चिरञ्जीवी सापकोटा, ठोरी, १४ वैशाख/
ठोरी गाउँपालिका वडा नं २ मा पञ्चेश्वर बहुउद्देश्यीय मुक्तिधाम निर्माणको लागि आगामी वैशाख २१ गतेदेखि हुने भनिएको श्रीमद्भागवत पितृमुक्ति सप्ताह ज्ञान महायज्ञ हाललाई स्थगित गरिएको छ।

आज बसेको श्रीमद्भागवत पितृमुक्ति सप्ताह मूल समारोह समितिको मङ्गलवार बसेको बैठकले कोरोना भाइरसले विश्व आतङ्कित बन्दै गएको र नेपालमा पनि कुनै सभा, सम्मेलन, धार्मिक उत्सव तथा भीडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न आदेश भएको र पर्सा जिल्लामा पनि लागू हुने निषेधाज्ञालाई मध्यनजर गर्दै हाललाई सप्ताह कार्यक्रम स्थगित गरिएको समितिका महासचिव प्रकाश खनालले जानकारी दिए। कोरोना कहर साम्य भएपछि तथा जनजीवन सामान्य हुँदै गएपछि पुनः समितिले निर्णय गरी सप्ताह सञ्चालन गर्ने पनि खनालले जानकारी दिए।

आगामी वैशाख २१ गतेदेखि विश्वविख्यात पण्डित वाचन प्रवीण दीनबन्धु पोखरेलको मुखारविन्दबाट ठोरीलाई धार्मिक पर्यटन क्षेत्र बनाउने उद्देश्यका साथ पञ्चेश्वर बहुउद्देश्यीय मुक्तिधाम निर्माणार्थ तथा सम्पूर्ण पितृको वैकुण्ठबासको कामनाले हुन लागेको सप्ताहको तयारी पनि गरिएको थियो र हाललाई कोरनाकै कारण तयारी गर्दै गरेको अवस्थामा पनि गाउँवासीको स्वास्थ्य नै महत्वपूर्ण रहेकाले उपयुक्त समय आएपछि पुनः सञ्चालन गर्नेगरी स्थगित गरिएको समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here