अनन्तकुमार लाल दास

हाम्रो देशको शिक्षाको सबैभन्दा ठूलो कमजोरी के हो भने आजसम्म हामीले शिक्षालाई जीवनसँग जोड्न सकेका छैनौं। विद्यालय र बाह्य जीवनमा आज पनि ठूलो अन्तर रहेको छ। शैक्षिक बहस र शैक्षिक दस्तावेजमा विद्यालय र किताबी शिक्षालाई बाह्य जीवनसँग जोड्ने सवाल पटक–पटक उठाइ तापनि व्यवहारमा हालसम्म लागू भएको पाइँदैन। हामी आजसम्म पनि न विद्यालयबाट बाहिर निस्कन सकेका छौं, न पाठ्यपुस्तकको कैदबाट। भनिन्छ सिकाइ जीवनभरि चलिरहने प्रक्रिया हो, जुन विद्यालय बाहिर पनि चलिरहन्छ। तर व्यवहारमा औपचारिक शिक्षण संस्थानमा बाहिरबाट प्राप्त ज्ञानलाई त्यत्ति महत्व दिइँदैन। केटाकेटीहरूको सन्दर्भमा कुरा गर्दा ज्ञानलाई पाठ्यपुस्तक र सिकाइलाई विद्यालयसम्म सीमित गरिएको पाइन्छ। परीक्षामा राम्रो ग्रेड हासिल गर्नु नै पढाइ–लेखाइको सार्थकता मानिन्छ र जुन सूचना वा तथ्यले परीक्षामा राम्रो ग्रेड हासिल गर्न सघाउँछ त्यसलाई नै हाम्रो समाजमा ज्ञानको दर्जा प्राप्त हुन्छ।
यदि यो गलत हो भने लकडाउनको बेला अनलाइन शिक्षाको निहुँमा औपचारिक शिक्षा पस्किने होड हुँदैनथ्यो। यदि यो सत्य होइन भने कोरोनाकालको अभूतपूर्व बेलामा समेत केटाकेटीहरूलाई निर्धारित पाठ्यक्रम कसैले पढाउने थिएन। कोरोनाकालमा पनि हामीले के हे–यौं भने अनलाइन शिक्षाको बोझ केटाकेटीहरूलाई बोक्न लगाई घरलाई नै विद्यालय बनाइएको थियो भने ज्ञानको नाउँमा पाठ्यपुस्तकमा भएको सूचना र तथ्य घोक्नु नै पढाइ। हुनु त के पथ्र्यो भने कोरानाकाललाई एउटा अवसरको रूपमा लिई महामारीको निहुँमा विश्वको राजनीति, अर्थव्यवस्था, इतिहास, भूगोल, विज्ञान, समाज, संस्कृति आदि विषय सम्बन्धमा केटाकेटीहरूको ज्ञान विकसित गराइन्थ्यो। तर विडम्बना के हो भने हाम्रो पाठ्यक्रममा अलिकति पनि परिवर्तन भएन। हामीले महामारीपूर्व जसरी र जे पढाउँन्थ्यौं त्यही कुराहरू त्यसैगरी अनलाइनमा पनि घोकाउने प्रयास गरिरह्यौं।
लकडाउनको प्रारम्भिककालदेखि नै केटाकेटीहरू घरमा कैद भएको बेला आआफ्नो अभिभावकसँग मिलेर केही न केही रचनात्मक गतिविधिमा संलग्न भइसकेका थिए। केटाकेटीहरू आफ्नो रुचिको कार्यमा व्यस्त थिए। कोही आफूले मनपराएको किताब पढिरहेका थिए भने कोही मन परेको फिल्म हेर्न व्यस्त थिए। कोही चित्र कोरिरहेका थिए भने कोही क्राफ्ट बनाउने काममा संलग्न थिए। केटाकेटीहरू आमालाई भान्साकोठामा सघाइरहेका थिए भने बुवालाई सानो बगैंचा वा सरसफाइमा। यसैगरी केटाकेटीहरू अन्य रचनात्मक कार्यमा जुटेका थिए तर अनलाइन शिक्षाको सूचना जारी हुनासाथ केटाकेटीहरूको खुशी र सिकाइ बन्द हुन थाल्यो। अनलाइन शिक्षाले यी सबै कुरामा ब्रेक लाग्यो। केटाकेटीहरूको रचनात्मकता फुर्र भयो। केटाकेटीहरू पाठ्यपुस्तकको अभ्यास गर्न र नोट्स बनाउन थाले। ससाना कक्षाका केटाकेटी पनि अनलाइन कक्षामा व्यस्त भए। जुन विद्यार्थीलाई पहिले आमाबुवाले