राजेश मिश्र
झन्डै साढे तीन दशकअघि भएको आगलागीको घटना मरणोपरान्त बिर्सन सकिंदैन। पर्साको साबिक गाविस शिबर्वाको पछिमारी (पश्चिमी) टोल बर्वामा भीषण आगलागी भएको थियोे। दिउँसो भएको आगलागीमा धनसम्पत्तिको क्षतिसँगै घरपालुवा जनावरहरूको ज्यान गएको थियो। स्थानीय सन्त साहको घरसँगैको गोठमा आगलागी भएको थियो। आगोको सानो झिल्को भुसमा परेपछि भीषण आगलागीमा परिणत भएको थियो। धूवाँ धेरै माथिसम्म आकाशमा पुगिरहेकोले कोसौं टाढादेखि सहजै तुवाँलो लागेको दृष्टिगत भइरहेको थियो। यस्तो प्रतीत हुन्थ्यो कि मानौं धूवाँको तुवाँलोले आसपासका गाउँहरूमा आगो लागेको सूचना सम्प्रेषण गरिरहेको थियोे। छिमेकी गाउँका मानिसहरू ‘दौर लोगन हो, आगी लागल बा’ भन्दै सोहीतर्फ दौडिरहेका थिए। उपलब्ध संसाधनसहित केहीबेरमंै त्यहाँ वृद्ध, युवा, वयस्क तथा महिलाहरूको ठूलो भीड जम्मा भएको थियो।
मानिसहरूको हुललाई पछ्याउँदै केटाकेटीहरूसँगै म अबोध बालक पनि घटनास्थलमा पुगेको थिएँ। चापाकल र इनार आदि घटनास्थलभन्दा अलि पर थिए। भाँडोमा पानी भरेर घटनास्थलसम्म पु–याउने काम युवा र महिलाहरूले गरिरहेका थिए। आगोको अवस्थालाई सूक्ष्म मूल्याङ्कन गर्दै कुन ठाउँमा पानी हाल्नुपर्छ भन्ने युक्ति वृद्धहरूले सुझाइरहेका थिए। वयस्कहरूमध्ये कोही आगोलाई चलाउने त कोही चलाएकोे आगो उपर पानी हाल्ने काममा व्यस्त थिए। सबै काम तीव्र गतिमा भइरहेको थियो। यस्तो लाग्थ्यो कि त्यहाँ उपस्थित मानिसहरू स्वचालित मेशिन हुन्। तीन घण्टाको अथक परिश्रमपश्चात् आगो नियन्त्रणमा आएको थियो।साहको घर र चौपायालगायतका श्रीसम्पत्ति जलेर खरानी भइसकेको थियो। घर, गोठ, अन्नपात र लत्ताकपडा आदि केही पनि बचेको थिएन। यो एकदमै दुःखद पक्ष थियो। यद्यपि सुखद पक्ष के थियो भने जनसक्रियताका कारण आगो अन्यत्र फैलिएन। गाउँ खरानी हुने अवस्थाबाट जोगियो। आफूले प्रत्यक्ष देखेको उक्त दर्दनाक दृश्य अत्यन्तै मार्मिक थियो। कथङ्कदाचित उक्त आगोको घटना स्मरण हुँदा अहिले पनि जीउ सिरिङ हुन्छ। आगलागीका भीषण घटनाहरू प्रत्येक वर्ष दोहोरिनुले आम सचेतना, सावधानी शून्य छ भन्नुपर्छ।
झन्डै दुई दशकअघि पर्साको साबिक गाविस निचुटाको मनिहर्वा गाउँमा भएको आगलागीमा आधा गाउँ नै खरानीमा परिणत भएको थियो। केही वर्षअघि पकहामैनपुर गापाको धोरे र धोबिनीमा भएको भीषण आगलागीमा टोल नै सखाप भएको थियो। पर्सागढी र ठोरीलगायतका स्थानमा आगलागीका घटनामा लाखौं मूल्यका धनसम्पत्ति क्षति भएका समाचारहरू वर्तमान परिदृश्य हुन्। पर्सा, बारा र रौतहटलगायत प्रदेश २ का विभिन्न जिल्लाका ग्रामीण क्षेत्रबाट आगलागीका खबरहरू दिनहुँजसो आइरहेका छन्। आगलागीले प्रत्येक वर्ष असीमित धनजनको क्षति भइरहँदा पनि सामाजिक सचेतना अचेततुल्य छ।
