द्रोण पर्व–३९

0

उमाशङ्कर द्विवेदी

यतिबेला युद्ध टाउकोमाथि गर्जना गरिरहेको हेरेर तपाईंले आफ्ना पुत्रहरूको अनेकौं दोष औंल्याउँदै उनीहरूको निन्दा गर्दै हुनुहुन्छ, अब यो कुरा सुहाउँदैन। लौ छाड्नुहोस्, यी कुराहरूलाई, पाण्डवहरूका साथ कौरवहरूको जुन घमासान युद्ध भयो, त्यसको ठीक–ठीक वृतान्त सुन्नुहोस्।
सञ्जयले भने– त्यो रात्रि बितेपछि आचार्य द्रोणले आफ्ना सबै सेनालाई शकट व्यूहमा उभ्याए। त्यति बेला उनी शङ्ख बजाउँदै बडो तीव्र गतिमा यताउति डुलिरहेका थिए। सम्पूर्ण सेना युद्धको लागि उत्साहित भएर उभिएपछि आचार्यले जयद्रथसित भने– तिमी, भूरिश्रवा, कर्ण, अश्वत्थामा, शल्य, वृषसेन र कृपाचार्य एक लाख घोडचढी, साठी हजार रथी, चौध हजार गजारोही र एकाइस हजार पदाति सेना लिएर हामीभन्दा छ कोस पछि बस। त्यहाँ इन्द्रादि देउताहरूले पनि तिम्रो कुनै पनि अनिष्ट गर्न सक्दैनन्, अनि त पाण्डवहरूको के कुरा ? त्यहाँ तिमी निर्भय भएर बस्नु।
द्रोणचार्यले यस प्रकार ढाढस बधाएपछि सिन्धुराज जयद्रथ गान्धार महारथी र घोडचढीहरूको साथ हिंडे। यी दश हजार सिन्धुदेशीय घोडाहरू बडो सधेका र बिस्तारै चालले हिंड्ने खालका थिए। यसपछि तपाईंका पुत्र दुःशासन र विकर्ण सिन्धुराजको कार्यसिद्धिको लागि सेनाको अग्रभागमा आएर डटे। द्रोणाचार्यले बनाएको यो चक्र शकट व्यूह चौबीस कोस लामो र पछिल्तिर दश कोससम्म फैलिएको थियो। त्यसको पछाडि पद्मगर्भ नामक अभेद्य व्यूह थियो र त्यस पद्मगर्भ व्यूहमा सूचीमुख नामक एउटा गुप्त व्यूह बनाइएको थियो। यस प्रकार यस महाव्यूहको रचना गरेर आचार्य स्वयम् त्यसको अग्रभागमा उभिए। सूचीव्यूहको मुखभागमा महान् धनुर्धर कृतवर्मालाई नियुक्त गरियो। उनको पछाडि काम्बोजनरेश र जलसन्ध तथा उनको पछाडि दुर्योधन र कर्ण उभिए। शकट व्यूहको अग्रभागको रक्षा गर्नको लागि एक लाख योद्धा तैनाथ गरिए। यी सबैको पछाडि सूचीमुख व्यूहको पाश्र्वभागमा सेनाको ठूलो डफ्फाको साथ राजा जयद्रथ उभिएका थिए। द्रोणाचार्यले बनाएको यस शकट व्यूहलाई हेरेर दुर्योधन बडो प्रसन्न भए।
यस प्रकार कौरवसेनाको व्यूहरचना भएपछि भेरी र मृदङ्गको शब्द एवं वीरहरूको कोलाहल हुन थाल्यो। रौद्रमुहूर्तमा रणाङ्गणमा वीरवर अर्जुन देखा परे। यता नकुलका पुत्र शतानीक तथा धृष्टद्युम्नले पाण्डवसेनाको व्यूहरचना गरे। यसैबेला कुपित काल र वज्रधर इन्द्रका समान तेजस्वी, सत्यनिष्ट र आफ्नो प्रतिज्ञालाई पूर्ण गर्ने नारायण अनुयायी नरमूर्ति वीरवर अर्जुनले आफ्नो दिव्य रथमाथि सवार भई गाण्डीव धनुषको टङ्कार गर्दै युद्धभूमिमा पदार्पण गरे। उनले आफ्नो सेनाको अग्रभागमा उभिएर शङ्खनाद गरे। उनको