अनन्तकुमार लाल दास

विद्यार्थीहरूलाई सक्षम बनाउन ज्ञान भए पुग्छ तर असल नागरिक बनाउन नागरिक शिक्षा दिनुपर्ने नै हुन्छ। नागरिक शिक्षा पाठ्यपुस्तकमा पनि छ तर बदलिंदो समय क्रममा फेरिएको सामाजिक मान्यताका कारण माध्यमिक तहमा नै अनेकौं समस्या देखा पर्न थालेका छन्। समस्या किन देखा पर्दैछ, त्यसपछाडि के–के कारण छ, त्यसको खोजीनीति जरूरी भइसकेको छ र ती तथ्यहरूको खोजीनीति गर्दा अनेकौं गम्भीर पक्ष उजागर भइरहेका छन्, जसलाई सच्याउन भरपर्दो र सहज माध्यम भनेको नागरिक शिक्षाको प्रभावकारी अध्यापन नै हो।

शिक्षा मानिसको सर्वाङ्गीण विकासको केन्द्रीय स्रोत पनि हो। आजको सामाजिक यथार्थले गर्दा राज्यप्रदत्त शिक्षाले नागरिकमा कस्तो प्रभाव पारेको छ ? कस्तो जनशक्ति उत्पादन भइरहेको छ ? विद्यार्थीहरूलाई देशभक्ति सिकाइरहेको छ कि छैन ? उसलाई आफ्नो राष्ट्रिय संस्कृति र संस्कारप्रति सजग बनाइरहेको छ कि छैन ? राष्ट्रिय सहिष्णुता र सद्भावप्रति उसलाई संवेदनशील बनाइरहेको छ कि छैन भन्ने सवाल पनि हेर्नुपर्ने र छलफल गर्नुपर्ने हुन्छ किनभने एउटा विद्यार्थीसँग यी यावत् प्रश्नहरूको सरोकार रहेको छ।

यसै परिप्रेक्ष्यमा शिक्षाविद्हरूले मान्यता विकसित गरेका छन् कि जबसम्म नागरिकमा असल र नैतिक संस्कारको विकास गरी प्रजातान्त्रिक मूल्य र मान्यताबाट प्रेरित शिक्षा प्रदान गरिंंदैन तबसम्म मुलुक उँभो लाग्न सक्दैन। उनीहरू यसका पछाडि के तर्क दिन्छन् भने नागरिकलाई लोकतान्त्रिक मूल्य र मान्यताबारे बुझाउनु भनेको उनीहरूलाई स्वस्थ र सबल नागरिक जीवन बिताउन सक्षम बनाउनु हो।

तर यी अत्यन्त आदर्शका कुरा भए। सामान्यतया समाजमा एउटा व्यक्तिले ठूलो आदर्शको कुरा नगरे पनि आम जीवनमा केही नैतिक मान्यता पालना गर्नुपर्ने अपेक्षा गरिएको हुन्छ। त्यो सामाजिक संरचनाका लागि आवश्यक पनि मानिन्छ। आज शहर–बजारमा पूँजीवादी प्रणालीले खोजेको सस्तो स्रोत, सम्पदा र श्रमशक्तिबाट नै पुरानो परिवार प्रणालीको अवसान र नयाँ प्रणालीको सूत्रपात भइरहेको छ। परिवारको आकार, संरचना, पारिवारिक सम्बन्ध र अन्य आयाममा परिवर्तन आइरहेको छ। धेरै सामाजिक संरचना विखण्डित भइरहेको छ।