आगलागीका कारणहरू
कारण १ ः गाई, गोरु, भैंसी, बाख्रा र बाख्रीलाई लामखुट्टेजन्य परजीवीबाट जोगाउनको लागि गोठघरमा भुस सल्काइन्छ। धूवाँ गरिन्छ। घरपालुवा जनावरहरूलाई लामखुट्टेबाट जोगाउने एकमात्र सस्तो उपक्रम हो, भुसको धूवाँ। लामखुट्टेको आतङ्कले जनावरहरूको हलचल बढ्छ। खुट्टा आगोमा पर्छ। अन्ततोगत्वा आगोको सानो झिल्को उछिट्टिएर भुसमा पर्छ र बिस्तारै भुस सल्किन्छ। आगोको उग्र स्वरूपले घर, गोठ र गाउँ नै सखाप हुने गरेका अकल्पनीय घटनाहरू घट्छन्।
कारण २ः चैत र वैशाख महीनामा खेतमा गहँुको डाँठ जलाउने गरिन्छ। यद्यपि कतिपय बेला आगो लगाइसकेपछि हावाको वेग तीव्र हुन्छ। आगोको ससाना झिल्का हावासँगै पर गाउँसम्म पुग्छ र आगलागीका घटना घट्छन्।
कारण ३ः घरमा मकै आदि पोलिन्छ। दाउराजन्य इन्धनबाट खाना पकाइन्छ। खरानीमा पानी नहाली घरको ‘ओरियानी’मा राखेको पाइन्छ। ओरियानीमा पराल र माटोको मिश्रण हुन्छ। तथापि खरानीको तापले बिस्तारै ओरियानी तात्छ। बिस्तारै सल्किन्छ र आगलागीका घटनाहरू हुने गर्दछन्।
कारण ४ः लामखुट्टे धपाउनको लागि घरमा पनि धूवाँ गर्ने गरेको पाइन्छ। कतिपय यस्ता विपन्न परिवार छन्, जसलाई पेट भर्न समस्या छ। उनीहरूले पैसाको अभावमा झुल किन्न सक्दैनन्। पालिकाहरूले निश्शुल्क वितरण गर्ने झुल गरीबहरूको हातसम्म नपुग्दै सकिन्छ। त्यस्ता परिवारलाई लामखुट्टे धपाउन भुसजन्य धूवाँको विकल्प हुँदैन। असावधानीवश त्यही धूवाँ भीषण आगलागीको कारण बन्दछ।
कारण ५ः विद्युत् शर्ट भएर पनि कतिपय आगलागीका घटनाहरू घटेका पाइन्छन्। विद्युत् चोरी गरी बत्ती बाल्ने वा मोटर आदि उपभोग गर्ने लापरवाहीजन्य कारणले विद्युत् शर्ट भई आगलागीका घटनाहरू घटित हुन्छन्। अन्ततोगत्वा धनजनको ठूलो क्षति हुने गर्दछ।
कारण ६ः अगरबत्ती र मच्छर धुप आदि जलाएर जथाभावी राख्ने बानीले पनि आगालागीका घटना हुने गर्दछन्। आगलागीका कारण थाहा हुँदासम्म धेरै ढिलो भइसकेको हुन्छ। गाउँ र बस्ती खरानीमा परिणत भइसकेका हुन्छन्।
यसबाहेक पनि चुरोट र बिंडी आदिको ठुटो जथाभावी फाल्ने प्रवृत्ति पनि आगलागीका कारण हुन्। यी प्रतिनिधि उदाहरण मात्र हुन्।
रोकथाम र उपाय