मोबाइल दिंदैनथे उनीहरू पनि हातमा मोबाइल समातेर र टाउको तल गरेर एकटक हेरिरहेको पाइयो। लकडाउनमा प्राप्त छुट्टीको आनन्द अनलाइनले गर्दा समाप्त भयो। टिभी, लैपटप र मोबाइलबाट केटाकेटीहरूमा पर्ने दुष्प्रभावको कुरा कहाँ लुप्त भयो थाहा नै भएन। यस्तै एउटा अनुभव कुनै विद्यालयको ह्वाट्सएपमा संलग्न केटाकेटीहरूसँग भयो। भयो के भने अनलाइन कक्षा प्रारम्भ नभएसम्म केटाकेटीहरू त्यस समूहमा भइरहेको हरेक गतिविधिमा सक्रियतापूर्वक भाग लिइरहेका थिए तर जसै अनलाइन कक्षा प्रारम्भ भयो यस प्रकारको सक्रियातामा कमी आउन थाल्यो। कारण खोजी गर्दा केटाकेटीहरू अनलाइन कक्षामा व्यस्त भएका कारण त्यसबाट बाहिर निस्कने अवसर नै हासिल हुँदैन बताए।जो केटाकेटी लकडाउनको बेला आफ्नो रुचि अनुसार सिकाइ गरिरहेका थिए, उनीहरूलाई अनलाइनको माध्यमले पाठ्यपुस्तकको बोझा बोक्न लगाइयो। व्हाट्सएपको माध्यमले पुस्तकको पाठ र अभ्यास पठाउन थालियो। जवाफको स्क्रीनशट, अडियो–भिडियो पठाउन थालियो। यी कुराहरूलाई केटाकेटीहरूले आआफ्नो उत्तरपुस्तिकामा सार्ने काम गर्थे। ती कुराहरू घोक्न लगाइन्थ्यो। विषयगत शिक्षकहरूद्वारा उनीहरूलाई गृहकार्य दिन थालियो। विद्यालय खुलेको बेला पनि केटाकेटीहरूलाई यसैगरी काम गर्नुपर्दथ्यो। खेल्ने–उफ्रने विषयमा त कुरै नगरौं, उनीहरूलाई कम्मर सोझो गर्ने मौका पनि हुँदैनथ्यो। एउटा विषयको काम पूरा हुँदा नहुँदै अर्को विषयको काम गर्नमा लाग्नुपर्दथ्यो।
यसको पछाडि एउटै तर्क के दिइन्थ्यो भने विद्यालय बन्द भएको कारण विद्यार्थीहरूको पढाइ चौपट भएको छ र अनलाइनमा पढाइ हुँदैन भने उनीहरूको एक वर्ष खेर जान्छ। केटाकेटीहरू धेरै पछाडि पर्छन्। यस कारण केटाकेटीलाई पाठ्यपुस्तक र विद्यालयसँग जोड्नु आवश्यक छ। केही विद्यालयहरूले, खासगरी कुनै निजी विद्यालयले केटाकेटीहरूलाई विद्यालयको पोशाकमैं अनलाइन कक्षा यस कारणले लिन लगाए कि उनीहरू विद्यालयमैं भएको अनुभव गरून्। बीचबीचमा अनलाइन परीक्षा पनि लिने गरियो। पाठ्य पुस्तकमाथिको यो निर्भरता हाम्रो लागि नयाँ कुरो होइन। यो हाम्रो शिक्षाको धेरै पुरानो बीमारी हो। यस कारण हामीले आजसम्म न पढाइलाई आनन्ददायक बनाउन सक्यौं, न सिर्जनात्मक नै। यसरी सिक्ने–सिकाउने प्रक्रियामा पाठ्यपु्स्तकलाई मात्र साधन बनाइयो। शिक्षक र विद्यार्थी दुवै यसबाट बाहिर निस्कन सकेनन्। लकडाउनको बेला पनि यही प्रवृत्ति कायम रह्यो।
पाठ्यपुस्तक र विद्यालय बाहिर हाम्रा केटाकेटीहरू केही सिक्न सक्दैनन् भन्ने यो हाम्रो रूढिवादी सोचको परिचायक होइन र ? वास्तविकता त के हो भने केटाकेटीहरू लकडाउनको बेला विद्यालयबाट टाढा थिए तर सिकाइबाट टाढा थिएनन्। लकडाउनको बेला पनि केटाकेटीहरू धेरै काम गरिरहेका थिए र सँगसँगै सिकाइ पनि गरिरहेका थिए। उनीहरू आफ्नो ज्ञानको सृजन स्वयं गरिरहेका थिए। नयाँ–नयाँ कुरो बनाइरहेका थिए किनभने स्वभाव अनुसार