारजन झनै चिन्तित भएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here