विभिन्न सञ्चारमाध्यमबाट सावधानीसम्बन्धी सूचनाहरू प्रवाहित हुने गर्दछन्। यी सूचनाहरूप्रति आमजनको ध्यानाकृष्ट हुनुपर्दछ। यसबाहेक आगोजन्य सामग्रीको उचित व्यवस्थापनप्रति स्वयम् जागरूक हुनुको विकल्प छैन। स्वसतर्कता नितान्त आवश्यक छ। गोठमा धूवाँ गर्दा विचार पु–याउनुपर्दछ। मकै पोलेपछि वा खाना पकाइसकेपछि खरानीमा पानी हाल्न बिर्सनुहुँदैन। खरानीमा आगोको सूक्ष्म कण पनि नरहेको अवस्था यकीन गरेपछि मात्र उचित स्थानमा व्यवस्थापन गर्नुपर्दछ। कागज वा कपडाजन्य वस्तुमा मच्छर धुप आदि बालेर राख्ने बानीलाई छोड्नुपर्छ। यसबाहेक आफूले जानेका सावधानीसम्बन्धी अन्य उपायहरूबारे गाउँटोलमा सामूहिक चर्चा गर्नुपर्दछ।
जिल्ला तथा स्थानीय तहमा रहेका वारुणयन्त्र र एम्बुलेन्सहरूको सम्पर्क नम्बर सार्वजनिक स्थल जस्तै स्थानीय तहको कार्यपालिकाको कार्यालय, वडा कार्यालय, मठ, मन्दिर, मस्जिद र विद्यायल आदिमा मोटो र ठूलो अक्षरमा ब्यानर लगाउनुपर्दछ। आपत्कालीन सहयोगी नम्बरहरू आआफ्नो मोबाइलमा सुरक्षित राख्नुपर्दछ। के कति कारणले आगलागीका सम्भावना बढ्छन् भन्नेबारे खासगरी महिलाहरूलाई जागरूक बनाउनु आवश्यक छ। समाजका हरेक वर्र्ग सचेत भए मात्र यस्ता घटनाबाट जोगिने आशा गर्न सकिन्छ।
०००
गर्मीयाममा फुसको गोठघर, भुस र पतवार आदि पूर्ण सुक्खा हुन्छन्। यिनीहरू आगलागीजन्य घटनाका सारथि हुन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। आगोको सानो झिल्का भीषण आगलागीमा परिणत हुन्छ। सामान्य हावाहुरीले पनि आगलागीको भीषण स्वरूप प्रकट हुन सक्छ। यदि हावाहुरीको वेग तीव्र छ भने यत्रतत्र आगो फैलिने सम्भावना बढ्छ।
चैत र वैशाख आगलागीका जोखिमयुक्त महीनाका रूपमा परिचित छन्। सामान्य त्रुटि ठूलो क्षतिमा परिणत हुने गर्दछ। मुख्यतः आगलागीका प्रमुख कारण अपवादबाहेक मानवीय असावधानी नै हो। गाउँका मानिसहरूमा आगो निभाउने कार्यमा एकजुटता पाइन्छ। उनीहरू स्वचालित मेशिन जस्तै आगलागी नियन्त्रणको लागि अग्रसर हुन्छन्। आगलागीपछि सामाजिक सक्रियता अपरिहार्य छ नै। यद्यपि आगलागीजन्य घटना रोकथामको लागि पूर्वसतर्कता बढी आवश्यक छ। अतः पालिकाहरूले गम्भीरतापूर्वक जिम्मेवारी बोध गर्नुपर्ने खाँचो छ। पालिकास्तरमा सामाजिक सचेतनासम्बन्धी क्रियाकलापमा जनप्रतिनिधिहरूको चाँसोसहितको सरोकार रहनुपर्छ। कम्तीमा पनि साप्ताहिकरूपमा सामाजिक भेला गर्नुपर्छ। आगलागी हुन नदिनको लागि पूर्वसावधानीसम्बन्धी सामाजिक विमर्श नितान्त आवश्यक छ।