उनीहरू खाली बस्नै सक्दैनन्। यस बेला उनीहरू धेरै काम गरिरहे र सहजरूपमा सिक्दै पनि रहे। उनीहरूको सिकाइ झन् सिर्जनात्मक र विविधताले भरिएको थियो। छुट्टी र आफूले रुचाएको काम गर्ने प्रशस्त अवसरले पनि उनीहरूलाई सिक्ने धेरै अवसर उपलब्ध गराएको थियो। तर समस्या के हो भने हामी यसलाई ज्ञान मान्न तयार नै छैनौं। हामीले के बिर्सिन हुन्न भने जीवनको लागि चाहिने शिक्षा वा जीवनमा काम लाग्ने शिक्षा औपचारिक संस्थाबाट बाहिर नै हासिल हुन्छ। ध्यान दिने कुरो के हो भने कुन विद्यालयले माइकल फैराडे र एडिसनलाई आविष्कार गर्न सिकायो वा रवीन्द्रनाथ टैगोर जस्ता साहित्यकारलाई साहित्य सिर्जना गर्न ? यी केही यस्ता उदाहरण हुन् जसले के प्रमाणित गर्छ भने विद्यालय र पाठ्यपुस्तक बाहिर पनि सिक्ने थुप्रै अवसर प्राप्त हुन्छ तर औपचारिक शिक्षाले यस्ता अवसरलाई धेरैजसो मास्ने काम नै गर्छ।
आज यस्ता केही प्रश्नमाथि पटक–पटक विचार गर्नुपर्ने आवश्यकता छ। के लकडाउनको बेला कोरोनाजस्तो महामारीलाई नै पाठ्यपुस्तकको विषय बनाएर अध्ययन–अध्यापन गर्न सकिंदैनथ्यो ? के यसैलाई सिक्ने–सिकाउने माध्यम बनाएर भावी पुस्तालाई भावी जीवनको लागि जागरूक र तयार गर्न सकिंदैनथ्यो ? यसलाई तत्कालीन समय र समाजलाई बुझ्न र त्यसबाट जीवनमूल्य ग्रहण गर्ने उचित अवसर बनाउन सकिंदैनथ्यो ?
किन सिक्न–सिकाउनको लागि शिक्षालाई औपचारिक संस्था र निर्धारित पाठ्यपुस्तकमा सीमित गरिएको छ ? यस वैश्विक महामारीको बेला पनि हामी यसबाट बाहिर निस्कन सकेनौं, यसको के कारण हुन सक्छ ? किन व्यवस्थाले केटाकेटीहरूलाई आफ्नो तरीकाले सोच्ने, बुझ्ने स्वतन्त्रता र अवसर दिन चाहँदैन ? के एउटा निर्धारित पाठ्यक्रम नै उसको साध्य हो ? हामी किन केटाकेटीहरूलाई उनीहरूको रुचि अनुसारको विषयवस्तु पढ्न र गर्न दिंदैनौं ? सिकाइ पाठ्यपुस्तकबाट मात्र हुन्छ भन्ने कुरामा हाम्रो यत्रो विश्वास किन ? किन ससाना केटाकेटीहरूलाई पनि अनलाइन शिक्षासँग जोड्नु र पाठ्यपुस्तक घोकाउने आवश्यकता प–यो ? के हुन्थ्यो यदि उनीहरूलाई खेल्न–उफ्रिन दिइन्थ्यो ? जुन मोबाइलबाट हामी केटाकेटीहरूलाई टाढा राखेका थियौं, उनीहरूको हातमा मोबाइल दिन हतार किन ? केटाकेटीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा यसको नकारात्मक असबारे किन कसैले आवाज उठाएन ? सरकारले पनि जुन कुरामा पहिले प्रतिबन्ध लगाएको थियो कसको दबाबमा पछि हट्यो ? देशमा मोबाइल र इन्टरनेटको पहुँच बाहिर कति जनसङ्ख्या छ, कसैले गम्भीरतापूर्वक विचार गरेको छ ? किन अचानक अनलाइन शिक्षणको निर्देशन दिइयो ? के यस्ता निर्देशनले वर्गीय विभाजन झन् प्रस्टिंदैन ? यी केही प्रश्नहरू हुन् जसको जवाफ सबैले गम्भीरतापूर्वक
खोज्नुपर्छ किनभने हतारमा लिइएको निर्णय र दिइएको निर्देशनको प्रभाव दूरगामी हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here