यतिखेर उमेर पुगेका प्रायः बालबालिकाहरू विद्यालय जान थालेका छन्। हाम्रो समाजमा धेरै बालबालिका विद्यालय पुग्न थालेको यो पहिलोपटक हो। साक्षरता कक्षामा प्रौढहरूको सहभागिता पनि बढेको छ। विद्यालय, क्याम्पस र शिक्षालयहरूमा जानुको अर्थ हुन्छ स्थानीय, जातजातीय/पारम्परिक र पारिवारिक संरचना, मूल्य, मान्यता, जीविकोपार्जन प्रणालीबाट केही बाहिर निस्कनु। पुस्तैनी सम्बन्धका स्थापित मापदण्ड केही खल्बलिनु र अन्तरविरोध विस्तारित र मुखरित हुनु, पारिवारिक पुस्तैनी सम्बन्ध कम नियन्त्रणात्मक हुनु, त्यस्तै बढी लोकतान्त्रिक हुनु, नयाँ पुस्ताले विद्यालय, पढाइ र बाहिरी जगत्बारे सूचना र ज्ञानका आधारमा परिवारभित्र पहिलेभन्दा बढी शक्ति आर्जन गर्नु तथा उसको भूमिका केही बढ्नु र पुराना र नयाँ पुस्ताको सम्बन्ध बराबरीतिर ढल्किनु। आज नयाँ श्रम, बजार र शहरी जीवनतिर आकर्षित एउटा ठूलो जमात तयार भएको छ। समाजशास्त्रीय विश्लेषणका आधारमा पूर्वीय आदर्श र मूल्य मान्यतामा समाजको शक्ति मान्ने परिवारलाई आधुनिकता र अतिव्यस्तताले क्षीण बनाउँदै गएको छ। अन्ततः यसले समाजलाई नै विशृङ्खलतातिर डो–याउन सक्छ।

आधुनिकीकरणसँगै जीवन शैली, अर्थतन्त्र, राजनीति र सामाजिक सम्बन्धमा आएको परिवर्तनले परिवाररूपी घरका भित्ता चर्किन थालेका छन्। कुनै बेला एउटा गाउँ नै परिवार सरह मानिने नेपाली समाजमा त्यो मान्यता खण्डित हुँदै गएको छ। हिजोको परिवार र पारिवारिक सम्बन्ध धरमराउन थालेको छ।

कर्तव्यप्रधान समाज कर्मप्रधान बन्न थालेपछि जिम्मेवारीबोध पनि कम भएको छ। व्यस्तता बढ्दै जाँदा आमाबुवाले परिवारलाई समय दिन सकिरहेका छैनन्। परिणामतः त्यस्ता परिवारसँग सम्बधित बालबालिका अनेकन विकृति र विसङ्गतिमा पँmस्दैछन्। राम्रो शिक्षा र संस्कार दिन नसकिए त्यसको दूरगामी असर डरलाग्दो नै हुन्छ। आमाबुवाको रेखदेखबेगर हुर्केको सन्तानमा पारिवारिक मूल्य र मान्यता स्थापित हुन समय लाग्छ। त्यसैले हामी देख्दैछौं आजकालका केटाकेटीमा बिहे नगर्ने, केटीकेटी र केटाकेटाले बिहे गर्ने, बच्चा नै नजन्माउने र बिहे नगरी सँगै बस्ने जस्ता चलनले पनि ठाउँ पाउँदै गएको छ।

पारिवारिक संरचनामा देखिएको अस्तव्यस्तताले समाजमा पनि असर पु–याउन थालेको छ। पहिले गाउँलाई नै समाज मानिन्थ्यो। त्यसैले गाउँकी छोरीबेटी सबैका बहिनी हुन्थे। सँगै पढ्ने सहपाठी केटी साथी भएपनि दुवैमा भाइबहिनीको भाव हुन्थ्यो र पुराना केटी सहपाठी भेट हुँदा उसका पतिलाई भिनाजुको रूपमा आदर दिने चलन व्यापक थियो। तर यतिखेर यी सबै कुरा किताबी देखिन थालेको छ।

हाम्रै परिवेशमा जे जस्ता तथ्य बाहिरिएका छन् वा विद्यालय वा क्याम्पसमा देखिएका छन् वा अभिभावकहरूबाट गुनासा आएका छन् त्यसले विसङ्गत स्थिति देखाएको छ। सहशिक्षाले विपरीत लिङ्गीप्रति सहज आकर्षण विकसित गर्न ठूलो भूमिका खेलेको छ तर व्यवहारमा यतिखेर सहशिक्षाले अनेकौं गम्भीर प्रश्न उठ्न थालेका छन्। केटाद्वारा केटी सहपाठीप्रति, केटी सहपाठीद्वारा केटा सहपाठीसँगको भगिनी सम्बन्ध आज रहेन। अनेकौं गम्भीर व्यवहारजन्य कमजोरी उजागर भइरहेका छन् र जसले अभिभावक, विद्यालय र क्याम्पस परिवारलाई र विशेषगरी छात्राहरूलाई मानसिक दबाबमा राखेको छ।