साथै श्रीकृष्णले पनि आफ्नो पाञ्चजन्य शङ्ख बजाए। ती दुवैको शङ्खनादको भीषण ध्वनि सुनेर तपाईंका सैनिकहरूको रौं ठाडठाडा भए, शरीर काम्न थाल्यो र उनीहरू अचेतझैं भए तथा उनीहरूका जुन हात्ती, घोडा आदि वाहनहरू थिए, ती मलमूत्र त्याग्न थाले। यस प्रकार तपाईंको सम्पूर्ण सेना आकुल–व्याकुल हुन पुगे। उनीहरूको यस्तो अवस्था हेरेर उनीहरूको उत्साह वृद्धि गर्नको लागि फेरि शङ्ख, भेरी, मृदङ्ग र दमाहाहरू बजाउन थालिए।
अर्जुनले अत्यन्त हर्षित भएर श्रीकृष्णसित भने– ऋषिकेश, तपाईं घोडाहरूलाई दुर्मर्षणतर्फ हाँक्नुहोस। म उसको हस्तिसेनाको भेदन गरेर शत्रुदलमा प्रवेश गर्नेछु। यो सुनेर श्रीकृष्णले रथलाई दुर्मर्षणतिर हाँके। अनि त दुवैतिरबाट बडो तुमुल संग्राम थालियो। तपाईंतिरका सबै रथी श्रीकृष्ण र अर्जुनमाथि बाण वर्षा गर्न थाले। अनि महाबाहु अर्जुनले पनि क्रोधमा भरिएर आफ्ना बाणहरूबाट उनीहरूको टाउको उडाउन थाले। कुरै कुरामा सम्पूर्ण रणभूमि वीरहरूको टाउकाको बिस्कुन बन्न पुग्यो। यतिमात्र होइन, घोडाका सिर र हात्तीहरूको सूँडहरू पनि सर्वत्र देखिन थाले। तपाईंका सैनिकहरूलाई चारैतिर अर्जुन मात्र देखा परिरहेका थिए। उनीहरू बारम्बार ‘अर्जुन यी हुन्’, ‘अर्जुन कहाँ छन्’, ‘अर्जुन त्यहाँ छन्’ भन्दै कराउन थाल्दथे। यस्तो भ्रममा परेर कैयौंले त आपसमा वा आफैंमाथि पनि प्रहार गर्न थाल्थे। त्यति बेला कालको वशीभूत भएर उनीहरूलाई सम्पूर्ण संसार नै अर्जुनमय देखा परिरहेको थियो। कति त रक्ताम्यै भएर मरणासन्न भइसके, कोही गहिरो वेदनाको कारण बेहोश भइसकेका थिए र कोही कोही त भुइँमा लडेर आफ्ना भाइबन्धुहरूलाई सहायताको लागि डाँक्दै थिए।
यस प्रकार अर्जुनले आफ्नो बाणबाट दुर्मर्षणको गजसेनाको संहार गरिहाले। यसको कारण शेष रहेका तपाईंका सेनाहरू भयभीत भएर भाग्न थाले। अर्जुनको मारको कारणले शत्रुसेना अर्जुनतिर मुख फर्काएर हेर्न पनि सकिरहेको थिएन। यस प्रकार सबै वीर सैनिक मैदान छाडेर भागिहाले। अनि आफ्नो सेनालाई यस प्रकारले निरुत्साहित भई भागिरहेको हेरेर तपाईंको पुत्र दुःशासनले गजसेना लिएर अर्जुनको सामु आई उनलाई चारैतिरबाट घेरामा हाले। यतिबेला एकछिनको लागि दुःशासनले बडो उग्ररूप धारण गरेको थियो। यता पुरुषसिंह अर्जुनले बडो भीषण सिंहनाद गरेर आफ्नो बाणले हस्तिसेनालाई छिन्नभिन्न पार्न थाले। ती हात्ती गाण्डीवबाट हानिएका हजारौं तीक्ष्ण बाणबाट घाइते भई भयङ्कर चित्कार गर्दै भुइँमा पछारिन थाले। हात्तीका काँधमा बसेका पुरुषहरूको मस्तक पनि अर्जुनले बाणहरूले छप्काउन थाले। क्रमशः…

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here