कसैका लागि यसको सोझो जवाफ हुन सक्छ, अनुशासन भङ्ग गर्नेहरूलाई विद्यालय वा क्याम्पसबाट निकालिदेऊ। अपराध गम्भीर छ भने सामाजिक अपराधको मुद्दा चलाइदेऊ। यो स्थिति केही व्यक्ति र विद्यार्थीको निजी चरित्रसँग जोडिएको हुँदा गर्न सकिने कार्य हुन् तर जब एउटा विसङ्गत चरित्रले सामाजिक रूप धारण गर्न थाल्छ त्यतिखेर यसका लागि साझा उपचारको खोजी गर्नुपर्छ। साझा उपचार भनेको उनीहरूमा नैतिक शिक्षाको व्यावहारिक प्रयोगका साथ पठनपाठन गराइनु हो। समाजमा बसेर सामाजिक मूल्य र मान्यता नै बुझ्ने हो भने वास्तवमा त्यो मानिस पशुतुल्य हो। नागरिक शिक्षाले विद्यार्थीहरूमा संवेदना जागृत गर्छ र उसमा विवेकको जागरण गराउँछ। यसका लागि नागरिक शिक्षाका शिक्षकहरू बढी जवाफदेह हुन सक्छन्। उनीहरूले विद्यार्थीको ब्रेनवाश गर्न सक्नुपर्दछ।

अहिले अनुभवले के देखाइरहेको छ भने पढाइमा राम्रा विद्यार्थी पनि सामाजिक व्यवहारमा कमजोर देखिएका छन्। सामाजिक व्यवहार जान्न सक्ने सीप र सोच दुवै हुनु जरूरी छ। यसमा अभिभावकको पनि त्यतिकै भूमिका हुन्छ। अभिभावकले पनि आफ्ना विद्यार्थीको खासगरी चारित्रिक पक्षमा बढी ध्यान दिनुपर्ने हुन्छ।

यसमा विद्यालय परिवारको भूमिका पनि निश्चय नै ठूलो हुन्छ। विद्यालयले आफ्नो विद्यालय परिवेशमा आफूभन्दा उपल्लो कक्षाका विद्यार्थीलाई दाजु र दिदी भन्ने र आफूभन्दा तल्लो कक्षाका विद्यार्थीहरूलाई भाइ र बहिनी भन्ने र समकक्षी सहपाठीहरूलाई पनि भाइ र बहिनी भनेर सम्बोधन गर्ने परिपाटी बसालियो भने यसले सोचाइको धरातललाई क्रसचेक गर्छ। यसका लागि विद्यालयले नैतिक शिक्षालाई केवल पाठ्क्रममा उत्तीर्ण हुनुसँग सरोकार नराखी उसले प्रस्तुत गर्ने व्यवहारमा पनि उत्तीर्ण हुन सकोस्, राम्रो गर्न सकोस् भन्ने सोच राख्नुपर्दछ। यसका लागि अर्को के गर्न सकिन्छ भने नैतिक शिक्षा अन्तर्गत केही अङ्क विद्यालयमा सुरक्षित हुनुपर्छ र वार्षिक परीक्षाको अङ्क तालिकामा पुरस्कारको रूपमा विद्यार्थीको वार्षिक मूल्याङ्कन गरी दिनुपर्छ। यस अन्तर्गत उसको सुझबुझ, नेतृत्व क्षमता, अन्य विद्यार्थी र शिक्षकसँग उसको सम्बन्ध, विद्यालय भित्र र बाहिर उसले देखाउने व्यवहार यी सबै कुराहरूको सन्तुलित आकलन र मूल्याङ्कन गरिएको हुनुपर्दछ। यसरी नागरिक शिक्षालाई समाजको एउटा जिम्मेवार नागरिक बनाउने कार्यमा प्रयोग गर्न सकिन्छ। सभ्य र जवाफदेह नागरिक बनाउन नागरिक शिक्षाको व्यावहारिक पक्ष अपरिहार्य बन्दै गएको छ। सामाजिक विचलनबाट राष्ट्रलाई जोगाउने हो भने यसतर्फ बेलैमा प्रयास गरिहाल्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here